सुर्खेत– भेरीगंगा नगरपालिका २ मैनतडाकी कुमारी रसाइली आँखाको समस्याले पीडित थिइन्। एक दिन गाउँकै एक जना शिक्षकले उनलाई सूचना दिए, ‘मेहेल्कुनामा निःशुल्क आँखा शिविर हुँदैछ ।’ कमजोर आर्थिक अवस्थाका कारण उपचार नगरी बसेकी उनी गाउँमै आँखाको उपचार हुने भएपछि खुसी हुँदै शिविरमा पुगिन्।
शिविरमा उनको आँखाको शल्यक्रिया त भयो, तर रोग भने निको भएन। बरु एउटा आँखाको ज्योति नै सदाको लागि गुम्यो। डाक्टरको लापरवाहीले आँखा गुमाएकी रसाइलीलाई स्थानीय प्रशासनले क्षतिपूर्ति स्वरुप एक लाख २० हजार रुपैयाँ दिने निर्णय भएको छ। तर, यसले उनी सन्तुष्ट हुन सकेकी छैनन्।
सामुदायिक आँखा उपचार केन्द्र, मेहेल्कुनाको व्यवस्थापनमा फत्तेबाल अस्पतालले २०७२ पुसमा शिविर गरेको थियो। सोही शिविरमा कुमारीले आँखाको शल्यक्रिया गराएकी थिइन्। तर, शल्यक्रिया लगत्तै कुमारीको आँखाबाट लगातार रगत बग्न थाल्यो। रगत बग्ने क्रम नरोकिएपछि उपचारका लागि उनी नेपालगन्ज पनि पुगिन्। शिविर सञ्चालन गर्ने फत्तेबाल अस्पतालकै सल्लाहमा उनको थप उपचारका लागि दिल्ली पनि पुगिन्। तर निको भएन।
‘एकातिर आँखा गुम्यो, झन् खर्च पनि बढ्यो’, रसाइली भन्छिन्, ‘क्षतिपूर्तिको नाममा एक लाख दिने निर्णय मलाई मान्य छैन।’
उनले थपिन् ‘अब आँखा नफर्के पनि खर्च भएको पैसा असुल भैदिए हुन्थ्यो भन्ने आसले कानुनी उपचारको बाटो खोजेका थियौं, तर प्रशासनले पनि न्याय दिलाएन।’
मोतीबिन्दु शिविरमा डाक्टरको लापरवाहीका कारण आँखाको ज्योति गुमाएकी रसाइलीलाई प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीको संयोजकत्वमा गठित क्षतिपूर्ति समितिले १ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेको हो। रसाइलीले दुई वर्षअघि जिल्ला प्रशासन कार्यालयमा आठ लाख रुपैयाँ माग दाबीसहित उजुरी दिएकी थिइन्। उजुरी दिएको २ वर्ष पछि १ लाख २० हजार क्षतिपूर्ति दिने निर्णय भएको छ, तर पीडित रसाइलीले भने क्षतिपूर्ति कम भएको बताएकी छिन्।
उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा २३ बमोजिम क्षतिपूर्ति समितिले शल्यक्रियापछि पीडितलाई शारीरिकका साथै आर्थिक क्षति पनि भएकाले फत्तेबाल आँखा अस्पताल बाँकेबाट एक लाख २० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय गरेको जनाइएको छ।