चितवन– पूर्वी चितवनको रत्ननगर अस्पतालमा सौर्य उर्जाबाट डायलाइसिस सेवा सुरु गरिएको छ । सौर्य उर्जाका लागि स्वीजरल्याण्डकी डा. रुथ गोन्सेथको पहलमा ‘शान्ति मेड नेपाल’ मार्फत् स्वीस सरकारले सहयोग उपलब्ध गराएको हो।
स्वीस सरकारको ६५ प्रतिशत र वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको ३५ प्रतिशत आर्थिक सहयोगमा अस्पतालमा २१ दशमलब ६ किलावाटको सौर्य उर्जा जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले बताए । ९६ लाख रुपियाँको लगानीमा सौर्य उर्जा जडान गरिएको हो।
सौर्य उर्जाबाट डायलाइसिस सेवा सन्चालन गरिएको दक्षिण एसियामै पहिलो भएको अस्पतालको दाबी छ।
‘सौर्य उर्जाबाट डायलासिस मेसिन सञ्चालनमा हामीले सफलता प्राप्त गरेका छौं’ अस्पतालका अध्यक्ष श्रेष्ठले भने, ‘यो नेपाल मात्र होईन् दक्षिण एसियामा नै पहिलो हा। नेपालका दुर्गम क्षेत्रमा पनि सौर्य उर्जाबाट डायलासिस मेसिन चलाउन सकिन्छ भन्ने प्रमाणित भएको छ।’
हुम्ला, जुम्ला, कालीकोटजस्ता दुर्गम क्षेत्रमा पनि मृगौला उपचार केन्द्र सञ्चालन गर्न सकिने सम्भावना सौर्य उर्जाले देखाएको उनले बताए । अस्पतालमा मिर्र्गाैला उपचार भने राष्ट्रिय मृगौला उपचार केन्द्र चितवन युनिटका २०७२ मंसिर १५ गतेदेखि सुरु भएको थिया। स्थापना कालदेखि अहिलेसम्म रत्ननगर अस्पतालमा ५२ मृगौला रोगीले नियमित डायलासिस गराइरहेका छन्।
यहाँ वीरगञ्ज, सर्लाही, रौतहट, बारा, मकवानपुर पर्सा, नवलपरासी, गोरखा, तनहुँ र कैलालीका मृगौला रोगीले सेवा लिएको अस्पताल प्रमुख डा. अजय न्यौपानेले बताए।
‘बिजुली आउनेजाने भइरहन्छ’ अध्यक्ष श्रेष्ठले भने, ‘यस्तो भयो भने मृगौलाको डायलासिस गरिरहेको अवस्थामा समस्या आउँछ तर हामीले त्यस्तो समस्या झेल्नु परेको छैन ।’ अस्पतालमा शान्ति मेड नेपालको सहयोग र राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंसँगको सहकार्यमा ६ वटा डायलाइसिस मेसिनसहितको राष्ट्रिय मृगौला उपचार केन्द्र सञ्चालन गरिएको छ ।
स्वीस डाक्टरको पहल
पूर्वी चितवनवासीलाई लक्षित गरि अस्पताल स्थापना गर्न महायज्ञ गरेरै आर्थिक स्रोत जुटाइएको थिया। तर व्यवस्थापन पक्ष कमजोर हँुदा सुरुमा अस्पतालमा विरामी आउने वातावरण नै बनेन । आएका डाक्टर पनि अस्पतालमा बसेनन् ।
स्वीस डाक्टर रुथ गोन्सेथले पूर्वी चितवनकै गुञ्जमान हस्पीटलमा आएर सामाजिक सेवा गरिरहेकी थिईन् । छाला विशेषज्ञका रुपमा परिचित उनले राम्रो सेवा दिएका कारण त्यहाँ बिरामीको घुईंचो लाग्ने गथ्र्यो । तर उनले त्यहाँ उपचार गर्दा धेरै बिरामीमा मृगौलाको समेत समस्या देखेपछि आफ्नै पहलमा डायलाइसिस मेसिन लिएर आईन् । तर एक वर्षसम्म अस्पतालले चासो दिएन । फलस्वरुप उनी निराश बनेकी थिईन् । यसबीच उनले यो सरकारी अस्पतालको विजोग देखेपछि फेरि एकपटक आशा जगाई यता आउने निर्णय गरिन् । र आफूले लिएर आएका सबै सामग्री पनि संगै ल्याइन् । र, आफू आएपछि अस्पतालको सुधारका लागि पहल गरिन् ।
उनैले नेतृत्व गरेको शान्ति मेड नेपालको सहयोगमा अस्पतालमा सौर्य उर्जा जडान भएको हो।
सरकारले रत्ननगर अस्पताललाई अहिलेसम्म १५ शैयाको मात्र स्वीकृति दिएको छ । तर अस्पतालको सेवालाई गुणस्तरीय बनाइएको छ । सेवा तथा भौतिक संरचना सुधारपछि यहाँ विरामीको चाप बढेको न्यौपाने बताउछन्।
स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी बनाउन अस्पतालले मृगौला उपचार केन्द्रसहित छाला, शल्यक्रिया, हार्डजोर्नी, डेण्टल, ल्याब, प्रसूतिलगायतका विभाग सञ्चालन गरी बिरामीको उपचार गरिरहेको प्रमुख डा न्यौपानेले जानकारी दिए । राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंका प्रशासन प्रमुख सुमन राउतले मृगौला रोग लाग्न नदिन राष्ट्रियस्तरमा ‘मृगौला बचाऔं अभियान’ सुरू गरिएको जानकारी दिए।
मृगौला जाँचका लागि शिविर सञ्चालन गर्ने र जनचेतना फैलाउन अभियान सुरू गरिएको उनले बताए । सो अभियानमा नेपालका नागरिकले वार्षिक ५०० रुपैयाँ सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए।