सरकारले तीलगंगा आँखा प्रतिष्ठानलाई १० करोड अनुदान दिएको छ। ‘नेपाल आँखा कार्यक्रम’ले उत्पादन गर्दै आएको मोतियाविन्दुको शल्यक्रियापछि राखिने इन्ट्रअकुलर लेन्स उत्पादन क्षमता अभिवृद्धि गर्न उक्त रकम उपलब्ध गराएको हो।
उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रमुख प्रा डा सन्दुक रुइतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
प्रतिष्ठानले वार्षिक चारदेखि पाँच लाखसम्म उत्पादन गर्दै आएको छ। विभिन्न चार प्रकारका लेन्स वार्षिक २ लाख विदेशमा निर्यात गर्दै आएको प्रतिष्ठानका लेन्स व्यवस्थापक नविन अधिकारीले बताए। उत्पादित लेन्सलाई विश्वको ३५ देशमा निर्यात गर्दै आएको छ। लेन्सको मुख्य निर्यात चीन, थाइल्याण्ड, भियतनाम, पाकिस्तानलगायतका देशमा हुने अधिकारीले बताए।
करिब एक वर्षअघि तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले अस्पताललाई उक्त रकम दिने घोषणा गरेका थिए। मेसिन खरिदका लागि सरकारले उक्त रकम उपलब्ध गराएको हो ।