काठमाडौं– काठमाडौं विमानस्थलमा भएको विमान दुर्घटनापछि ग्रान्डी अस्पताल लगिएका सबै खतरामुक्त रहेका छन्। ग्रान्डीमा दयाराम ताम्राकार, हरिप्रसाद सुवेदी र किशोर त्रिपाठीको उपचार भइरहेको हो।
घाइते तीन जनाको स्थिति गम्भीर नभएको अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले स्वास्थ्य खबरलाई जानकारी दिए।
‘कुनै गम्भीर समस्याका छैनन्। हामीकहाँ आएका तीन जना घाइतेको अवस्था ठिकै छ,’ डा पाण्डेले भने।
चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस-बाङ्ला एयरलाइन्सको बिएस २११ को विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दिउँसो २:२० बजे दुर्घटनामा परेको थियो।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृतकको शव निकाल्ने क्रम जारी रहेकाले संख्याबारे पुष्टि हुन सकेको छैन।