काठमाडौँ – कपितवस्तुमा अनमी उषा केसीमाथि भएको कुटपिट घटना विवरणको याथर्थ जानकारी लिन नेपाल नर्सिङ संघल प्रतिनिधी पठाएको छ।
कपितवस्तुस्थित शिवराज नगरपालिका ११ थुनिया स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा कार्यरत अनमी केसीले स्थानीय मोहमज मुसलमानले आफूमाथि कुटपिट गरेको बताएकी छिन् । संघको केन्द्रीय कार्यालयमा लिखित तथा मौखिक रुपमा घटनाबारे जानकारी नआएपछि सत्यतथ्य बुझ्न संघले प्रतिनिधी पठाएको कार्यवाहक अध्यक्ष गंगा थापाले बताइन्।
‘उनीमाथी भएको कुटपिट बारे हामीले सुनेका छौं । घटना कसरी भयो भन्ने बारेमा बुझ्न काठमाडौँबाट संघका प्रतिनिधीका रुपमा सरोज गुरुङलाई पठाएका छौँ । उहाँले यथार्थ बुझेपछि हामी त्यही अनुसार अघि बढ्छौं,’ थापाले भनिन्।
कुटपिटबाट रात्रीकालीन सिफ्टमा ड्युटीमै रहेकी अनमी केसीको बायाँ हात भाचिएको छ। अबेर राती ढोका ढक्ढक्याएर बर्थिङ सेन्टरभित्र मुसलमानले छिर्नेबित्तिकै अनमी केसीले वडा अध्यक्षलाई फोन गरी जानकारी गराएको भएपनि आधा घण्टापछि मात्रै स्थानीयसहित अध्यक्ष आएको बताएकी छन्।
केसीमाथि कुटपिट गरी फरार रहेका मुसलमानलाई वडा प्रहरी कार्यालय चन्दौटाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षले दिने जाहेरीका आधारमा कानुन बमोजिम मुसलमानलाई कारबाही गरिने प्रहरीले जनाएको छ।