कैलाली– डोटी जिल्ला अस्पतालको सेवा १९ दिनपछि सुचारु भएको छ। डाक्टर जितेन्द्र सिंहमाथि बिरामी पक्षले हातपात गरेपछि सेवा छोडेर काठमाडौं गएका ४ मध्ये एक डाक्टर शुक्रबार जिल्ला अस्पतालमा उपस्थित भएपछि सेवा सुचारु भएको हो। प्रदेश ७ का सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा गिरिस अवस्थीलाई अस्पतालमा उपस्थित गराएर सेवा सुचारु भएको जानकारी दिए।
मन्त्री सोडारीले चिकित्सकहरुको सुरक्षाका लागि प्रदेशस्तरबाट कडा कानुन ल्याइने बताए। अस्पतालमा सेवा सुचारु गर्ने क्रममा भएको छलफल कार्यक्रममा मन्त्री सोडारीले चिकित्सकहरुको संगठनसँग भएको सम्झौताका क्रममा कानुन फितलो भएको गुनासो आएको हुँदा प्रदेश स्तरबाट नै डाक्टरहरुको सुरक्षाका लागि कडा कानुन आवश्यक भएको कुरा औंल्याए।
मन्त्री सोडारीले भने, 'दुर्गममा त्यसै पनि डाक्टर जान मान्दैनन् त्यसमा पनि असुरक्षा महसुस भयो भने कसरी स्वास्थ्य क्षेत्रमा काम गर्न सकिन्छ? डाक्टरहरुको एसोसिएसनसँग सम्झौता पनि भएको छ। डाक्टरको सुरक्षाका लागि कडा कानुन आवश्यक छ।'
जिल्ला अस्पताल डोटीमा आयोजित छलफल कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख शतिस बिष्टले सुरक्षाको कारण देखाउँदै जिल्ला छोडेका अन्य डाक्टरलाई पनि जिल्ला ल्याउने प्रयास गरिरहेको बताए।
बिष्टले भने, 'चिकित्सकीय सेवा बाहेकका अन्य सेवा चालु नै थिए। शुक्रबारदेखि चिकित्सकीय सेवा पनि सुरु भएको छ।'
डोटीको केदार अखडा स्वास्थ्य केन्द्रमा कार्यरत डा जितेन्द्र सिंहमाथि फागुन ६ मा जिल्ला अस्पताल डोटीको कार्यकक्षमा बिरामी र आफन्तले कुटपिट गरेका थिए। सो घटनापछि सुरक्षा नभएको भन्दै नेपाल चिकित्सक संघले डाक्टरलाई जिल्ला छाड्न आग्रह गरेको थियो। डाक्टरहरु काठमाडौं गएपछि अस्पतालमा चिकित्सकीय सेवा बन्द भएको थियो।
जिल्ला अस्पताल डोटी बन्द हुँदा सामान्य उपचारका लागि सर्वसाधारण महँगो मूल्य तिरेर निजी स्वास्थ्य संस्था जान वाध्य थिए। स्थानीय तहमा समेत सुरक्षाका लागि भरपर्दो व्यवस्था गरिएको दिपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासीले बताइन्।