स्वास्थ्य राज्य मन्त्री पद्मा अर्याल, नेपाल सरकारका सरसफार्इ दूत तथा कलाकार सीताराम कट्टेल र सरसफार्इकर्मी खेम शर्माले आइतबार वीर अस्पतालको शौचालय सफा गर्दै सफाइ अभियान थालेका छन् ।

सरकारी स्वास्थ्य संस्था सफाइ अभियानको सुरुवातका लागि वीर अस्पताल छानिएको हो। सरकारी स्वास्थ्य संस्थाहरु बारे सवैभन्दा धेरै गुनासो सरसफाईका कमीको बारे आउने गरेकाले अभियान थालिएको राज्यमन्त्री अर्यालले बताइन् ।
'सरकारी स्वास्थ्य संस्थाको ‘अनुहार’ वीर भएकाले यहीँबाट सफा थालिएको उनको तर्क छ,' उनले भनिन्, ‘अरु अस्पताल सफा र वीर अस्पताल फोहर भनेर हामीले यहाँबाट सफा गर्न थालेका होइनौं । सरकारी अस्पताल भन्नेवित्तिकै वीरको नाम सवैभन्दा अघि आउने भएर यहीँबाट थाल्न उपयुक्त ठान्यौं ।’
बिरामीको चाप बढी र सरसफाईका कर्मचारीमा दक्षताको कमीका कारण अपेक्षित सफा हुन नसकेको राज्य मन्त्री अर्यालको ठम्याइ छ । वीरमा रहेको ‘क्रोनिक’ फोहर सफा गर्नुका साथै त्यहाँका कर्मचारीलाई तालिम दिन त्रिभुवन विमान स्थल र पशुपति सफा गरेका खेम शर्माको समूहलाई साथ लिइको उनले जानकारी गराइन् ।

वीर अस्पताल निर्देशक डा भूपेन्द्र बस्नेतका अनुसार १५ जनाको समूह शर्माले ल्याएका छन् भने भने थप १० जना वीर अस्पतालले दिएको छ । २५ जनाको समूहले १५ दिन वीरमा र १५ दिन ट्रमा सेन्टरमा सफाइ गर्नेछ ।

सफाइ थाल्दै शर्माले १५ दिनमै वीरमा परिवर्तन देखिने बताए । उनले भने, ‘अहिले यहाँका शौचालय, कोठा र करिडोरको तस्बिर लिएर जानुहोस्, १५ दिनपछि आएर फेर हेर्नुहोला । पक्कैपनि परिवर्तन पाउनुहुनेछ ।’

नेपाल सरकारका सफाइ दूत सीताराम कट्टेले धुर्मुसले पनि सफाइ अभियानमा साथ दिएका छन् । आफूले वीर अस्पतालको ट्वाइलेट सफा गर्ने जिम्मा पाएको बताउँदै उनले भने, ‘हामीले हाम्रो दिमाग पनि सफा गर्दै सच्चिन आवश्यक छ ।’
उनले अस्पताल सफा राख्न राज्य मन्त्री अर्यालमा रहेको ऊर्जालाई थप बल दिन आफू सहभागी भएको पनि बताए ।




