नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्ना सहपाठी तथा वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई अस्पताल पुगेर भेटेका छन्।
बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत डा देवकोटालाई भेटेका भट्टराईले आगन्तुक पुस्तिकामा पुराना दिन सम्झँदै स्वास्थ्य लाभको कामना गरेका छन्।
देवकोटासँग कक्षा ५ देखि आइएससीसम्म सँगै पढेको स्मरण गर्दै भट्टराईले उनको दृढ इच्छाशक्ति र विलक्षण प्रतिभा नजिकबाट देखेको भन्दै लेखेका छन्, 'यो असाध्य रोगलाई उहाँले जित्न सक्नुहुन्छ भन्ने अझै विश्वास गर्दछु।'
अस्पतालको आगन्तुक पुस्तिकामा नेता भट्टराईले लेखेको सन्देश:
मेरा बालशाखा तथा अनन्य मित्र र नेपाललाई अन्तर्राष्ट्रिय प्रतिष्ठा दिलाउने अग्रणी न्यूरो सर्जन डा उपेन्द्र देबकोटाको स्वास्थ्यलाभको कामना गर्दै सबै आफन्तजनमा आशावादी रहन र धैर्यधारण गर्न आग्रह गर्दछु। वहाँ आफैँ एक अब्बल वैज्ञानिक र चिकित्सक हुनाले वहाँ आफ्नो स्वास्थ्यस्थितिबारे जानकार हुनुहुन्छ र आफ्नो जीवनको भविष्यबारे आकलन गरिसकेको वहाँसगको भेटमा अनुभूत भयो। तर, म वहाँको अमरज्योति हाइस्कुल, लुइँटेल, गोरखामा पाँचदेखि १० कक्षासम्म र अमृत साइन्स कलेजमा आइएससीसहित सात वर्ष एउटै कक्षामा अध्ययन गरेको र वहाँको दृढ इच्छाशक्ति तथा विलक्षण प्रतिभा नजिकबाट देखेको नाताले यो असाध्य रोगलाई वहाँले जित्न सक्नुहुन्छ भन्ने अझै विश्वास गर्दछु। संक्षिप्त भेटमा आज हामीले स्कुले जीवनको सुखद स्मरण गर्यौं, एक अर्काप्रति अन्तरहृदयदेखि सम्मान व्यक्त गर्यौं, सामान्य मान्छेको जीवनमा देश र जनता/समाजको निम्ति गर्न सक्ने जति काम सम्पन्न गरेकोमा सन्तोष व्यक्त गर्यौं र एकअर्काप्रतिको हाम्रो सोच र सम्बन्बारे अरुले अनुमान गर्ने कुराहरुलाई खारेज गर्दै असल मित्रकै रुपमा संसारबाट बिदा हुने प्रण गर्यौं। मलाई मेरा मेधावी मित्र डा उपेन्द्र देवकोटासँगको स्वस्थ प्रतिस्पर्धाले यहाँसम्म पुर्याौएको मैले स्वीकार गरेँ र वहाँले पनि स्वीकार गर्नुभयो। म मेरो अनन्य मित्र देवकोटाप्रति सधैँ गर्व गर्दछु, गरिरहनेछु।
बाबुराम भट्टराई
