नेपाल क्यान्सर अस्पतालमा स्तन क्यान्सर सर्जनको रुपमा कार्यरत डा प्रफुल्ल शाक्य फुर्सदको बेला घुम्न रुचाउँछन्। उनलाई ट्रेकिङ र हाइकिङमा विशेष रुचि छ। डा शाक्यसँग जीवनशैली स्तम्भका लागि बुनु थारुले गरेको घुमफिर संवाद :
घुम्न कत्तिको मनपर्छ?
म घुम्नको एकदम सौखिन हो।फुर्सदमा ब्याग प्याक गरेर घुम्न निस्किइहाल्छु। मलाई ट्रेकिङ तथा हाइकिङमा जान मनलाग्छ। मैले काठमाडौंको कुनै हाइकिङ रुट छोडेको छैन। सब भ्याइसकेको छु। त्यसैगरी मलाई साहसिक खेलहरु बन्जी, प्याराग्लाइडिङमनपर्छन्, त्यो पनि सबै गरिसकेको छु। अब एक्लै स्काइडाइभिङ गर्न मन छ। घुम्न जाँदा म एक हप्ता फोन अफ गरेरनिस्किन्छु।
कहाँकहाँ घुम्नुभएको छ?
मैले नेपालको पश्चिम तथा सुदूरपश्चिमका लगभग सबै ठाउँघुमिसकेको छु। भारतका विभिन्न ठाउँ पनि पुगेको छु। पूर्वीय ततीय क्षेत्र सबै घुमेको छु। बाहिर भने फ्रान्स, बार्सिलोना, जापान आदि देशको भ्रमण गरेको छु। बरु नेपालको पूर्वतिर भने जान भ्याएको छैन।
घुम्दा एक्लै कि सामूहिक रुपमा जानुहुन्छ?
म प्राय: एक्लै घुम्न जाने गरेको छु। कहिलेकाहीँ साथीभाइ र परिवारसँग पनि जाने गरिन्छ।
तपाईंलाई सबैभन्दा मनपर्ने ठाउँ?
अहिलेसम्म धेरै ठाउँ घुमियो तर मलाई नेपाल नै सबैभन्दा मनपर्यो।नेपालका ठाउँ जस्ता सुन्दर भूभाग अरु कतै छैन। पहिला आफ्नो देश घुमौं, त्यसपछि विदेश।
घुम्नको सबैभन्दा मनपर्ने कारण?
घुम्न गएपछि फ्रेस महसुस हुन्छ। जहाँ गएपनि त्यो ठाउँको पूरै आनन्द लिन्छु। त्यहाँको सौन्दर्य र प्रकृतिसँग भिज्ने कोसिस गर्छु। पहिले घुमेका ठाउँ मेरो दिमागमा सदैव चित्रित हुन्छन्।
घुमेर फर्किंदा ती ठाउँबाट कोसेली ल्याइदिने बानी छ कि छैन?
म कहीँ जाँदा पनि कसैका लागि त्यस्तो चिनो ल्याउने गरेको छैन। मलाई त्यति मनपर्दैन र ख्याल पनि गर्दिनँ। घुम्ने तथा याद संकलन गर्नु मेरो लागि ठूलो कुरा हो। नयाँ अनुभव नै ठूलो कुरा हो। आफन्तले कोसेली आस गर्छन् तर म मतलब गर्दिनँ।
कुनै ठाउँ विशेष जुन तपाईंको मनमा बसेको छ?
मलाई अन्नपूर्ण बेसक्याम्पको याद अझै पनि ताजा छन्। हिमालै हिमालले घेरिएको त्यो ठाउँ ओहो शब्दमा वर्णन नै गर्न सकिन्न। अर्कै किसिमको भाइब्स त्यसले सिर्जना गर्दिन्छ। जब माछापुच्छ्रे बेसक्याम्पबाट अन्नपूर्ण बेसक्याम्प जान्छौं त्यो दृश्य र बिहान उठ्नेबित्तिकै चारवटा हिमाल आफू चारतिरै देख्दाकस्तो आनन्द अनि मनमोहक! त्यो आनन्द पाउनकै लागि हो म घुम्ने। त्यहाँको लोकल टिबेटन ब्रेड कत्ति मिठो अनि मान्छे उत्तिकै मिजासिला। ठाउँ सफा अनि घरपनि चिटिक्क। त्यहाँको याद आइरहन्छ। त्यहाँको मान्छेहरु एकदमै मेहनती र इमानदार हुन्छन्।उनीहरुको जीवनशैली सरल छ।
बार्सिलोना जाँदा एउटा पक्ष के राम्रो लाग्यो भने पर्यटकीय क्षेत्रका सडक गाडी गुड्ने भन्दा फराकिला हुन्छन्। गाडी चाहिँ साइडमा हिँडछन्। त्यो एकदमै मनपरेको हो।
किन घुम्ने? के छन् यसका फाइदा?
हामी जहिल्यै पनि व्यस्त जीवनमा बाँचिरहेका हुन्छौं। काम, थकान, प्रेसरबाट छुट्कारा पाउन पनि घुम्नुपर्छ। घुम्दा शान्ति मिल्छ। वर्षमा एकचोटि कतै लामो यात्रामा जानैपर्छ। घुम्दा धेरै अनुभव बटुलिन्छ। नयाँ ठाउँका नयाँ मानिस चिन्न पाइन्छ। भलाकुसारी हुन्छ। म त्यति धार्मिक मान्छे त होइन तर मलाई हरेक ठाउँमा घुम्न निस्किएपछि त्यहाँको संस्कृति जान्न मन लाग्छ। हरेक संस्कृतिले केही सिकाउँछ। घुम्न जाँदास्थानीय स्वाद चाख्न पाइन्छ। स्थानीयसँग बात मार्दा पनि धेरै कुराको जानकारी प्राप्त हुन्छ। प्राचीन कला र संस्कृति हेर्न मनलाग्छ।
घुमेपछि रिल्याक्स भएर घुम्नुपर्छ। टेन्सन फ्रि भएर। घुम्ने रहर गर्ने मान्छे जहाँ जाँदा पनि ठाउँ अनुसार घुलमिल हुन सिक्नुपर्छ। गाउँमा जाँदा फाइभ स्टार होटल खोजेर त भएननि। अर्गानिक जे छ त्यसमा रमाउनुपर्छ, अनि पोहुन्छ घुमाइको मज्जा। घुमेपछि मैले एउटा कुरा के सिकेँ भने हामी जहाँ सुकै गएपनि सबै मानव हौं। न जात न धर्म; केहीले पनि छेकेको छैन हामीलाई।
घुम्न जाँदा मनपरेको खाना?
अन्नपूर्ण बेसक्याम्प जाँदा छुम्रुङ भन्ने ठाउँमा भाङको अचार पहिलो पटक खाएको थिएँ। टिबेटन ब्रेड साह्रै मिठो लाग्यो। जापान जाँदा मलाई घोडाको काँचो मासु खाने मौका मिलेको थियो। त्यो जिब्रोमै झुन्डिएको छ। पाएँ भने फेरि गएर खान्छु।
कुन साधन लिएर घुम्न जानुहुन्छ?
बाइकमा खतरा महसुस हुन्छ। मलाई ड्राइभ गर्न मनपर्छ। कार चलाएर धेरै ठाउँ जान्छु। हिँड्न पनि मनपर्छ। लोकल बसमा पनि चढ्छु। यसो हुँदा लोकल मान्छेसँग बोल्न पाइन्छ।
घुम्न गएको बेला फोटो त खिच्नुहुन्छ होला?
म क्यामेरा बोक्दिन। याद कैद गर्नु ठूलो कुरा हो फोटो होइन। एकदमै कमै मात्र फोटो खिच्छु म । चिनोको लागि एक-दुईवटा सिनको फोटो खिच्छु नत्र सकेसम्मरमाउन खोज्छु। त्यहाँको सुन्दरतामा हराउँछु।
एकदमै मनपरेका ठाउँहरु?
मलाई ट्रेकिङ जान उपयुक्त सबै ठाउँ मनपर्छन्।तातोपानी, सुदूरपश्चिमको खप्तड, दिपायल, धनगढी, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज जस्ता ठाउँ नेपालीले घुम्नैपर्छ।
हालसालै कहाँ घुम्न जानुभयो?
म भर्खर मात्र परिवारसहित भारतको आग्रा गएको थिएँ। छोरी सानै छ, त्यसैले अलि घुम्न पाएको छैन।
अब कहाँ जाने सोच छ?
मलाई गर्मीभन्दा अलि जाडो ठाउँहरु मनपर्छन्। इलाम जाने प्लान छ यसपालि। चियाबारी हेर्न मनपर्छ। मेरो लिस्टको घुम्ने ठाउँ त सिध्याइसकेको छु।