काठमाडौं– ‘तपाईं त विदेशबाट आएको डाक्टर, मेरो जलेर गुमेको हातको औंला पहिलाको जस्तै बनाइदिन सक्नुहुन्छ ?’
जाजरकोट पुगेका बेला दुई वर्षअघि करिब ७ वर्षकी एक बालिकाले स्विस नागरिक डा क्याथ्रिन हागनलाई प्रश्न गरिन्।
उनको जिज्ञासालाई क्याथ्रिनको सहयोगीले अंग्रेजीमा अनुवाद गरेर सुनाए। क्याथ्रिन एकछिन त निःशब्द भइन्। बालिकाको शिरमा आफ्ना नरम हत्केला रगडिन् र मुसुक्क हाँसिन्।
नेपालको दुर्गम क्षेत्रमा डाक्टरको अनुहार देख्न मुस्किल पर्छ। दुर्गममा काम गर्न पुगेका एचए तथा अहेबलाई स्थानीयले ‘डाक्टर’ सम्बोधन गर्नु ठूलो आश्चर्य होइन।
यो विषयमा डा क्याथ्रिन पनि जानकार थिइन्।
विदेशबाट आएकी क्याथ्रिनसँग स्थानीयले अपेक्षा धेरै राख्नु स्वाभाविक पनि थियो। उनलाई लाग्यो, दुर्गमकी ती बालिकाको जिज्ञासा पनि अरूको जस्तै होला। त्यति सानी बालिकाले राखेको अपेक्षाले भने केहीबेर उनी अचम्मित बनिन्।
सहयोगीमार्फत नै उनले बालिकालाई भनिन्, ‘नयाँ औंला राखेर पहिलाको जस्तै बनाउन सकिन्न तर घाउ भने निको बनाउन सकिन्छ।’
अघिसम्म उत्साहित देखिएकी बालिकाको अनुहार जवाफ सुनेपछि अँध्यारो भयो। तर, उनलाई सान्त्वना दिन डा क्याथ्रिनले घाउको उपचार गरेर हातमा पट्टी बाँधेपछि भने ती बालिका निकै खुसी भइन्।
डा क्याथ्रिनले फागुनको दोस्रो साता काठमाडौंको एक होटलमा जाजरकोटको उक्त घटनाका विषयमा सुनाउँदै भनिन्, ‘ती बालिका निकै मायालाग्दी थिइन्। मैले उनलाई नयाँ औंला राखेर पहिलाको जस्तै बनाउन सकिन्न तर घाउ निको बनाउन सकिन्छ भनेपछि उनी केही समय दुःखी भइन्। तर, घाउमा औषधि लगाएर पट्टी बाँधेपछि भने ती बालिको अनुहारमा खुसीको चमक छायो।’
डा क्याथ्रिन विश्व चर्चित लेखक तथा भूगर्भविद् टोनी हागनकी छोरी हुन्।
नेपाललाई विश्वसामु चिनाउने भूमिका खेलेका टोनी हागन लामो समय नेपाल बसेका थिए। बुबाकै काम र रुचिलाई पछ्याउँदै डा क्याथ्रिन नेपालको दुरदराजमा स्वास्थ्य लगायतका सामाजिक सेवामा सक्रिय रूपमा लागिरहेकी छन्।
डा क्याथ्रिन पेसाले हाडजोर्नी विशेषज्ञ हुन्। उनको विज्ञताको क्षेत्र हात सर्जरीमा छ। उनी आफूले जानेको सिप र अन्य विज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीको टोली लिएर नेपालका दुर्गम जिल्लामा सेवा प्रदान गर्दै आइरहेकी छन्।
डा क्याथ्रिनले नेपालका दुरदराजमा विज्ञ डाक्टरसहितको उपचार सेवा दिन थालेको ९ वर्ष भइसकेको छ। यसबीच उनले हजारौंको घाउमा मल्हमपट्टी लगाइसकेकी छन्।
फागुनमा नेपाल आएको खबरसँगै स्वास्थ्यखबर टोलीले उनीसँग नेपालसँगको नाता, नेपालमा उनले गरिरहेको काम लगायतका विषयमा कुराकानी गर्न समय मिलाएको थियो। कुराकानीका क्रममा स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलले ‘नेपालमा उपचार गरेका बिरामीमध्ये तपार्इंको सम्झनामा कोही त्यस्तो बिरामी छ?’ भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले ती बालिकालाई सम्झेकी थिइन्।
डा क्याथ्रिनको टिमले जुम्ला, हुम्ला, जाजरकोट, बझाङ, बाजुरा, संखुवासभा, रसुवा, ताप्लेजुङ लगायतका जिल्लामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ। यस पटक उनी संखुवासभामा ७ दिन बसेर फर्केकी हुन्।
नेपालको डाडाँकाडाँमा पुगेर गरिब बिरामीको सेवा गर्न पाउँदा उनलाई निकै सन्तुष्टि मिल्छ। भन्छिन्, ‘वर्षौंदेखि रोग पालेर बसेका बिरामीलाई उपचार गरेर निको बनाउन पाउँदा अत्यन्तै खुसी लाग्छ। उपचारपछि बिरामीको अनुहारमा देखिने खुसीले छुट्टै आनन्द प्रदान गर्छ।’
क्याथ्रिनको नेपाल नाता
डा क्याथ्रिनको नेपाल नाता भनेको उनको बुबासँग जोडिएको छ। बुबासँगै उनी पनि ६७ वर्षअघि नेपाल आएकी थिइन्। सन् १९५२ मा उनी नेपाल आउँदा भर्खरै ३ वर्षकी थिइन्। टोनी हागन सन् १९५० मा नेपाल आएका थिए। त्यसपछि उनी नेपालको गाउँ–गाउँमा पुगिन्।
‘सानै उमेरमा पहिलो पटक नेपाल आएका कारण त्यसबेलाको नेपालका विषयमा मलाई कुनै जानकारी छैन,’ उनले भनिन्, ‘तर म आउँदा बुवाले खिचेका नेपालको फोटो र भिडियोहरू भने अझै सुरक्षित छन्। त्यसबेलाका तस्बिर र भिडियो हेर्दा नेपालमा अहिले धेरै परिवर्तन भइसकेको छ।’
सन् १९५२ मा नेपाल आएर डेढ वर्ष बसेर फर्केकी क्याथ्रिन त्यसपछि १३ वर्षको हुँदा पुनः नेपाल आइन्। उक्त समयमा उनी एक वर्ष नेपाल बसेकी थिइन्। त्यतिबेलाका केही कुरा भने उनको सम्झनामा अझै पनि ताजा छ। यहाँको भौगोलिक बनावट, हावापानी, हिमाल र मिलनसार मानिसहरूले उनलाई आकर्षित गरेको थियो।
नेपालबारे उनलाई बुबा टोनीले धेरै कुरा सुनाइरहन्थे। सन् १९९० को दशकपछि भने क्याथ्रिन र बुबा टोनीबीच नेपालका विषयमा लामो कुराकानी नै हुन थल्यो। टोनी नेपालमा रहेको समयमा क्याथ्रिन पटक–पटक भेट्न आउने गर्थिन्। ‘नेपालका बारेमा बुबा त मेरा लागि इन्साइक्लोपेडिया नै हो,’ उनले भनिन्, ‘उहाँले नेपालको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अभाव, अशिक्षाका विषयमा सुनाउँदा त्यहाँ गएर सेवा गर्न मन लागिरहन्थ्यो।’
नेपालमा स्वास्थ्य शिविरको सुरुवात
डाक्टर भएको नाताले क्याथ्रिनलाई नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने भित्री इच्छा थियो। तर, उनी कसरी गर्ने भन्ने निर्णयमा पुग्न सकिरहेकी थिइनन्। कामको सिलसिलामा उनी एक पटक जर्मनी पुगेकी थिइन्। त्यहाँ उनले नेपाली डाक्टर केशव जोशीलाई भेटिन्। डा जोशीले नेपालका गाउँ–गाउँमा शिविर चलाउने गरेको सुनाए। त्यसपछि डा क्याथ्रिन आफू पनि नेपालमा गएर उपचारमा सरिक हुने निर्णयमा पुगेकी हुन्। सोही अनुसार ९ वर्षदेखि उनले नेपालका दुर्गम क्षेत्रमा पुगेर निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहेकी छन्। दुर्गम जिल्लामा हाडजोर्नीसँग सम्बन्धित विशेषज्ञ शिविरमार्फत धेरैले नयाँ जीवन पाएका छन्।
मेट सोलुसनकी अध्यक्ष हुन् क्याथ्रिन। सोही संस्थामार्फत उनी नेपालमा निःशुल्क स्वास्थ्य शिविर चलाउँछिन्। उनले काठमाडौं जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पतालमार्फत दुर्गममा शिविर लैजाने गरेकी छन्।
दुर्गमका दुःख
नेपालका दुर्गम स्थानमा विशेषज्ञ डाक्टरसहितको शिविर चलाउन निकै कठिन रहेको डा क्याथ्रिन बताउँछिन्। ‘सुरुका वर्षमा त औषधि, उपकरण लगायतका सामान दुर्गममा लैजान निकै कठिन परेको थियो,’ उनले विगत सम्झँदै भनिन्, ‘कतिपय स्थानमा त सामान बोकेर, झुन्ड्याउँदै समेत लानुपरेको थियो। अहो, त्यो समय निकै कठिन थियो।’
हुम्लामा सामान लैजाने समयमा सबैभन्दा कठिन भएको उनको अनुभवले बोल्छ। बिरामीलाई चाहिने अक्सिजनको सिलिन्डर प्लेनले लैजान नमानेपछि निकै समस्या परेको उनले सुनाइन्। तर, अहिले यो विषयमा नेपाल अर्थोपेडिक अस्पतालमा अनुभवी भइसकेको क्याथ्रिनले बताइन्।
‘९ वर्षको अनुभवले धेरै कुरा सिकाइसकेको छ,’ उनले भनिन्, ‘फेरि अहिले यातायातको पहुँच पनि बढिसकेको छ। तर, समय–समयमा पहिरो जाने हुँदा कहिलेकाहीँ समस्या भने पर्छ।’
उनका अनुसार नेपालको दुर्गम क्षेत्रमा घर टाढाटाढा हुने, स्वास्थ्य संस्थामा आउन नचाहने, रोग तथा समस्या भए पनि लुकाएर राख्ने, अशिक्षा, स्वास्थ्य चेतनाको कमी लगायतका कारण मानिस ले निकै दुःख पाइरहेका छन्।
‘स्वास्थ्य संस्थामा उपचारका लागि आउन पनि बिरामीले एक÷दुई दिन हिँड्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘मुस्किलले हिँडेर आएकाले पनि जनशक्ति तथा अन्य सेवासुविधा नहुँदा उचित उपचार पाउन सक्ने अवस्था छैन। यस्तो अवस्थामा हाम्रो शिविरले धेरैलाई फाइदा पुर्याएको छ।’
दुर्गमका मानिसले स्वास्थ्य संस्थामा औषधि तथा जनशक्तिको अभाव हुने गुनासो डा क्याथ्रिनलाई पनि गर्ने गर्छन्। त्यसकारण उनीहरूले चलाएको शिविरमा आउने धेरै बिरामीले ढाड दुखेको, जोर्नी दुखेको, ज्वरो, टाउको दुखेको, पखाला लगायतका समस्याको औषधि एक वर्षसम्मका लागि पुग्ने गरी दिनुस् भनेर माग्नेसमेत गरेका छन्।
टर्च बालेर शल्यक्रिया
दुर्गममा शल्यक्रियासहितको शिविर सञ्चालन गर्दा क्याथ्रिनले धेरै तितामिठा अनुभव बटुलेकी छन्। दुर्गमका दुःखसँग प्रत्यक्ष साक्षात्कार गरेकी उनले रातको समयमा टर्च बालेर पनि बिरामीको शल्यक्रिया गरेकी छन्। ‘जिल्ला अस्पतालमा पर्याप्त सेवासुविधा नहुँदा हामीले टर्च बालेर समेत शल्यक्रिया गर्नुपरेको थियो,’ उनले भनिन्, ‘बत्ती नभएको स्थानमा जेनेरेटर त हुन्थ्यो। तर, ती काम गर्ने अवस्थामा हुँदैन थिए। त्यस्तो बेलामा हामीसँग टर्च बाल्नुबाहेक विकल्प थिएन।’
जाजरकोटमा शल्यक्रिया गर्ने क्रममा पानी नभएर धेरै दुःख भोगेको समेत उनले सुनाइन्। ‘शल्यक्रिया गर्नका लागि बिरामीहरू लाइनमा थिए। तर, हामी भने पानी खोज्दै बाहिर जानुपर्ने अवस्था थियो,’ उनले शिविरमा भोगेको समस्या सुनाउँदै भनिन्, ‘बल्लबल्ल स्थानीयको सहयोगमा टाढाबाट पानी ल्याएर शल्यक्रिया गर्नुपरेको थियो।’
ताप्लेजुङमा शल्यक्रियापछि बिरामीलाई राख्ने कोठा नहुँदा उनीहरूले स्टोरको ढोका फुटाएर भुइँ र भित्ता सफा गरेर बिरामीलाई सुताएका थिए। भन्छिन्, ‘बिरामीलाई रातभरि अस्पतालमा राख्नुपर्ने भयो। तर अस्पतालमा कोठा नै थिएन। त्यसपछि हामीले अस्पतालमा भएका कोठा हेर्ने क्रममा खाली रहेको स्टोर कोठा देख्यौं। तर साँचो कोहीसँग रहेनछ। त्यसपछि ढोका फोडेर भित्र गयौं। भित्र त निकै फोहोर र झ्याल पनि फुटेको रहेछ। हामीले सबै सफा गरेर भुइँमा म्याट ओछ्यायौं अनि झ्यालमा पत्रिकाले टालेर बिरामीलाई सुत्ने व्यवस्था गर्यौं।’
दुर्गमका स्वास्थ्य संस्थालाई सुविधासम्पन्न नगराउँदा शल्यकक्षमा झिँगा भन्केका दृश्यसमेत उनले देखिन्। ‘शल्यकक्ष त सफासुग्घर र संक्रमणबाट मुक्त हुनुपर्ने हो,’ उनी भन्छिन्, ‘तर, यहाँका कतिपय शल्यकक्षमा त झिँगा भन्केका थिए। हामीले त्यसलाई सफासुग्घर बनाउनेदेखि सुविधा थप गर्ने काममा पनि सहयोग गरेका छौं।’
दुर्गममा उपचार सेवा दिँदा उनले भोगेको अर्को समस्या शल्यक्रिया गरेका बिरामी फलोअपका लागि नआउनु पनि हो। कतिपय बिरामी फलोअपका लागि अस्पतालमा आउनुपर्ने हुन्छ। ‘त्यही अनुसारको व्यवस्थापन पनि गरेका हुन्छौं। तर, एक पटक उपचार गरेर गएका बिरामी फलोअपमा नै आउँदैनन्,’ उनको अनुभव यस्तो पनि छ।
दुर्गमका संस्थामा सेवा थप्न सुझाव
स्विटजरल्यान्डको सुविधासम्पन्न जीवन भोगेकी क्याथ्रिनले नेपालका दुर्गममा विगतमा भोगेका दुःख र कष्ट भने हरेक वर्ष कम हुँदै गएको छ। यातायातको सुविधासँगै बढ्दै गएको शैक्षिक जागरणले स्वास्थ्य क्षेत्रमा सुधार आइरहेको उनी बताउँछिन्। ‘पहिलाका तुलनामा त अहिले स्वास्थ्य संस्थामा धेरै सुधार आइरहेको छ,’ उनी भन्छिन्, ‘तर सुधारको गति भने सुस्त छ।’ सुस्त गतिमा भए पनि धेरै जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीमा क्रमशः सेवा सुविधा थपिँदै गएकोमा उनी खुसी छिन्।
उनी दुर्गमका बिरामीलाई तत्कालै उपचार सेवा दिन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको क्षमता बढाउन सुझाव दिन्छन्। भन्छिन्, ‘दुरदराजमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति र पूर्वाधार दिने हो भने धेरै नेपालीले समयमा नै उपचार पाउँछन्।’
सामान्य उपचारका लागि पनि दुर्गमका बिरामीले हजारौं खर्च गरेर सहरी क्षेत्रमा आउनुपर्ने अवस्था अहिले पनि छ। उनी दुरदराजका अस्पताललाई सुविधासम्पन्न बनाउन सुझाउँछिन्।
‘साना अस्पतालहरूमा राम्रो सेवासुविधा भयो भने प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी, पोलेका डढेका धेरैले नयाँ जीवन पाउने थिए,’ उनले भनिन्, ‘यस्ता समस्याको उपचारका लागि दुर्गमका बिरामीले धेरै टाढा जानुपर्ने र कतिले त बाटोमा नै ज्यान गुमाउनुपर्ने अवस्था छ। त्यसकारण साना अस्पतालमा पनि यी सेवा सुविधा हुनुपर्छ।’
डा क्याथ्रिनका अनुसार दुर्गमका स्वास्थ्य संस्थाको सुधार गर्दै जाँदा फिजियोथेरापी, पुर्नस्थापना केन्द्रहरूमा सेवासुविधा पनि थप्दै जानुपर्छ। ‘गाउँका धेरै बिरामीलाई फिजियोथेरापीको आवश्यकता छ,’ उनले भनिन्, ‘तर ती स्थानमा फिजियोको सुविधा नहुँदा उनीहरू ती समस्या बोकेर बस्न बाध्य छन्। त्यसकारण अब यतातर्फ पनि सोच्ने बेला आइसकेको छ।’
दुर्गमका बिरामीको सेवाका लागि उनीहरूले निक सामाइन्स इन्स्टिच्युटसँग सहकार्य गरेर पनि काम अगाडि बढाइरहेको जानकारी दिइन्।
नेपालको कामले स्विट्जरल्यान्डमा अवार्ड
नेपालको स्वास्थ्य क्षेत्रमा गरेको योगदानलाई कदर गर्दै डा क्याथ्रिनले स्विटजरल्यान्डमा सम्मानसमेत पाएकी छिन्। सन् २०१५ मा उनलाई सामाजिक काममा योगदान गरेको भन्दै अवार्ड प्रदान गरिएको थियो।
‘उक्त अवार्डले मेरो काममा थप हौसला मिलेको छ। तर, मेरो लागि नेपाली जनताको अनुहारमा देखिएको मुस्कान नै सबैभन्दा ठूलो पुरस्कार हो,’ स्वास्थ्यखबरसँगको करिब एक घन्टाको कुराकानीको अन्त्यमा उनको अनुहारमा चमक छायो, ‘यसका लागि म नेपालीको सेवामा निरन्तर खटिरहनेछु।’