काठमाडौं– अभिनेत्री मनिषा कोइरालाले क्यान्सरले नभइ यससम्बन्धि ज्ञानको अभावले ज्यान लिने बताएकी छिन् । राजधानीमा भइरहेको क्यान्सर सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन ‘नेकोन–२०१८’ बोल्दै उनले यस्तो बताएकी हुन् ।
पाठेघर र स्तन क्यान्सर हुने संभावनाका बारेमा जाँचबाट पहिल्यै थाहा पाउन सकिने भन्दै यससम्बन्धि ज्ञानको अभावमा धेरैले ज्यान गुमाइरहेको उनले बताइन् । उनले भनिन्, ‘सुरुवाती अवस्थामै वा हुनुपूर्व नै पत्ता लाग्दा यो पूर्णतयार निको हुन्छ । तर, अझै यससम्बन्धि ज्ञानको अभावका कारण धेरैले ज्यान गुमाइरहेका छन् ।’
भारतकी ब्रेस्ट क्यान्सर सर्जन कञ्चन कौरले क्यान्सर स्क्रिनिङ कार्यक्रमलाई समुदाय स्तरसम्म पु¥याउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘डाक्टरको काम उपचार गर्ने मात्रै होइन, समुदायमा पुगेर जनचेतना प्रदान गर्नु पनि हो ।’
वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईंले अन्य क्यान्सर भन्दा रोकथाम गर्न सजिलो स्तन क्यान्सरबाटै धेरैको मृत्यु हुनु दुःखदायी रहेको बताइन् । समयमै जाँच र उपचार गराउन सके निको हुने भएकाले सचेत रहन आग्रह गरिन् ।
कार्यक्रम आयोजकका तर्फबाट सचिव रहेकी डा लक्ष्मी पुन मगरले मान्छेमा क्यान्सरबाट मृत्यु हुने भ्रम बढी र उपचारबाट निको हुने चेतना कम रहेको बताइन् ।
हिमानी ट्रष्टका तर्फबाट बोल्दै पूर्व युवराज्ञी शिताष्मा शाहले नेपाली महिलाहरुले आफ्नो स्वास्थ्यमा कम ध्यान दिने गरेको बताइन् । ट्रस्टकी अध्यक्ष हिमानी शाहका तर्फबाट मन्तब्य राख्दै उनले भनिन्, ‘महिलाहरुको स्वास्थ्य प्राथमिकतामा परिरहेको छैन । 18 स्वस्थ छैन । त्यसैले यतातिर ध्यान दिन आवश्यक छ ।’
कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा मदन पिया, क्यान्सर केयर नेपालका प्रभुराज बैद्य लगायतले आफ्ना भनाइ राखेका थिए ।
तीन दिनसम्म चल्ने सम्मेलनको ‘अपडेट इन ब्रेस्ट क्यान्सर’ मुख्य विषय छ । क्यान्सर केयर नेपाल र नेशनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरले कार्यक्रमको आयोजना गरेका हुन् ।