धनगढी– कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५, देउकलिया गाउँ। बिहीबारको दिन। बिहानको ७ बज्दै थियो। किसान जोखन चौधरीकी १८ वर्षीया छोरी राधा घर नजिकै गोठमा गोबर सोहोरेर घर फर्किँदै थिइन्। एक्कासि ६/७ जनाको समूह उनको घरमा आइपुग्यो। उनीहरु एकाएक चर्को स्वरमा कराउन थाले– यही हो बोक्सी, समात्... समात्।
उनीहरूले राधालाई बलजफ्ती लछारपछार गर्दै ‘भोलेबाबा’को आश्रमतिर पुर्याए।
भोलेबाबा (रामबहादुर चौधरी) को घरमा ठूलो संख्यामा छरछिमेकी, गाउँले रमितेका रूपमा चारैतिर घेरा बनाएर अघिदेखि नै बसेका थिए। करिब २० मिनेटको पैदल दुरीमा रहेको भोलेबाबाको घरमा घिसार्दै राधालाई पुर्याइयो। अनि सुरु भयो– एक्काइसौं शताब्दीमा मध्यकालको क्रूर, बर्बर र पाशविक कुकर्म।
चारैतिर रमिते गाउँले, आफन्त तथा छरछिमेक। बीचको आँगनमा रोइकराइ गरिरहेकी राधा र, उनीमाथि पाशविक ढंगले कुटपिट गरिरहेकी ‘पार्वतती माता’। भोलेबाबाकी सहयोगी ‘पार्वती माता’ ले राधामाथि निरन्तर कुटपिट गरिरहिन्। रमितेहरू रमिता हेरिरहे।
झन्डै आधा घन्टा ‘पार्वती माता’को उन्मादपूर्ण कुटपिटपछि राधा थिलथिलो भइसकेकी थिइन्। तर, न उनीहरुले राधाको चित्कार सुने न अनुनय विनय। यातना रोकिएन। ‘पार्वती माता’ एकाएक भुइँमा उत्तानो पारेर बर्बराउन थालिन्। अब त्यहाँ काँप्दै, नाँच्दै ‘भोलबाबा’ को प्रवेश भयो। अनि भोलेबाबाले सुरु गरे आफ्नो 'क्रूर कारबाही'। कुनै निर्जीव वस्तुलाई हिर्काएझैं उनले न्वारानदेखिको बल लगाउँदै राधामाथि लात्तीघुस्सा प्रहार गरिरहे। राधाले रोइकराइ गरिरहिन्। हारगुहार मागिरहिन्।
आफूले कुनै गल्ती नगरेको भन्दै नकुट्न बिन्तीभाउ गरिरहिन् तर भोलेबाबाको क्रूरतामा रत्तिभर कमी आएन। निरन्तरको यातनाबाट राधा बेहोस भइन्। तर, भोलेबाबाहरूले ‘बोक्सी’ भगाउन ६ घन्टासम्म पाशविक यातना दिइरहे।
बिहीबार संसारभरिका महिलाले १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए। महिलामाथि हुने विभेद र हिंसा रोक्नुपर्ने गगनभेदी नारा घन्किरहेका थिए। महिला अधिकारबारे ठूल्ठूला गोष्ठी, छलफल, र्यालीसहितका कार्यक्रम आयोजना भइरहेका थिए। यता देउकलियामा भने राधा ‘बोक्सी’को आरोपमा बर्बर यातना सहन बाध्य भइरहिन्।
गाउँले सबै मूकदर्शक
कक्षा ११ की विद्यार्थी राधामाथि २६ वर्षीय भोलेबाबा र उनकी सहयोगी पार्वतीमाता चौधरीबाट सभ्य समाजलाई नै लाज लाग्ने गरी पाशविकता प्रदर्शन भइरह्यो तर कोही कसैले पनि त्यसको प्रतिकार गर्ने चासोसम्म देखाएनन्।
‘मलाई किन सबैले चिच्याएर बोक्सी भन्दै लछापछार गरेर लिँदैछन् भन्ने मैले ठम्याउनै सकिन,’ शुक्रबार सेती अञ्चल अस्पतालको बेडबाट मलिन स्वरमा राधाले भनिन्, ‘मलाई केही बोल्ने मौका पनि दिएनन्। भोलेबाबाकहाँ पुग्दा आश्रमको बाहिर ठूलो संख्यामा मान्छे भेला भएका थिए। उनीहरूको बीचमा भोलेबाबा र पार्वती माताले बोक्सीको आरोप लगाउँदै निर्घात कुट्न थाले। तर, त्यहाँ भएका सबै रमिते मात्रै बने, कसैले पनि विरोध गरेनन्।’
अस्पतालमा उपचार गराइरहेकी राधालाई आफूमाथि किन यत्रो यातना दिइयो भन्ने अहिलेसम्म भेउ पाउन सकेकी छैनन्। 'मेरो केही गल्ती छैन? के गल्ती गरेँ र? नमार्नुस् भनेर दस औंला जोडेर बिन्ती गरेँ,’ उनले गहभरी आँसु पार्दै भनिन्, ‘तर न भोलेबाबा न पार्वती माता अथवा अरूले कसैले पनि मेरो पुकार सुनेनन्।’
भोलेबाबा र पार्वती माताको निर्घात कुटाईबाट बेहोस भएकी राधालाई केही व्यक्तिले एक बजेपछि उद्धार गरेर एम्बुलेन्सबाट घोडाघोडीस्थित सुखड इलाका प्रहरी कार्यालयमा पुर्याए। उद्धारमा संलग्न व्यक्तिहरूले प्रहरीलाई भोलेबाबाको कर्तुतबारे बताउँदै कारबाहीको माग गरे।
उनीहरूले भने, ‘तर, प्रहरीसामु भोलेबाबाले उल्टै आफूलाई ‘भगवान्’ भन्दै पुन: राधामाथि जाइलागे। प्रहरी पनि मूकदर्शक बनिरहे। उल्टै कति प्रहरीले रामबहादुरलाई ‘भोलेबाबा’ भन्दै खुट्टामा ढोग्न पुगे ।’
राधाकी आमा फूलकेसरीले बिहीबार नै भोलेबाबाविरुद्ध सुखड प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न खोज्दा इन्कार गरेको बताइन्। उनले भनिन्, ‘प्रहरी, गाउँले कसैले पनि सहयोग गरेनन्।’ भोलेबाबा भने अहिले पनि आफूलाई ‘भगवान्’को अवतार भएको धाक लगाइरहेका छन्।
राधाको अवस्था गम्भीर
बोक्सी आरोपमा कुटपिट गरिएकी राधाको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि शुक्रबार थप उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा ल्याइएको छ। राधाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भए पनि उनलाई मानसिक समस्या भएको राधाको उपचारमा संलग्न चिकित्सकले बताए।
स्थानीय राष्ट्रिय उच्च माविमा कक्षा ११ मा अध्ययरत राधाका बुबाआमासहित दुई दाजुभाइ तथा एक बहिनी छन्।
अर्धबेहोस अवस्थामा घोडाघोडी अस्पतालमा उपचार गराइरहेकी राधालाई शुक्रबार राष्ट्रिय मानवअधिकार आयोग धनगढीका निमित्त निर्देशक दीपकजंगध्वज कार्कीसहितको अधिकारकर्मीको टोलीले उद्धार गरेर धनगढी ल्याएको हो।
बोक्सी आरोप लगाई कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई शुक्रबार प्रहरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको र घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रवक्ता डिएसपी सागर बोहराले बताए।
रामबहादुरविरुद्ध सुखड इलाका प्रहरी कार्यालयमा राधाका बुबा जोखन चौधरीले मुद्दा दर्ता गराएका छन्। घटनाको अनुसन्धान गरी घटनामा संलग्न कसैलाई नछोड्ने डिएसपी बोहराले बताए।