काठमाडौं– निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट (अफिन)ले १० दिनभित्र उपचार सेवा शुल्क सार्वजनिक गर्ने निर्णय गरेको छ। अफिन कार्यसमितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
निर्णयमा आगामी १० दिनभित्र अफिनका सबै सदस्यले आ–आफ्नो वेबसाइट मार्फत शुल्क सार्वजनिक गर्नुपर्ने भनिएको छ।
स्वास्थ्य मन्त्रालयलाई शुल्कको आधार र मापदण्ड सम्बन्धी सुझाव पेश गर्न वरिष्ठ उपाध्यक्ष कुमार थापाको संयोजकत्वमा एक समिति गठन गरिएको छ। निजी स्वास्थ्य संस्था सम्बन्धी कानुन निर्माण र मापदण्ड निर्देशिका संशोधनका लागि निवर्तमान महासचिव तथा अधिवक्ता गोपीकृष्ण न्यौपानेको संयोजत्वमा समिति गठन भएको छ।
स्वास्थ्य मन्त्रालयले सरकारी निजी, सहकारी र गैरसरकारी सबै स्वास्थ्य संस्थालाई बिरामीसँग लिइने सेवा शुल्क आफ्नो वेबसाइट र नागरिक बडापत्र बनाएर सबैले देख्ने ठाउँमा राख्न निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठ संयोजकत्वको शुल्क निर्धारण कार्यदलले केही दिनअघि उक्त निर्णय गरेको थियो।
यसैगरी मन्त्रालयले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाको गुणस्तरका आधारमा मूल्य वा शुल्क तोक्ने भएको छ। शुल्क निर्धारण गर्नुअघि तुलनात्मक अध्ययन र छलफलका लागि सबै स्वास्थ्य संस्थाका छाता संगठनलाई शुल्क सूची बुझाउन निर्देशन दिइएको छ। आगामी २७ गतेभित्र सबैले सूची बुझाइसक्नुपर्नेछ।
अफिनसँगै प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज एसोसिएसन नेपाल, नेपाल राष्ट्रिय सहकारी स्वास्थ्य संघ र गैरसरकारी अस्पताल संघ नेपाललाई पत्र पठाइएको छ।
यो पनि पढ्नुहोस्-
उपचार शुल्कमाथि सवाल : अनुमानभन्दा बाहिर उपचार खर्च
नेपालमा स्वास्थ्य सेवाको शुल्क निर्धारण कसरी ?
विकसित देशमा कसरी भयो उपचार शुल्क निर्धारण? यस्ता छन् संसारभर प्रचलित ४ मोडल