स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले स्वास्थ्य सेवा अन्तर्गतका सम्पूर्ण कर्मचारीलाई जागिर सरकारी राम्रो लाग्ने तर काम निजीमा राम्रोसँग गर्ने प्रवृत्ति बदल्न आग्रह गरेकी छिन् । आइतबार सरकारी स्वास्थ्य संस्था सफाइ अभियानको सुरुवातका लागि वीर अस्पतालमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
आफूलाई ‘चर्को बोल्ने’ गरेको गुनासो आइसकेको बताउँदै उनले धेरैमा सरकारी संस्थाप्रति अपनत्व महशुस हुन नसकेको बताइन् । उनले भनिन्, ‘काम सरकारी मीठो हुने र काम निजीमा राम्रो गर्ने प्रवृत्ति त्याग्नुपर्छ । सरकारी संस्था आफ्नो हो भन्ने महशुस हुनुपर्छ ।’
सरकारी स्वास्थ्य संस्थाहरु बारे सवैभन्दा धेरै गुनासो सरसफाईका कमीको बारे आउने गरेकाले अभियान थालिएको उनले बताइन् ।
सरकारी स्वास्थ्य संस्थाको ‘अनुहार’ वीर भएकाले यहीँबाट सफा थालिएको उनको तर्क छ । उनले भनिन्, ‘अरु अस्पताल सफा र वीर अस्पताल फोहर भनेर हामीले यहाँबाट सफा गर्न थालेका होइनौं । सरकारी अस्पताल भन्नेवित्तिकै वीरको नाम सवैभन्दा अघि आउने भएर यहीँबाट थाल्न उपयुक्त ठान्यौं ।’
वीर अस्पतालसँग डेढ सयको हाराहारीमा सफाइ कर्मचारी रहेपनि सफा हुन नसकेको उनले बताइन् । बिरामीको चाप बढी र सरसफाईका कर्मचारीमा दक्षताको कमीका कारण अपेक्षित सफा हुन नसकेको राज्य मन्त्री अर्यालको ठम्याइ छ । वीरमा रहेको ‘क्रोनिक’ फोहर सफा गर्नुका साथै त्यहाँका कर्मचारीलाई तालिम दिन त्रिभुवन विमान स्थल र पशुपति सफा गरेका खेम शर्माको समूहलाई साथ लिइको उनले जानकारी गराइन् । वीर अस्पताल निर्देशक डा भूपेन्द्र बस्नेतका अनुसार १५ जनाको समूह शर्माले ल्याएका छन् भने भने थप १० जना वीर अस्पतालले दिएको छ । २५ जनाको समूहले १५ दिन वीरमा र १५ दिन ट्रमा सेन्टरमा सफाइ गर्नेछ ।
सफाइ थाल्दै शर्माले १५ दिनमै वीरमा परिवर्तन देखिने बताए । उनले भने, ‘अहिले यहाँका शौचालय, कोठा र करिडोरको तस्बिर लिएर जानुहोस्, १५ दिनपछि आएर फेर हेर्नुहोला । पक्कैपनि परिवर्तन पाउनुहुनेछ ।’
नेपाल सरकारका सफाइ दूत सीताराम कट्टेले धुर्मुसले पनि सफाइ अभियानमा साथ दिएका छन् । आफूले वीर अस्पतालको ट्वाइलेट सफा गर्ने जिम्मा पाएको बताउँदै उनले भने, ‘हामीले हाम्रो दिमाग पनि सफा गर्दै सच्चिन आवश्यक छ भनसफा गर्न आएका हौं । यो अभियानपछि आफ्नो ठाउँ आफैं सफा गर्नुपर्ने रहेछ भन्ने चेतनाको विकास हुनेछ ।’ उनले अस्पताल सफा राख्न राज्य मन्त्री अर्यालमा रहेको ऊर्जालाई थप बल दिन आफू सहभागी भएको पनि बताए ।
अहिले आवरण, विस्तारै भित्री
स्वास्थ्य संस्थाको आवरण मात्रै होइन, भित्री (प्रणाली)मा पनि फोहर रहेकोतर्फ राज्य मन्त्री अर्यालले संकेत गरिन् । तत्काललाई आवरण तर विस्तारै प्रणालीमा समेत ‘सफाइ’ अभियान थालिने उनले बताइन् । उनले भनिन्, ‘सरकारी स्वास्थ्य संस्थाका सेवालाई लिएर गुनासोहरु आइरहेका छन् । हामीले गर्न नखोजेर भन्दा पनि प्रणालीमा रहेका केही क्रोनिक समस्याले यस्ता गराएका हुन् । हामी विस्तारै प्रणालीको सुधारतिर पनि लाग्नेछौं ।’
चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतका अस्पतालहरुमा वीरमा एक महिनासम्म चल्ने अभियानले सवै सरकारी संस्थाहरुलाई प्रेरित गर्ने राज्य मन्त्री अर्यालको अपेक्षा छ । उनले भनिन्, ‘यो अभियान हो । यसले सरसफाईका विषयमा रहेको धारणा परिवर्तन गर्नेछ । अरुले यहाँको सिको गर्नेछन् ।’
न्याम्सका उपकुलपति डा गणेश गुरुङले वीर देशकै पुरानो अस्पताल भएकाले धेरै सेवाग्राही आउने हुँदा गुनासो पनि बढी नै रहेको बताए । उनले भने, ‘पुरानो अस्पताल भएकाले सफा भएन भन्ने गुनासो आइरहन्छ । त्यसैले सफाइ अभियान थालिएको हो ।’
यही समयमा पुननिर्माण पनि भइरहेकाले एक महिनामा सफा हुने उनको अपेक्षा छ।