काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परी घाइते भएकाहरूको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल सिनामंगलस्थित केएमसी अस्पताल पुगेका छन्।
केएमसी अस्पतालमा दुर्घटनामा परेका २४ जनालाई उपचारका लागि लगिएको थियो। '८ जनाको अस्पताल ल्याइपुर्याउँदै मृत्यु भइसकेको थियो,' केएमसी मेडिकल कलेजकी प्रिन्सिपल डा चन्दा कार्कीले भनिन्, 'यहाँ ल्याइएका घाइतेमध्ये ४ जनालाई आफन्तले अन्य अस्पताल लगिसक्नु भएको छ। १२ जनाको यहाँ उपचार भइरहेको छ।'
प्रधानमन्त्री ओलीले दुर्घटनाको दुःखद् खबरले स्तब्ध बनाएको बताउँदै दुर्घटनामा निधन भएका यात्रुप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
सोमबार दिउँसो दुर्घटनामा परेको युएस बंगला विमानका चालक दलसहित ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार भएको छ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरणका क्रममा दुर्घटनामा परी आगलागी भएको थियो।
