रुपन्देही – बुटवल उपमहानगरपालिकाले नगर भित्रका ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य चेकजाँच र पौष्टिक आहारसहित भत्ता घरमै पुगेर उपलव्ध गराउन सुरु गरेको छ।
अशक्त तथा बिरामी परेका ज्येष्ठ नागरिकलाई बुटवल उपमहानगरले अहिले घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा साथै पौष्टिक आहार समेत बितरण गरिएको नगर प्रमुख शिवराज सुवेदीले बताए । उपमहानगर अन्तर्गतका नगर स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मीहरुलाई औषधिसहित यो अभियानमा खटाइएको उनले बताए।
बुटवल उपमहानगरपालिका–११, भूवनसिंह मार्गमा ९२ वर्षीया तारालक्ष्मी सैंजु, छिमेकमा अर्की ९० वर्षीया पूर्णकला भुषाल र ८८ वर्षीया मनरुपा नेपालीका घरमै पुगेर स्वास्थ्य चेकजाँच गरेर कार्यक्रम सुरुवात गरेको हो।
उपमहानगर अन्तर्गतका पाँचवटै नगर स्वास्थ्य केन्द्रबाट सबै वडामा यस्तो अभियान सुरु गरिएको नगरप्रमुख सुवेदीले जानकारी दिए । उनले यस्तो अभियान हरेक चार÷चार महिनामा गरिने र त्यस्ता लक्षित समूहलाई निशुल्क औषधिसमेत उपलव्ध गराइने बताए।
उपमहानगरपालिकामा ज्येष्ठ नागरिक परिचयपत्र यसपटक वडादेखि नै वितरण सुरु भएको छ । ‘सामाजिक सुरक्षा भत्ताका लिन आउने र यहीँ परिचयपत्रका आधारमा कुन वडामा कति जना यो उमेर समूहका छन्, त्यो पहिचान गरिन्छ । त्यहीँ आधारमा खोजतलाश गरेपछि घरमै स्वास्थ्य सेवा लिएर जाने अभियान सुरु गरिएको हो,’ नगर स्वास्थ्य केन्द्रका प्रमुख डा.रमेश केसीले भने।
योसँगै ९५ वर्ष उमेर पुगेका नागरिकहरुलाई घरमै पुगेर एक हजार रुपैयाँ भत्ता र पौष्टिक आहारसमेत उपलव्ध गराइएको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् । एक सय १६ जना ज्येष्ठ नागरिकहरुलाई जनही एक हजार र पौष्टिक आहार उपलव्ध गराइसकिएको उपमहानगरपालिकाले जनाएको छ ।