विराटनगर- वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायु प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको प्रमुख कारकका रुपमा देखिएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरे।
प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले विश्वव्यापी समस्याका रुपमा देखिएको वायु प्रदूषण समस्यालाई क्षेत्रीय, जातीय, धार्मिक र राजनीतिक बहसभन्दा ज्यादा महत्व दिएर छलफल गरी समाधान गर्नुपर्ने बताए।
नाष्टका उपकुलपति प्राडा जीवराज पोखरेलले वायु प्रदूषण नियन्त्रण गर्न प्रत्येक प्रदेशमा क्षेत्रीय मापन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दास र विराटनगर महानगर प्रमुख भीम पराजुलीले मानव स्वयंको असावधानीले जोखिम निम्त्याइरहेको धारणा व्यक्त गरे।
कार्यपत्र प्रस्तुत गर्दै नाष्टका प्राज्ञ मदनलाल श्रेष्ठले वायु प्रदूषणका कारण विश्वव्यापी रुपमा फोक्सोको अर्बुद ३६, हृदयाघात ३४ र मुटुको बिरामी २७ प्रतिशत हुने गरेको बताए। २ दशमलव ५ माइक्रोनका धुलोका कण मानव स्वास्थ्यका लागि सबभन्दा हानिकारक रहेको उनको भनाइ थियो।रासस