खोपको गुणस्तरीयता कायम राख्न विमानस्थलमा आवश्यक परिमाणको चिस्यान केन्द्रको व्यवस्थापनमा जोड दिइएको छ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाले आज यहाँ आयोजना गरेको खोप व्यवस्थापन र कोल्ड चेनबारे सरोकार भएकासँगको कार्यक्रममा खोपलाई सुरक्षित राख्दै गुणस्तरीयता कायम राख्न भण्डारसम्म लैजाने प्रक्रिया छोटोछरितो बनाइनुपर्ने पनि बताइएको छ।
स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चूडामणि भण्डारीले नेपालका प्रमुख कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रम भएको उल्लेख गर्दै बाहिरबाट खोप नेपाल आएपछिको व्यवस्थापनका लागि पहल गरिने बताए।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विमानस्थलमा खोप आएपछि प्रक्रिया लामो हुँदा त्यसको गुणस्तरीयता कायम राख्न चुनौती हुने बताए।
आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा रमेश खरेलले पहिले विमानस्थलबाटै भन्सार जाँच पास गरी रेफ्रिजेनेटर भ्यानबाट सीधै लैजाने व्यवस्था भए पनि केही वर्षदेखि प्रक्रिया लामो हुँदा समस्या भएको बताउँदै बढी मात्रामा खोप आए विमानस्थलमा आवश्यक परिमाणको चिस्यान केन्द्र नभएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
बाल स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख कृष्ण चन्दले नेपाल स्वास्थ्य जनसांख्यिक सर्वे २०१६ का अनुसार २२ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित भएको तथा १ प्रतिशत शिशुले एउटा पनि खोप नपाएको देखाएको छ जुन हाम्रा लागि चुनौतीको विषय हो भने। उनका अनुसार नेपाल स्वास्थ्य जनसांख्यिक सर्वे २०११ का अनुसार अझै पनि १३ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित छन् भने ३ प्रतिशतले एउटा खोप पनि पाएका छैनन् । सरकारले राष्ट्रिय खोप कार्यक्रममा ९० प्रतिशत शिशुलाई पहुँचमा पु¥याउने लक्ष्य पूरा गर्दै सन् २०१९ मा दादुरालाई उन्मूलन गर्ने लक्ष्य राखेको छ।
आपूर्ति व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले अन्तर्राष्ट्रिय एयरलाइन्सबाट खोप नेपाल आएपछि गोदामसम्म लाने प्रक्रिया लामो झन्झटिलो भई गुणस्तरीयतामा कमी आउने भएकाले सुधार गर्नुपर्नेमा जोड दिए। उनले भनेऽ ‘खोप तथा कोल्डचेन सामग्रीको आपूर्ति वितरण र गुणस्तरको सुनिश्चितता गर्नुपर्छ, सूक्ष्म योजनाअनुसार नियमित खोप सञ्चालनमा व्यवस्था र अनुगमन, स्वास्थ्यकर्मीको व्यवस्थापन र क्षमता विकासमा पनि ध्यान दिनुपर्छ ।’
11 संगठन नेपालका प्रतिनिधि डा राहुल प्रधानले विश्वमा प्रत्येक २० सेकेन्डमा एउटा शिशुको मृत्यु हुने जानकारी दिँदै त्यसलाई खोपद्वारा बचाउन सकिने बताए।
खोपमा सरकारले रु चार अर्ब बराबरको खर्च गर्दै आएको र त्यसमा भ्याक्सिन फर अलाइन्स गाभीले सहयोग गर्दै आएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हाल नेपालमा १५ महिनामुनिका बालबालिकालाई ११ प्रकारका खोप निःशुल्क सेवा प्रदान गरिँदै आएको छ । सरकारले हाल क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्युएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिसको खोप तथा गर्भवतीका लागि टिडी खोप उपलब्ध गराउँदै आएको छ। रासस