वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा अनिल बरालले हालसालै 'एउटा खाता' नामक गीत सार्वजनिक गरेका छन्। गीत-संगीतमा रुचि राख्ने डा बराल स्वास्थ्यखबरको शनिबारीय स्तम्भ 'जीवनशैली'का आजका अतिथि बनेका छन्। उनीसँग बुनु थारुले गरेको कुराकानी :
गीतबाहेक अरु कुन साहित्यिक विधामा कलम चलाउनुहुन्छ?
गीत लेखनबाहेक कविता, कथा, लघुकथा, निबन्धहरु पनि लेख्छु। कहिलेकाहीँ राष्ट्रियस्तरका पत्रपत्रिकामा आफ्ना रचना प्रकाशित गर्ने गरेको छु।
लेखनको भोक कहिलेदेखि जाग्यो?
म सानैदेखि कविता तथा गीत कोर्न मन पराउँथे। पहिलो पटक कक्षा ४ मा 'इच्छा’ नामक कविता लेखेको थिएँ। जुन त्यो स्कुलको म्यागेजिनमा छापिएको थियो। विद्यालय स्तरमा भाषण गर्थें। कार्यक्रम चलाउँथेँ। गीत-कविता लेखेबापत पुरस्कृत पनि भएको छु।
साहित्यक लेखनमा सानैदेखि सक्रिय हुनुहुँदो रहेछ। अहिले मात्रै गीत रेकर्ड किन त?
मलाई साहित्यमा रुचि त पहिलादेखि नै हो। गीतहरु पनि लेख्थेँ। तर मेडिसिन पढ्न थालेपछि १५-२० वर्ष त मेरो सोख सुषुप्त अवस्थामा नै रह्यो। त्यतिबेला करिअर बनाउनका लागि नै सोचियो। अहिले करिअर एकप्रकारले स्थिर भयो र पढाइ पनि लगभग सकियो। यसपछि अब गीतसंगीतमा लाग्ने मौका मिलेको छ। फेरि संगत पनि यस्तो नै भयो। अब आफ्ना लेखिएका गीतहरु संगीतमा ढाल्ने कोसिस जारी रहनेछ।
अहिलेसम्म कति वटा गीतहरु लेखिसक्नुभएको छ?
डेढ-दुई सय गीत लेखिसकेको छु। एक–दुई वटा किताब नै प्रकाशन गर्ने पनि सोचिराखेको छु।
गीत कति बेला फुर्छ? कुन समयमा लेख्नुहुन्छ?
कहिलेकाहीँ शब्दहरु दिमागमा खेलिरहेका हुन्छन्। त्यसलाई कतिबेला उतारिहालौं जस्तो लाग्छ। म कापी कलममा भावनाहरु कोर्दिन। मोबाइलमै लेख्छु र मनपरेको खण्डमा पोस्टिन्छु। म आफ्नो लन्च ब्रेककको बेलामा लेख्छु।
साहित्यिक सिर्जनामा लाग्ने प्रेरणा कोबाट मिल्यो?
कक्षा ४ मा कविता कोर्दा हामीलाई पढाउने नेपाली शिक्षकले स्याबासी दिनुभयो। यसरी लेख्नुपर्छ भनेर साथीहरुमाझ देखाउनुभयो। म निकै खुसी थिएँ। त्यसपछि झन् हौसला मिले जस्तो भयो। म पोखरामा हुर्किँएको मान्छे, त्यहाँको वातावरण र परिवेश नै साहित्यिक जस्तो लाग्छ।
तपाईंको सिर्जनाको पहिलो पाठक को हो?
मैले लेखिसकेपछि कहिलेकाहीँ नजिकका साथीभाइहरुलाई देखाउँछु। श्रीमती त भइहालिन्। धेरैजसो त फेसबुकमा नै पोस्ट गर्छु। त्यहीँबाट अरु साथीहरुले पनि हेर्छन्। कमेन्ट गर्छन्। मलाई साथीभाइमाझ फेसबुके कवि भनेर चिन्थे, अहिले गीतकार भन्न थालेका छन्।
गीत रेर्कडिङ गर्ने सोचचाहिँ कसरी आयो?
फेसबुकमा कविता राख्दाराख्दै धेरै साथीहरुले यी त गीतहरु पनि बन्छन् भन्ने हौस्याइरहन्थे। यसपटक गीतकारहरुसँग पनि सम्पर्क भयो। 'एउटा खाता’ गीत संगीता प्रधानले गाउनुभएको छ। उहाँको श्रीमान् किशोर राना मेडिकल चेकअपका लागि मेरोमा आइरहने। मैले उहाँको फिल्म सिमारेखा हेरेको छु। मन पर्छ। भेटेको बेला गीत-संगीतका गफहरु भइराख्ने गर्थ्यो। एकदिन फेसबुकमा राखेको बेला संगीता म्यामले यो रचना त गीत बनायो भने राम्रो हुन्छ भन्ने सल्लाह दिनुयभो। संगीतमा लयबद्ध भएपछि मलाई एकदम आनन्द आयो। गीत रेकर्ड गराउनुपर्छ जस्तो लाग्यो। संगीता म्यामको स्वरमा नै रेकर्ड भयो र भिडियो पनि बन्यो।
कस्तो प्रकारको गीत लेख्न रुचाउनुहुन्छ?
लेख्ने विधा त सबै मिश्रित नै हुन्छन्। सबैमा लेखिन्छ। तर आफू चिकित्सक भएको नाताले बिरामीसँग धेरै नै नजिक भइन्छ। त्यसैले मेरा प्राय: गीतहरु मानवीय सम्वेदनासँग जोडिएका हुन्छन्। अहिलेको गीतमा पनि धेरै पीडा बिरामीहरुकै नै हो। व्यक्तिगत भोगाइलाई पनि उतार्छु। देशभक्ति पनि मन पर्छ। म चाहिँ प्रेम, वेदनामा लेख्न सक्छु जस्तो लाग्छ।
गीत पनि गाउनुहुन्छ?
गुनगुनाउन मन पर्छ। साथीभाइसँग विभिन्न जमघटमा गाइन्छ।
कस्ता प्रकारका गीतहरु मन पर्छन्?
मलाई विशेषतः रोमान्टिक, स्लो मेलोडी गीतहरु मन पर्छन्। तारादेवी, नारायण गोपालका गीतहरु पहिला रेडियो नेपालमा खुबै सुन्थेँ। अहिलेका गायक स्वरुपराज आचार्य, कालिप्रसाद बाँस्कोटा, शिव परियारका लगायतका गीतहरु पनि राम्रा लाग्छन्।
मनपर्ने गीतकार?
मलाई यादव खरेल, दिनेश अधिकारी आदि मन पर्छन्।
भविष्यमा गीत रेकर्ड गराइरहने सोच छ?
भर्खर मात्र आएको गीतबाट मैले 'हाम्रो खाता' नामक युट्युब च्यानल पनि सुरु गरिसकेको छु। अरु पनि छन् पाइपलाइनमा। अब चाहिँ यसमा लाग्ने नै भनेर सोचेको छुँ। चिकित्सा पेसासँगै यो पनि सँगसँगै लाने सोच बनाएको छु। टिम बनाउनुपर्नेछ। सबै कुराको तारतम्य मिल्यो भने सायद दर्शकहरुले एक-दुई महिनामा नयाँ गीत सुन्न पाउनुहुनेछ। (हाँस्दै) लगानीकर्ताको खोजीमा छु।