कलाकार सीताराम कट्टेल 'धुर्मुस'ले वीर अस्पतालको शौचालयको फोटो राख्दै अस्पताल सफाइ अभियानमा सघाउन आग्रह गरेका छन्।
वीर अस्पताल सफाइ अभियानको दोस्रो दिन आज फेसबुकमा अस्पतालको शौचालयको तस्बिर राखेर रंगरोगन र विद्युतीय सामान मर्मतका लागि स्वयंसेवी भएर काम गर्न इच्छुक पेन्टर र इलेक्ट्रिसियनलाई आग्रह गरेका हुन्। उनले सफाइ अभियानमा जोडिन सबैलाई आग्रह गरेका छन्।
‘हामी सबै मिलेर देशको मुटु हस्पिटललाई सफा र राम्रो हस्पिटलको रुपमा विकास गरौं। आउनुहोस्, तपाईँ पनि हाम्रो यस अभियानमा जोडिनुहोस्’, धुर्मुसले लेखेका छन्।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल र धुर्मुसले आइतबार वीर अस्पतालको शौचालय सफा गर्दै सफाइ अभियान सुरु गरेका थिए।
यस्तो छ धुर्मुसको आह्वान
हिजोबाट सुरु भएको वीर हस्पिटल सफाइ अभियानको आज दोस्रो दिन पनि हाम्रो टिम सफाइमा जुटिसकेको छ। र यो हाम्रो एउटा सचेतनाको अभियान मात्रै हो। निरन्तर सफाइ चाहिँ वीर हस्पिटलस्थित सफाइ कर्मचारीहरुले गर्नुहुनेछ र हामीले उहाँहरुलाई ट्रेनिङ दिँदै दिगो हिसाबमा सरसफाइलाई अघि बढाउने सोचका साथ यो अभियान चलाएका हौं। र वीर हस्पिटललाई सफा मात्र नभएर सफाइको एउटा नमूना हस्पिटल बनाउने हिसाबमा हामी अघि बढिरहेका छौं।
यस हस्पिटललाई कलात्मक, सुन्दर रंगरोगन सहित संरचनाको मेन्टेनेन्स गरेर चिटिक्क बनाउने अठोट रहेको हुनाले भोलेन्टियर गर्न इच्छुक कोही पेन्टर र इलेक्ट्रिसियन हुनुहुन्छ भने कृपया ९८४१२२९९१२ मा सम्पर्क गर्नुहोला। हामी सबै मिलेर देशको मुटु हस्पिटललाई सफा र राम्रो हस्पिटलको रुपमा बिकास गरौं। आउनुहोस तपाई पनि हाम्रो यस अभियानमा जोडिनुहोस्।