पित्त थैलीको क्यान्सरबाट पीडित भएका वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जानकारी लिएकी छिन्।
डा देवकोटा उपचाररत बाँसबारीस्थित न्यूरो अस्पताल पुगेर आज राज्यमन्त्री अर्यालले जानकारी लिएकी हुन्।
राज्यमन्त्री अर्यालले डा देवकोटाको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छिन्।
यसअघि डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलगायत अस्पताल पुगेका थिए।
बेलायतको एक अस्पतालमा उपचारका लागि पुगेका डा देवकोटा केही दिन अघि मात्रै स्वदेश फर्किएका थिए।