फिचर

न्यूरो सर्जनको ४३ वर्षे दोस्ती

हेल्थ असिस्टेन्टको पढाइ सकिएपछि विद्यार्थीहरूलाई कलेजले तालिमका लागि बाराको पथलैया पठाउँछ। हेटौंडा घर भएका एक विद्यार्थी काम विशेषले त्यहीँ झर्छन्। तर, केहीबेरमै त्यहाँ अनौठो दृश्य देखिन्छ। साथीहरूसँग छुट्टिनुपर्‍यो भनेर उनी सडकको डिलमा बसेर क्वाँक्वाँ रुन थाल्छन्।

खै कुन भावावेशले हो, बसमा रहेका अरू साथीको आँखा पनि रसाइहाल्छ। एकछिन स्तब्ध बनेको बसभित्रको वातावरणमा त्यतिखेर उत्साह भरिन्छ, जब अलिपर पुगेपछि सबै साथी गललल्ल हाँस्न थाल्छन्।

सुन्दा कुनै आख्यानको प्लटझैं लाग्ने यो कहानी हो, २०३७ सालतिरको। 

बसले रफ्तार लिइसक्दा हेटौंडा घर भएका गोपाल रमण शर्मा त्यहीँ छुटिसकेका हुन्छन्। बसमा हुने अरू साथीहरू हँसीमजाक गर्दै गन्तव्यतिर हुइँकिन्छन्। ‘त्यो दिनको सम्झना अहिले पनि हुन्छ,’ डा वसन्त पन्त भन्छन्, ‘गोपालसँगको भेटमा यो प्रसंग निस्कियो भने हामी दिल खोलेर मज्जाले हाँस्छौं।’

त्यस्ता कैयौं यात्रा सँगसँगै गरिसकेको छ, गोपाल–वसन्तको जोडीले। २०३३ सालमा त्रिवि शिक्षण अस्पतालमा हेल्थ असिस्टेन्ट पढ्ने क्रममा भेट भएका थिए, उनीहरू। त्यसयता समयले ४३ वटा हिउँद–बर्खा कटायो, उनीहरूको ‘यार’ सम्बन्धमा कुनै धूमिलपन देखिएको छैन।

नेपाली चिकित्सा क्षेत्रमा निरन्तर सेवा पुर्‍याइरहेका यी दुई डाक्टरको पेसागतभन्दा पारिवारिक र व्यक्तिगत सम्बन्ध लोभलाग्दो छ।

उत्कृष्ट एक सर्जनको नाम लिँदा कसको लिने ? डा गोपाल कि डा वसन्त ? धेरैलाई गाह्रो पर्छ। यत्ति चाहिँ पक्का हो, नेपालमा न्युरो सर्जनमा नछुट्ने नाम हुन्, गोपाल रमण शर्मा र वसन्त पन्त। 
डा गोपाल हाल मेडिसिटी अस्पताल र दीर्घायु गुरु अस्पतालमा आबद्ध छन् भने डा वसन्त अन्नपूर्ण न्युरो अस्पतालमा। स्वास्थ्यखबरले यी डाक्टरद्वयको ‘अफबिट’ स्टोरी तयार पारेको छ।

फिल्म हेर्दा दाइ आएपछि...
हेटौंडाबाट आएका गोपाल र गोरखाबाट आएका वसन्तको पहिलो भेट हुन्छ, त्रिवि शिक्षण अस्पतालमा। कलेजका सुरुवाती दिनमा ‘हाई–हेल्लो’मै सीमित मित्रता कसरी छिट्टै यति प्रगाढ बन्यो, दुवै शब्दमा भन्न सक्दैनन्।

त्यतिबेला आइएस्सीको साटो ‘हेल्थ असिस्टेन्ट’पढाइ हुन्थ्यो। गोपाल बस्थे गौशाला, वसन्त बालाजु। कलेज बिदा हुनासाथ भेटघाट गर्ने, व्यक्तिगत कुराहरू साटासाट गर्ने, फिल्म हेर्ने क्रम निरन्तर चलिरह्यो। 

एकदिनको घटना भने वसन्तको दिमागमा ताजै रहेछ। 

त्यति बेला धेरै हलहरू हुँदैन थिए। एकदिन गोपाल र वसन्तले प्लान बनाए, सिडी किनेर लाने अनि अर्को साथीको डेरामा गएर मज्जाले फिल्म हेर्ने। 

‘पढ्न भनेर झ्याल–ढोकाका पर्दा लगाएर भित्र अँध्यारोमा फिल्म हेरिरहेका थियौं। त्यही बेला साथीको दाइ आइपुगे,’ वसन्त भन्छन्, ‘आज चैं नराम्रोसँग गाली खाइने भो भनेर निक्कै डरायौं। तर, उनलाई गोपालले चिन्ने रहेछ।त्यो स्थितिलाई साम्य बनाउन गोपालले सहजकर्ताको भूमिका खेल्यो। हामी गाली खानबाट जोगियौं।’

शान्त गोपाल, बाठो वसन्त
मुहम्मद अलीले भनेका छन्, ‘मित्रता यस्तो चिज हो जसलाई परिभाषित गर्न निकै गाह्रो छ। तर जबसम्म तिमी मित्रताबारे बुझ्न सक्दैनौ, जीवनमा केही पनि सिक्न सक्दैनौ।’

जीवनका दौरानमा अनेकौं उचारचढावहरू आउनु अस्वाभाविक होइन। तर, कुन तन्तुले जोडिरहेको होला ४३ वर्षे मित्रतालाई?

‘मानवीय स्वाभाव हो, सामान्य झगडा त परिहाल्छ,’ दुवैको उस्तै भनाइ छ, ‘तर दुस्मनी नै सिर्जना हुने गरी कहिल्यै त्यस्तो भएको छैन। नत्र कसरी हाम्रो दोस्ती यसरी जमिरहन्थ्यो र।’

उमेरले ६ दशक पार गरेका यी दुवै चिकित्सकहरू आफूलाई एक–अर्काको प्रतिस्पर्धी मान्छन्। वसन्त भन्छन्, ‘तपाईंले प्रतिस्पर्धाको भावना विकास गर्नुभएन भने त अगाडि बढ्नै सक्नुहुन्न नि।’

यी दुवै स्वार्थपूर्ण प्रतिस्पर्धा होइन कि स्वस्थ प्रतिस्पर्धा गर्न रुचाउँछन्। त्यसैले प्रतिस्पर्धा गर्दा सहयोगको भावना छ। चित्त नबुझेका कुरा फ्याट्टै भनिदिन्छन्। त्यति मात्र होइन एक–अर्कालाई सिफारिससमेत गरिदिन्छन्।

गोपालले शल्यक्रिया गर्न ठिक परेको कतिपय बिरामी ‘वसन्तसँग शल्यक्रिया गरूँ कि नगरूँ’ भनेर सोध्दा पनि रहेछन्।‘त्यसबेला राम्रो डाक्टर हो, तपाईंको इच्छा छ भने गोपालसँगै गराए पनि हुन्छ’ भनेर जवाफ दिन्छु,’ वसन्त सुनाउँछन्।

आफ्नो जिम्मेवारी र कामको व्यस्तताले नियमित भेट जुरिहाल्दैन। तर, महिनाको एक–दुईचोटि भेटघाटको अवसर जुटिहाल्छ। फोनमा कुराकानी हुने त भइहाल्यो। ‘कुराहरू सेयर भइरहेको हुन्छ। पारिवारिक भेटघाट पनि उत्तिकै सौहार्दपूर्ण छ,’ गोपाल भन्छन्, ‘दुवै परिवारबीच भेटघाट हुने, आफ्ना कुरा राख्ने चलिराखेकै हुन्छ।’

गोपालको नजरमा वसन्त‘बाठो’ हुन्। 

‘ऊ पहिलादेखि नै अलि साहसिक खेलमा रुचि राख्थ्यो। माउन्टेनियिरङ, टे«किङ, साइक्लिङ मनपराउने,’ वसन्तबारे उनले थपे, ‘ऊ खुला हृदयको बाठोमान्छे हो।’

वसन्तले भने गोपाललाई शान्त र परिपक्व व्यक्तित्वको रूपमा बुझेका छन्। ‘सबैभन्दा मनपर्ने पक्ष नै उसको कहिल्यै नरिसाउने बानी,’ वसन्तले हाँस्दै भने, ‘यत्तिका वर्षसम्म ऊ रिसाएको मलाई याद छैन।’

५ वर्षपछिको त्यो भेट 
वसन्त पढाइमा सधैं अब्बल। एमबिबिएस पढ्नेबेला सबैमा टप गरेका थिए। गोपाल पनि पढाइमा नराम्रो होइनन्। दुवैले एमबिबिएस राम्रै अंक लिएर पास गरे। 

एमबिबिएस सिध्याएपछि वसन्त पुगे वीर अस्पताल। जहाँ डा उपेन्द्र देवकोटाको जुनियर डाक्टरको रूपमा काम गर्ने मौका पाए। सन् १९९० मा उनी तालिमका लागि जापान गए। 

एमबिबिएस सकेर गोपाल भने कालिकोट गए। दुर्गम जिल्लाको अनुभव बोकेर उनी वीर अस्पताल नै फर्किए। जनरल सर्जरीमा रुचि थियो उनको। तर, दरबन्दी खाली नभएकाले उनको जिम्मेवारी तोकियो, न्युरो सर्जरी।

‘जनरल सर्जरीमा ६ महिना काम गरेपछि मलाई न्युरो सर्जरीमा पो रस बस्न थाल्यो,’ उनी हाँस्दै सुनाउँछन्, ‘पछि त यसबाहेक केही देख्नै छोडेँ।’

झन्डै ३ वर्ष काम गरेपछि गोपाललाई तालिमका लागि पाकिस्तान जाने अवसर आयो। त्यतिबेला ५ वर्षपछि गोपाल–वसन्तको भेट भयो न्युरोसर्जरीको सम्मेलनमा। बसन्त जापानको पढाइ सिध्याएर काठमाडौँबाट सम्मेलनमा भाग लिन पुगेका थिए। 

त्यो थियो १९९७ को कुरा। भेट भएपछि दुवै सँगसँगै बसे। रमाइलो गरी दिन बिताए। ‘ती दिनहरू साँच्चिकै स्मरणीय छन्,’ गोपाल भावुक बन्छन्।

सहयोगी मन 


वीर अस्पताल छँदा गोपाल नर्भिकमा डा उपेन्द्र देवकोटासँग पनि काम गर्थे। पछि उनी ओम अस्तपाल पुगे। ओम अस्पतालमा त्यसबेला मेजर सर्जरीका उपकरणको अभाव थियो। त्यो अवस्थामा वसन्तले निकै सहयोग गरेको उनी सम्झन्छन्। 

‘आवश्यक उपकरण अभाव हुँदा वसन्तले मलाई धेरैचोटि सहयोग गरेको छ,’ गोपाल भन्छन्, ‘त्यतिमात्र होइन हामीले एक–अर्काले गर्ने सर्जरीमा पनि सहयोग गरेका छौं।’

ओम अस्पतालमा आएका कतिपय क्रिटिकल केसमा वसन्तले सघाइदिने र वसन्तले नभ्याएका बेला त्यसको परिपूर्ति गोपालले गरिदिने उदाहरण प्रशस्तै छन्। 

‘वसन्त जापानबाट पढेर आएकाले जापनिज न्युरो सर्जनसँग राम्रै उठबस थियो,’ गोपाल सम्झिन्छन्, ‘ती सर्जन नेपाल आउँदा मैले पनि उनीहरूसँग सिक्ने वातावरण गोपालले सहजै मिलाइदिन्थ्यो।’

बसन्तले अहिले दुवैले अहिले मिलेर सर्जरी नगरे पनि विभिन्न नयाँ केसमा एक अर्काको सल्लाह सुझाव लिने गरेको बताए।

न्युरो साइन्सलाई अब्बल बनाउने इच्छा 
दुवै न्यूरो सर्जरीका विज्ञ हुन्। गोपाल रगतको नसासम्बन्धी सर्जरीमा पोख्त छन् भने वसन्त फङ्सनल न्युरो सर्जरीमा। 

दुवैको इच्छा छ, न्युरो साइन्समा नयाँ अध्ययन तथा अनुसन्धान गर्नु। ‘सकेसम्म धेरैभन्दा धेरैलाई उपचार गर्ने, आफूले जानेको सिप सिकाउने, नेपालमा न्युरो साइन्समा सब स्पेसालिटी विकास गर्ने,’ आफ्ना इच्छाबारे उनीहरू भन्छन्।

कमजोरी स्विकार्नुपर्छ 
वसन्तको बुझाइमा संसारमा कोही पनि पूर्ण हुँदैनन्। सबैका आफ्ना बलिया पक्ष हुन्छन् र कमजोरी पनि। तर सबैमा एकै विचार नहुन सक्छ। यस्तोमा एक–अर्काको कमजोरी स्विकार्नु नै असल मित्रताको अर्थ हुने बताउँछन् उनी।

न्युरो सर्जन भएका नाताले थुप्रै सर्जरी गरिसकेका गोपाल र वसन्तले एक–अर्काको केशको बारेमा प्रशंसा र बधाई पनि दिन्छन् र सल्लाह सुझाव पनि लिन्छन्।

मित्रता के रहेछ ?
हामीले सोधेको प्रश्नमा वसन्त भन्छन्, ‘जसले सुख–दुःखमा साथ देओेस्, परेको बेला सहयोग गरोस्।’

‘राम्रो साथी भयो भने सामाजिक, आर्थिक, पारिवारिक सबै क्षेत्रमा सहयोग मिल्ने रहेछ। मिल्ने साथीको फाइदा नै यही हो,’ गोपाल गर्वसाथ भन्छन्, ‘वी आर बेस्ट फ्रेन्डस्।’ 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने