काठमाडौं - नेपाली बजारमा औषधिको बजार हरेक वर्ष बढ्दै गइरहेको छ । स्वदेशी र विदेशी औषधिको कारोबार हरेक वर्ष उकालो लाग्दै गइरहेको तथ्यांकले देखाउँछ । तर, औषधि बजारको हिस्सालाई हेर्ने हो भने अझै पनि नेपाली औषधिको हिस्सा भने ४० देखि ४५ प्रतिशतमा नै सीमित छ।
औषधि उत्पादक संघको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपाली बजारमा ४४ अर्ब ६ करोड रुपैयाँको औषधि बिक्रीवितरण भएको छ । जसमा विदेशी औषधिको बजार २५ अर्ब ८१ करोड र नेपाली औषधिको १८ अर्ब २५ करोड थियो।
विदेशबाट आयात भएको औषधिको हिसाबमा हेर्दा नेपालबाट दैनिक औषतमा सात करोड रुपैयाँ औषधिका नाममा रकम विदेशिने गरेको देखिन्छ।
आर्थिक वर्ष २०७३/७४ मा विदेशी औषधीको बजार २१ अर्ब ९५ करोड थियो भने नेपालीको १६ अर्ब ५८ करोड । विदेशबाट आउने औषधिमध्ये ९५ प्रतिशतभन्दा बढी औषधि भारतबाट नै आउने गरेको छ।
नेपालमा औषधिको बजार हरेक वर्ष बढ्दै गइरहेको तथ्यांकले पनि पुष्टि गर्छ । आर्थिक वर्ष २०६८÷६९ मा विदेशबाट १२ अर्ब ७५ करोडको औषधि भित्रिएको थियो भने नेपाली कम्पनीले ५ अर्ब ४३ करोडको कारोबार गरेका थिए।
सरकारले नेपाली औषधि उत्पादनलाई प्रोत्साहन नगर्दा नेपाली उत्पादनको बजार लामो समयदेखि स्थिर रहेको नेपाली उद्योगीहरुको आरोप छ। सरकारी निकायबाट असहयोग रहेकै कारण नेपाली औषधिको बजार हिस्सा सात–आठ वर्षदेखि ४० देखि ४५ प्रतिशतमा मात्र सीमित रहनुपरेको व्यावसायीहरूको गुनासो छ।
उत्पादकहरूका अनुसार नेपाल अहिले झन्डै ८० प्रकारका औषधिमा आत्मनिर्भर भइसकेको छ। सरकारले यी उत्पादनलाई प्रोत्साहन गर्दै विदेशबाट आयात हुने औषधिको आयात रोक्ने हो भने नेपाली कम्पनीको बजार हिस्सा २ वर्ष भित्रमा नै ७५ प्रतिशतभन्दा माथि पुग्ने औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहाल बताउँछन्।
सरकारले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने प्रयास भने नगरेको होइन। पटकपटक निर्णय पनि भएका छन्। तर, कार्यान्वयनमा आउन सकेको छैन। ०५१ सालेखि हालसम्म नेपाली उतपदनलाई प्रोत्साहान गर्न सरकारले आधा दर्जनभन्दा बढी निर्णय गरिसकेको छ। तर, ती सबै निर्णय कागजमा नै थन्किएका छन्।
सरकारले नेपाली औषधि उद्योगप्रति गरेको व्यवहारलाई नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठ अधिनायकवादी सोचको संख्या दिन्छन्। भन्छन्, सरकारले नेपाली औषधिमा अधिनायकवादी सोच पालेको छ। त्यही कारण नेपाली औषधिको बजार विस्तारमा समस्या परेको हो, उनले भने, उनले सरकारले तत्कालै उक्त सोच हटाएर नयाँ नीति बनाउँदै नेपाली उत्पादनलाई प्रवर्धन गर्नुपर्छ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाले सरकारले नेपाली उत्पादनको विस्तारमा सहयोग गर्दै आइरहेको दावी गरे। उनले विगतका निर्णयहरु पूर्ण कार्यान्वयनमा आउन नसकेको भने स्विकार गरे।