शुक्रबार भारतको चेन्नर्इका भालशेखर चिलान र उनका साथीहरु काठमाडौं आइपुगे । उनले भेटेजतिलार्इ आग्रह गरे– अंगदान गरौं । बितेर जाने त गइहाल्छ तर ऊसँगै बितेर जाने अंग जीवित रहन्छ र त्यसले अर्को कसैलार्इ जीवन दिन्छ। कारमा यात्रा गर्दै विभिन्न देश पुग्ने लक्ष्य लिएका उनी यही क्रममा नेपाल अइपुगेका हुन्।
उनी करिब १५ देश यही शन्देस सहित पुग्नेछन्।
सन् २०१२मा उनकी पत्नीको मिर्गौला मुत्यु भयो । केही समयपछि उनकी छोरीको मिर्गौला फेल भयो तर छोरीलार्इ उनकै श्रीमानले मिर्गौला दिएर जोगाए। कसैले मिर्गौला दान गरेको भए श्रीमतीलार्इ पनि जोगाउन सकिने महसुस उनलार्इ भयो । त्यसपछि चिलान मोहन फाउन्डेसन मार्फत् अंगदान सम्बन्धी चेतना फैलाउन लागिपरे । जीवनको एक्लोपन दूर गराउन दोस्री पत्नीका रुपमा नमितलार्इ भित्र्याए र उनलार्इ पनि यही कर्ममा समर्पित गरे। अहिले भालशेखरलार्इ उनी साथ दिइरहेकी छिन्।
निरन्तर यही विषयमा जनचेतना फैलाइरहेका उनले १५ देशका कम्तिमा १० हजार मानिसलाई अंगदानका विषयमा जनचेतना फैलाउने उदेश्य लिएका छन् । उनले २७ अप्रिलबाट यात्रा सुरु गरेका हुन्।
काठमाडौँमा उनीहरुलार्इ राष्ट्रिय मिर्गौला उपचार केन्द्रका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले स्वागत गरे । साथै उनीहरुले गर्न लागेको कामको प्रशंसा गरे।
'ब्रेन डेथ भएका बिरामीका आफन्तले अंग दान गर्न मान्दैनन् । उहाँहरुको कामले धेरैलाई अंगदान बारे चेतना हुने र ब्रेन डेथ भएका मान्छेको अंगले धेरैलाई जीवनदान पाउनेछन्,' उनले भने।
उनीहरु शनिवार चीनतिर लाग्नेछन् । त्यहाँबाट किर्गिस्थान, तुर्किमिनिस्तान, इरान, टर्की, ग्रिस, पोल्यान्ड, स्विटजरल्यान्ड अष्ट्रिया, फ्रान्स, स्कटल्यान्ड बेलायत लगायतका १५ देश पुग्नेछन् । ६ महिनाको यात्रा तय गरेका छन् । उनीहरुले विभिन्न स्कुल, कलेजमा, रोटरी क्लबहरुमा कार्यक्रम गर्नेछन्।
आफूले जीवन नै यस सम्बन्धि चेतना फैलाउनका लागि समर्पित गर्ने चिलानले बताए । उनी संलग्न मोहन फाउन्डेशनले भारतमा अंगदान सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।