वीर अस्पताल, नाम सुन्नेबित्तिकै धेरैको अनुमान हुन्छ, फोहोर अनि गन्हाउने पुरानो अस्पताल। किनकि जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको यो बूढो अस्पतालमा पछिल्ला केही महिनायता सुधार आइरहेको छ।
तर, बिरामीले अनुभूति नै गर्ने गरी भने सुधार अाएको देखिँदैन।
यसका शौचालय र पुराना संरचनाका कारण अस्पतालका धेरै स्थानमा घिनलाग्दा भर्याङ, भुइँ र भित्ता छन्। अस्पतालले हरेक दिन सफा बनाउने प्रयास जारी गरे पनि यसको पुरानो परिचय भने अझै फेर्न सकेको छैन।
तर, अबको केही दिनमा वीर अस्पताल बिरामीले अनुभूति नै गर्ने गरी फोहोर र गन्हाउने अस्पतालको परिचयबाट आफ्नो परिचय फेर्ने बाटोमा छ।
किनकी, वीर अस्पताल सफाइको जिम्मा अब एयरपोर्ट र पशुपतिनाथ क्षेत्र सफा गरेको खेम्स क्लिनिङले लिएको छ। यसका लागि खेम शर्मा अष्ट्रेलियाबाट नेपाल आइसकेका छन्।
खेम शर्माको टोलीले वीर अस्पतालमा १५ दिनसम्म अभियानका रुपमा सफाइको काम गर्नेछन्। उनीहरुले सफाइसँगै वीर अस्पतालमा कार्यरत कर्मचारीलाई तालिम समेत दिनेछन्।
वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतका अनुसार अभियान आइतबार बिहान ८ बजेबाट सुरु हुनेछ।
अभियानको सुरुवात स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले गर्ने कार्यक्रम समेत बनिसकेको छ।
‘खेम्स क्लिनिङले स्वयंसेवी रुपमा अस्पतालको सफाई अभियान चलाउने भन्नु भएको छ,’ निर्देशक डा बस्नेतले भने, ‘यो सँगै उहाँहरुले अस्पतालकै कर्मचारीलाई १५ दिनसम्म तालिम दिने र त्यसपछि समय समयमा आएर फलो गर्नुहुनेछ।’
डा बस्नेतले वीर अस्पतालका कर्मचारीले नै तालिम पाएपछि अस्पताल अभियानका दिनमा मात्र नभई सँधैभर सफा हुने बताए। ‘वीर अस्पताल सँधै सफा र आकर्षक हुने गरी प्रणालीको विकास गरेर अगाडि बढ्न लागिएको हो,’ उनले भने, ‘आगामि दिनमा बिरामीले अनुभव गर्ने गरी वीर अस्पतालको मुहार फेरिनेछ र सफा वीर अस्पतालले निरन्तरता पाइरहनेछ।’
एनले पछिल्लो एक वर्षमा अस्पतालमा धेरै सुधार आइरहेको र बिरामीले सहज सेवा पाइरहेको जानकारी दिए। अस्पतालको पूर्वाधार, रङरोगन र सरसफाइसँगै अस्पतालमा आवश्यक उपकरण लगायतका प्रविधि समेत थप्दै गएका कारण वीरको मुहार फेरिँदै गएको डा बस्नेतले बताए।