प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मिर्गौला प्रत्यारोपण गराइदिने भन्दै ठगी गरेको आरोपमा एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ।
ब्युरोले आफूलाई डाक्टर हुँ भन्ने ४६ वर्षीय पंकज झालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी डाक्टर नै होइनन्। प्क्राउ परेका झा सप्तरीको बरही बलपुर ६ निवासी हुन्। उनलाई झापाबाट पक्राउ गरिएको हो।
भारतमा मिर्गौला प्रत्यारोपण गरिदिने भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ।
उनले एक जनासँग ५ लाख तथा अर्का बिरामीसँग ४ लाख रुपैयाँ लिएका थिए।
सिआइबीका डिएसपी कवित कटवालका अनुसार उनले भारत जान भन्दै बिरामीलाई विमानस्थलमा बोलाउने र मोबाइल स्विच अफ गरेर बेपत्ता हुने गरेका थिए।
झाले आफू नेसनल किड्नी अस्पतालको निर्देशक हुँ भनेर समेत झुक्याएका थिए।
प्रहरीका अनुसार करिब १० वर्षअघि नेपालमा पक्राउ परेका डा अमित कुमार आफ्नो साथी भएको भन्दै उनले विश्वासमा पारेर पैसा असुल्ने गर्थे। डा अमित कुमार मिर्गौला खरिद(बिक्री तथा अवैध प्रत्यारोपणको आरोपमा चितवनमा पक्राउ परेका थिए।
झाले केही व्यक्तिलाई भारतमा लगेर गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण समेत गरेको खुलेको छ। पछिल्लो समय भने उनी ठगीमा संलग्न रहेको सिआइबीले जनाएको छ।