तेह्रथुम जिल्ला अस्पतालमा प्रसूति हुन नसकी एक महिलाको मृत्यु भएको छ।
तीन दिनअघि प्रसूति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएको हो।
अस्पतालको सामान्य डेलीभरी कक्षमा राखिएकी उनको मृत्युपछि आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। उनीहरुले लापरबाहीको आरोप लगाएका छन्।
रत्नमायाको सोमबार साँझ ज्यान गएको अस्पतालले जनाएको छ। बच्चासमेत नबाँचेपछि परिवार र महिला अधिकारकर्मीले अस्पताल प्रशासनको चरम लापर्बाही भन्दै विरोध गरेका छन्।
अस्पताल परिसर तनावग्रस्त बनेको छ। प्रशासनले अस्पताल परिसरमा प्रहरी परिचालन गरेको छ । प्रसूतिको ब्यथा नै नलागी महिलाको मृत्यु भएको परिवारले दाबी गरेको छ । मृत्युको कारणबारे अस्पताल प्रशासनले आधिकारिक जानकारी दिएको छैन। रासस