काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बाङ्ला एयरलाइन्सको विमानबाट उद्धार गरिएका घाइतेहरुलाई काठमाडौंका विभिन्न अस्पतालमा लगिएको छ।
घाइते यात्रुहरुको नर्भिक अस्पताल थापाथली, काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल लगायतका अस्पतालमा लगेर उपचार भइरहेको छ। केएमसीमा नेपाली र बंगलादेशी गरी २५ यात्रुलाई लगिएकोमा त्यसमध्ये ८ वटा शव रहेको नागरिक उड्डयन प्राधिकरणकी कर्मचारी सुनिता भारद्वाजले नेपाल लाइभलाई जानकारी दिइन्।
केएमसीमा उपचाररत १७ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
यस्तै, नर्भिक अस्पतालमा चार जना घाइतेको उपचार भइरहेको छ। अस्पतालका अनुसार तीमध्ये दुई जनाको अवस्था गम्भीर छ।
ढाकाबाट ६७ यात्रु बोकेको युएस बाङ्ला एयरलाइन्सको फ्लाइट नम्बर यु बिजी २११ को विमान काठमाडौंमा अवतरणका क्रममा अपराह्न २ बजेर २० मिनेटमा दुर्घटना भएको थियो। विमानमा चालक दलका चार सदस्य थिए।