जुम्ला- कर्णाली राजमार्गसँगै जोडिएका जुम्लाका स्वास्थ्य चौकीहरु नियमित रुपमा नखुल्दा बिरामीहरु समस्यामा पर्ने गरेका छन्।
कर्णाली करिडोरमा रहेका तिला गाउँपालिकामा रहेका रारालिही र कुडारी, तातोपानी गाउँपालिकामा रहेका तातोपानी, लाम्रा र हाँकुको स्वास्थ्य चौकी नियमित रुपमा नखुल्ने गरेको स्थानीय बताउँछन्। दरबन्दी अनुसारका कर्मचारी नहुने र भए पनि स्वास्थ्य चौकीमा नबस्ने गरेको गुनासो स्थानीय बासिन्दाको छ।
एक स्थानीयवासी भीम उपाध्यायले कर्मचारीले मनोमानी रुपमा स्वास्थ्य संस्था चलाउने भएकाले बिरामीले सास्ती खेप्नुपरेको गुनासो पोखे।
उनले भने, 'स्वास्थ्य संस्था खुल्ने र बन्द हुने यहाँ कर्मचारीको मर्जीमा भर पर्छ। कर्मचारीलाई मन नलागेमा दिउँसो एक बजे नै बन्द भइसक्छ।'
स्वास्थ्य मन्त्रालयले साँझ ५ बजेसम्म स्वास्थ्य संस्था अनिवार्य खोल्नुपर्ने नियम लागू गरे पनि जुम्लामा त्यसलाई कमैले पालना गरेको देखिन्छ। स्वास्थ्य चौकी नियमित र पूरा समय नखुल्दा पछिल्लो समय कोही बिरामी भएमा सोझै खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल या नजिकैको मेडिकलमा जाने गर्छन्।
स्वास्थ्य चौकी नखुल्ने अवस्था रहिरहँदा तातोपानी गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गुरुप्रसाद चौलागाई भने आफूहरुले नियमित रुपमा निगरानी गर्दै आएको दाबी गर्छन्।
उनले भने, 'हामी अनुगमनमा जाँदा कर्मचारीहरुले काम गरेको पाउने गरेका छौं।'
जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले पनि स्वास्थ्य संस्थाहरुको पटकपटक अनुगमन गर्ने गरेको उनले बताए।
जिल्ला स्वास्थ्य प्रमुख अंगदबहादुर शाही कर्मचारीलाई नियमित रुपमा स्वास्थ्य संस्थामा बस्न र औषधिको अभाव हुन नदिन निर्देशन दिइएको बताउँछन्। शाहीले औषधि अभाव भएको र कर्मचारी स्वास्थ्य संस्थामा बस्ने नगरेको गुनासो बारम्बार आउने गरेको भन्दै स्थानीय तहले कर्मचारी परिचालनमा कडाइ गर्नुपर्नेमा जोड दिए।
जुम्लामा सामुदायिक स्वास्थ्य इकाई, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी गरेर ४१ वटा स्वास्थ्य संस्था छन्।