काठमाडौं– प्रधानमन्त्री कार्यालयले कैलालीको घोडाघोडी नगरपालिकामा राधा चौधरीलाई बोक्सीको आरोप लगाई कुटपिट गरेको घटनाका दोषीलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छ। आइतबार जारी प्रेस नोटमा घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसैगरी, प्रधानमन्त्री कार्यालयले राधा चौधरीको उपचार खर्च व्यहार्ने र थप उपचारको व्यवस्था गर्ने जनाएको छ।
प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस नोटमा भनिएको छ, ‘फागुन २४ गते बिहीबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेको खबर बाहिर आएको छ। प्रहरीले निज रामबहादुर चौधरीलाई छानबिनका लागि पक्राउ गरेपछि कानुनी कारबाहीको प्रक्रियामा जान नदिई उनलाई छोडिएको जानकारी प्राप्त भएको छ। मानवता विरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जोकसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइनेछैन।’
प्रधानमन्त्री कार्यालयले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित निकाय अग्रसर भइसकेको समेत जनाएको छ।
बोक्सी आरोपमा कुटपिट गरिएकी राधाको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि शुक्रबार थप उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा ल्याइएको छ। राधाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भए पनि उनलाई मानसिक समस्या भएको राधाको उपचारमा संलग्न चिकित्सकले बताए।
स्थानीय राष्ट्रिय उच्च माविमा कक्षा ११ मा अध्ययरत राधाका बुबाआमासहित दुई दाजुभाइ तथा एक बहिनी छन्।
अर्धबेहोस अवस्थामा घोडाघोडी अस्पतालमा उपचार गराइरहेकी राधालाई शुक्रबार राष्ट्रिय मानवअधिकार आयोग धनगढीका निमित्त निर्देशक दीपकजंगध्वज कार्कीसहितको अधिकारकर्मीको टोलीले उद्धार गरेर धनगढी ल्याएको हो।
बोक्सी आरोप लगाई कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई शुक्रबार प्रहरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको र घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रवक्ता डिएसपी सागर बोहराले बताए।
रामबहादुरविरुद्ध सुखड इलाका प्रहरी कार्यालयमा राधाका बुबा जोखन चौधरीले मुद्दा दर्ता गराएका छन्। घटनाको अनुसन्धान गरी घटनामा संलग्न कसैलाई नछोड्ने डिएसपी बोहराले बताए।
‘अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रस्ट भएको छ। यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ,’ प्रेस नोटमा उल्लेख छ, ‘यस्ता आपराधिक घटना भविश्यमा दोहोरिन नदिन जनतामा रहेको अशिक्षा, अन्धविश्वास र पछौटेपन जस्ता कुराहरुलाई दुरुपयोग गर्दै लाभान्वित हुन खोज्ने गतिविधिलाई कठोरताका साथ रोक्न जरुरी छ। यस्ता अन्धविश्वास विरुद्ध लड्न र तिनलाई निर्मूल पार्न सरकारलाई सधैं सबै नागरिकको सहयोग प्राप्त हुने अपेक्षा गर्दछौं।’
कैलालीमा बोक्सी आरोपमा २० वर्षीया युवतीलाई यातना दिइएको, दोषीलाई घोडाघोडी नगरपालिकाका प्रमुखले नै उन्मुत्ति दिन खोजेको अवस्थामा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै प्रतिक्रिया नदिएको भन्दै आलोचना हुन थालेको अवस्थामा प्रधानमन्त्रीको सचिवालयबाट प्रेस नोट जारी भएको हो।