रुपन्देही- लुम्बिनी अञ्चल अस्पतालका लागि रोटरी क्लब अफ बुटवलले अक्सिजन जेनेरेसन प्लान्ट हस्तान्तरण गरेको छ।
दुई वर्षअघि नै अस्पतालमा प्लान्ट जडान भइसके पनि कागजी प्रक्रियामा ढिलाइ भएर शनिबार मात्र हस्तान्तरण गरिएको हो। अस्पताल परिसरमा आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ का गभर्नर सञ्जय गिरीले अस्पताल प्रशासनलाई प्लान्ट हस्तान्तरण गरेका हुन्।
रोटरी क्लब अफ बुटवल २१ लाख, रोटरी क्लब जयपुर डिस्ट्रिक ३२३० भारतको १० लाख र रोटरी फाउन्डेसनको १९ लाख गरी कुल ५० लाख रुपैयाँ लगानीमा अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको थियो। रोटरी क्लब बुटवलका लागि पूर्व अध्यक्ष पुरन श्रेष्ठले १० लाख, पूर्व अध्यक्ष आमोद सिमगैडाले ९ लाख र अस्पताल विकास समितिका पूर्व अध्यक्ष समेत रहेका डा प्रायोश्चित श्रेष्ठले २ लाख रुपैयाँ सहयोग गरेका थिए।
कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ का गर्भनर गिरी, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, अस्पताल विकास समितिका अध्यक्ष रमेश खनाल, क्लबका पूर्व अध्यक्ष पुरन श्रेष्ठ लगायतले स्वास्थ्यसँग सम्बन्धित परियोजनालाई प्राथमिकता दिन रोटरी क्लबलाई सुझाव दिए।