काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आमरण अनसन तोडेर वार्तामा आउन आह्वान गरेका छन्।
मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको उल्लेख गर्दै आमरण अनसन तोडेर वार्तामा आउन डा केसीलाई आह्वान गरेका हुन्। उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।
आइतबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकार केदारभक्त माथेमा प्रतिवेदन कार्यान्वयन गर्न तयार रहेको पनि स्पष्ट पारे। जुम्लामा आमरण अनसनमा बसेका डा केसीलाई तत्काल काठमाडौंमा आउन पनि मन्त्री पोखरेलले आग्रह गरे।
मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिक परिषद् (सिटिइभीटी)लाई पुनर्गठन गर्ने घोषणा पनि गरेका छन्। उनले प्राविधिक शिक्षालाई आमजनताको पहुँचमा पु¥याउनेगरी सिटिइभीटीलाई पुनर्गठन गर्न लागिएको पनि स्पष्ट पारे। मन्त्री पोखरेलले प्रविधिमैत्री शिक्षालाई मुलुकको समृद्धिसँग जोड्न सरकार लागि परेको पनि बताए।
मन्त्री पोखरेलले शिक्षालाई जीवन उपयोगी बनाउन सबै तहको पाठ्यक्रम परिमार्जन गर्न लागिएको पनि जानकारी दिए।