डा भोजराज अधिकारी भरतपुर अस्पतालमा कार्यरत छन्। पेसाले चिकित्सक भएपनि उनी कविता लेख्न मन पराउँछन्। उनै अधिकारीसँग स्वास्थ्यखबरको शनिबासरीय स्तम्भ जीवनशैलीका लागि बुनु थारुले गरेको कविता संवादः
कहिलेदेखि कविता लेख्न सुरु गर्नुभएको हो?
कविता लेखन मेरो रुचिको विधा हो। मैले कक्षा २ देखि कविता लेख्न सुरु गरेको हो।
पहिलो कविता कस्तो थियो?
मलाई ठ्याक्कै शीर्षक त याद छैन तर मैले त्यो कविता आर्थिक विभेदको विषय लिएर लेखेको थिएँ।
तपाईंका कवितामा कस्ता विषयवस्तु पाइन्छन्?
मेरा कवितामा विशेषतः सामाजिक परिवर्तन, जातीय विभेद, आर्थिक विभेदका विषय पाइन्छन्। कविताले सामाजिक परिवर्तन ल्याउन सक्छ भन्ने ध्येयले मलाई कविता लेख्न र वाचन गर्न मन लागेको हो जस्तो लाग्छ।
कविता कुन शैलीमा बढी लेख्नुहुन्थ्यो?
म प्राय पद्य कविता लेख्थें सानोमा। पद्यमा लेखिएको रामायणका सबै श्लोक मलाई याद हुन्थ्यो। २०४६ मा बहुदल आएपछि भने मैले कविता शैलीमा केही फरकपन ल्याएँ। गद्यमा लेख्न थालेँ।
कविता लेखनप्रति कसरी रुचि जाग्यो?
मलाई सानैदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविता मन पर्थ्यो। नेपाली किताबमा समेटिएका कथा ,गीतभन्दा मलाई कविता पढ्न औधि मन पर्थ्यो। यसले मलाई भित्रबाटै प्रभाव पारेको जस्तो महसुस हुन्थ्यो। स्कुलमा हरेक शुक्रबार अत्तिरिक्त क्रियाकलाप हुन्थ्यो। नाच, गीत, खेलकुद, कविता आदि। म कविता लेख्न र वाचन गर्थें। वाचनको सबैले तारिफ अहिले पनि गर्छन्।
पुरस्कार हात पार्नुभएको छ कवितामा?
म स्कुलमा फर्स्ट विद्यार्थी। पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा पनि भाग लिनुपर्छ भन्ने लाग्थ्यो। म हाजिरीजवाफ, वक्तृत्वकला, सबैमा भाग लिन्थें। कविता लेखन, निबन्ध लेखन प्रतियोगितामा म धेरै पटक पुरस्कृत भएको छु। धेरैमा प्रथम स्थान हासिल गरेको छु।
कविता बाहेक अरु कुन विधामा रुचि छ?
कविताबाहेक गीतमा रुचि लाग्छ। कहिलेकाहीँ कोर्छु पनि। लेख्नभन्दा गाउन मनपर्छ गीत चाँहि। विभिन्न कार्यक्रम तथा माहोलमा गाउने गरेको छु।
कति वटा कविता संकलनमा छन्? भविष्यमा केही प्रकाशन गर्ने सोच छ?
कविता २ दर्जनभन्दा बढी संकलनमा छन् होला। मसँग आफूले भोगेका अनुभव, कवितामा संकलन गरिएको छ। भविष्यमा पुस्तकको आकारमा प्रकाशन गर्ने सोच छ।
०००
आफूले लेखेका कवितामध्ये उनलाई मायाप्रेमका कविता बढी मन पर्छन्। त्यसमा आफ्नी श्रीमतीलाई समर्पित गरी लेखेको कविता झनै मन पर्छ। उनको रोजाइमा हामीले सोही कविता यहाँ समावेश गरेका छौं।