काठमाडौं- त्रिभुवन विमानस्थलमा सोमबार दिउँसो भएको युएस बंगला विमान दुर्घटनामा घाइते भएका मध्ये ५ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार हुँदैछ।
नर्भिक अस्पतालका चिकित्सकका अनुसार ५ जनामध्ये ४ जना नेपाली छन् भने एकजना विदेशीको नाम खुल्न सकेको छैन।
'घाइतेहरु आशिष रञ्जित, बसन्त बोहरा र सनम शाक्यको अवस्था सामान्य छ,' ती चिकित्सकले भने, 'उनीहरुको अवस्था सामान्य नै छ। छालामा चोट लाग्नेबाहेक ठूलो समस्या देखिएको छैन।'
अर्का घाइते विनोद पौडेलको भने खुट्टा फ्याक्चर भएको छ भने उनको दिमागमा पनि चोट लागेको छ।
यसैगरी, अर्का नाम नखुलेका बिरामीको अवस्था भने चिन्ताजनक छन्। बंगलादेशी नागरिक हुन सक्ने ती घाइतेको हिपको बोन फ्याक्चर भएको छ भने छातीमा रगत जमेको छ। उनको भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको छ।