फिचर

प्रसूति र स्त्री रोगको भरोसा

बिरामीको चाप धेरै, जनशक्ति र व्यवस्थापन कमजोर

असारको अन्तिम बुधबार दिउँसो थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पताल पुग्दा धादिङकी सरस्वती तामाङ अस्पतालबाट डिस्चार्ज हुने तयारीमा थिइन्। नर्मल डेलिभरीबाट बच्चा जन्माएकी तामाङ घर जाने बेलामा सरकारले उपलब्ध गराएको निःशुल्क सुत्केरी भत्ता बुझ्दै थिइन्। उनले भनिन्, ‘प्रसूति गृहमा राम्रो सेवा पाउँदा निकै खुसी लाग्यो।’

काभ्रेस्थली बस्ने राम खड्का काखमा बच्चासहित घर जानको लागि गेटबाट बाहिरिँदै थिए। उनले श्रीमतीलाई १२ दिनपछि फलोअपका लागि प्रसूति गृह ल्याएका थिए। उनकी श्रीमतीले शल्यक्रिया गरेर बच्चा जन्माएकी हुन्। खड्काले पनि अस्पतालमा डाक्टरको परामर्श अनि भनेजस्तो सेवासुविधा पाउँदा खुसी लागेको बताए।  

प्रसूति गृहको गेट नं २ अर्थात् पूर्वी गेटबाट छिर्दा पोस्ट अपरेटिभ वार्ड देखिन्छ भने त्यहीँको अर्को भवनमा छ, बहिरंग सेवा भवन। जहाँ बिरामीहरु ओपिडी सेवाको लागि लाइन बसेका छन्। त्यही भीडमा थिइन्, टेकुकी रमिला शाही। उनी आफ्नो साथीसँग महिनावारी सम्बन्धमा बुझ्न आएकी रहिछन्। त्यहाँबाट अगाडि बढ्दा  भिडियो एक्स–रेको लागि लामो लाइन देखिन्छ भने दाहिनेपट्टि फार्मेसीमा पनि सेवाग्राहीको उत्तिकै भीड देखिन्छ।

११–१२ बजे डिस्चार्ज गर्ने समय हुँदा धेरै सुत्केरीहरु बच्चा लिएर हिँडेका देखिन्छन्। मुख्य द्वारबाट प्रवेश गरियो भने छेउमा छ, पहेँलो भवन जहाँ कृत्रिम गर्भाधारणको लागि सेवा दिइन्छ। त्यसैगरी सिधै हेर्दा भर्खर नवनिर्मित मुख्य भवन देखिन्छ। मान्छेको चाप उस्तै छ। इमर्जेन्सीमा पनि उत्तिकै भीड देखिन्छ। एम्बुलेन्स आउने क्रम पनि जारी नै छ। 

मुख्य भवन लिएर यहाँ ‘ए’ देखि ‘एफ’ ब्लकसम्म रहेका छन्। 

विसं २०१६ मा खुलेको मुलुकको एकमात्र प्रसूति तथा स्त्री रोग अस्पताल एसियाकै सबैभन्दा धेरै डेलिभरी हुने अस्पताल भनेर दाबी गरिन्छ। ४१५ शय्या क्षमताको अस्पताल भूकम्पले भवन भत्किएपछि ३५० शय्यामा झरेको थियो। भूकम्पबाट भवन भत्किएपछि करिडोर बारेर अझ शैक्षिक भवनमा पनि ओपिडी सेवा सञ्चालन गरिएको थियो। अस्पताललाई स्तरोन्नति गरेर ५०० शय्या पु¥याउने अस्पतालको लक्ष्य रहेको छ।

वार्षिक २३ हजार डेलिभरी 
सरकारी अस्पतालहरुमध्ये राम्रोसँग चलेको र सेवा दिइरहेको अस्पतालका रुपमा चिनिन्छ, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल। यो अस्पतालले वार्षिक २३ हजारभन्दा बढी डेलिभरी र ६ हजारभन्दा बढी मेजर अप्रेसन गर्ने गर्छ। जसमा ७१ प्रतिशतले शल्यक्रिया बिना र २९ प्रतिशतले शल्यक्रिया गरी बच्चा जन्माउँछन्।  हरेक दिन यो अस्पतालबाट ७० देखि माथिको संख्यामा नयाँ बच्चाले संसार देख्छन्  भने ओपिडीमा दैनिक ८०० जनाले उपचार गराउँछन्। इमरजेन्सी कक्षमा दैनिक ९० जना बिरामी आउने गर्छन्। 

प्रसूतिमात्र नभएर स्त्रीसँग सम्बन्धित रोगहरुको पनि यो अस्पतालमा उपचार हुन्छ। किशोरकिशोरी, ओसिएमसी एकद्वार संकट व्यवस्थापन केन्द्र पनि सञ्चालन भइरहेको छ। ओसिएमसी सेवामार्फत हिंसापीडितले एकै ठाउँमा उपचार, सामाजिक, कानुनी परामर्श पाउनुका साथै पुनस्र्थापना लगायतका सेवा लिन सक्छन्। 

नयाँ भवनबाट सेवामा स्तरोन्नति
अस्पतालको मुख्य द्वार प्रवेश गर्नेबित्तिकै देखिन्छ, तीनतले नयाँ भवन। आमाले बच्चा बोकेको आकृति राखिएको सो भवन पहिले चारतले थियो। भूकम्पले भत्काएपछि जापान सरकारले त्यस्तै स्वरुपमा भवन बनाइदिएको छ। गत असार २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भवनको उद्घाटन गरेका हुन्। 

भित्र प्रवेश गर्दा भुइँतलामा देखिन्छ, सूचना कक्ष। महिलाका लागि चेन्जिङ रुम छ। शौचालय अत्याधुनिक छ। धारा सेन्सर जडित छन्। सो भवनको भुइँतलामा एन्टिनेटल वार्ड, लेबर रुम, ३ वटा अपरेसन थिएटर, आकस्मिक कक्ष र सूचना कक्ष रहेको छ। यसले गर्दा गर्भवतीलाई पहिलाभन्दा जोखिम कम भएको देखिन्छ।

त्यसैगरी पहिलो तलामा बर्थिङ सेन्टर छ, जहाँ एकैसाथ १० जना बच्चाको डेलिभरी गर्न सकिन्छ। त्यसका साथै सो तलामा एमआइसियु, पोस्ट अपरेटिभ वार्ड, फार्मेसी र ब्लड बैंक रहेकोे छ। त्यसैगरी दोस्रो तलामा पोस्ट न्याटल वार्ड, स्पेसल बेबी केयर युनिट, नवजात शिशु कक्ष, एनआइसियु रहेका छन्। साथै माथिल्लो तलामा कक्षा कोठाहरु, कन्फरेन्स हलहरु, लाइबे्ररी, प्राध्यापकको कोठाको व्यवस्था गरिएको छ।

पुरानो भवनमा रहेका बेडहरुको विस्तार गरिएको छ। एनआइसियु कक्ष १८ बेडबाट अब ४० बेडको हुने भएको छ भने एमआइसियु ६ बेडबाट १२ बेडमा विस्तार गरिएको छ। एन्टिनेटल वार्डमा १५ बेडबाट ४५ बेडमा विस्तार गरिने भएको छ। त्यसैगरी शल्यक्रिया कक्ष पनि फराकिलो बनाइएको छ। यसअघि सुत्केरी र स्त्री रोगको उपचारका लागि एउटै ठाउँमा शल्यक्रिया कक्ष हुँदा केही साँघुरो थियो। अब छुट्टाछुट्टै शल्यक्रिया कक्ष निर्माण गरिएको छ। 

अस्पतालका निर्देशक डा जागेश्वर गौतम भन्छन्, ‘हामीले नयाँ सेवा दिएका होइनौं, भएको सेवालाई अपग्रेड गरेका हौं, सजिलो बनाएका हौं।’ 

चाप कम गर्न भैंसेपाटीमा क्लिनिक सेवा 
एक मात्र केन्द्रीय प्रसूति तथा स्त्री रोग अस्पताल भएकोले यहाँ बिरामीको धेरै चाप हुने गरेको छ। त्यसलाई अलिकति भए पनि कम गर्न ललितपुरको भैंसेपाटीमा क्लिनिक सेवा सुरु गरिएको छ। 

निर्देशक डा गौतमका अनुसार बिरामीले मुख्य दुई कुरामा गुनासो गर्ने गरेका छन्– भीड र फोहोर। भविष्यमा भैंसेपाटीमा जस्तै ४ वटा स्याटेलाइट अस्पताल सुरु भयो भने चाप घट्छ। 

भैंसेपाटी क्लिनिक शाखा २०७५ जेठ महिनाको १३ गतेदेखि सञ्चालनमा आएको हो। अस्पतालले यहाँ गर्भवती जाँच, ल्याब, स्त्री रोग जाँच, बालरोग जाँच, खोप सेवा, प्राथमिक स्वास्थ्य उपचार, प्याथोलोजी सेवा आदि प्रदान गर्दैआएको छ। श्यामा दीक्षितले ललितपुरको भैंसेपाटी, सैंवु वडा नं २५ मा ४ तले भवनको १५ वटा कोठा दान दिएका थिए।

अस्पतालको उद्देश्यअनुरुप यो घरजग्गामा आउटरिच क्लिनिक सञ्चालन, बर्थिङ सेन्टर सेवा विस्तार तथा मिडवाइफ्रीको प्रयोगात्मक अभ्यासको लागि विस्तार गर्ने लक्ष्य रहेको छ। यहाँ बहिरंग सेवाहरु उपलब्ध छन्। 

चाप बढी, कर्मचारी कम
४१५ बेडको अस्पतालमा काम गर्ने कर्मचारी आठ सय रहेका छन्। तीमध्ये सरकारी कर्मचारी ६८ जना मात्र छन्। अरु सबै समितिका हुन्। अस्पताल डिजिटल प्रविधिमा गइसकेको छ तर त्यसका लागि जनशक्तिको कुनै दरबन्दी छैन। पहिला दैनिक अल्ट्रासाउन्ड ५० वटा गरिन्थ्यो तर अहिले दैनिक २५० देखि ३०० हाराहारीमा यसका सेवाग्राही पुगेका छन्। तर दरबन्दी उही पुरानो छ।

सिटी स्क्यान, मेमोग्राम आदिको सुविधा रहेको छ तर सेवाअनुसार कर्मचारीको अभाव छ। ल्याब भए पनि प्याथोलिजोस्टि, टेक्निसियन, टेक्नोलोजिस्टको दरबन्दी छैन। नेपालको सबैभन्दा धेरै डेलिभरी हुने अस्पतालमा चिकित्सकको दरबन्दी ३५ जनामात्र हुनु दुखद हो। हाल कारार गरी १०० जनाभन्दा बढी चिकित्सकले काम गरिरहेका छन्। 

अहिले नयाँ भवनको सेवा विस्तार भएपछि कर्मचार झन् अपुग हुने बताउँदै डा गौतम भन्छन्, ‘अस्पताल राम्रोसँग चलाउन अस्पतालको पुनःसंरचना गर्नुपर्छ। लोकसेवाबाटै स्थायी कर्मचारी राख्नुपर्छ। समितिले राखेका कर्मचारीलाई पनि स्थायी बनाउने प्रक्रिया गर्नुपर्छ। सुविधा बढ्यो, जनशक्ति अपुग छ।’ 

हाल प्रसूति गृहमा १८२ जना नर्सिङ स्टाफ कार्यरत छन्। हरेक २४ घन्टामा ६० जनाको डेलिभरी हुने गरेको छ, त्यसका लागि पर्याप्त मात्रामा नर्सिङ जनशक्तिको कमी छ। भएका नर्समा पनि ६० जना पनि स्थायी छैनन्। विद्यार्थीहरु र करारमा आएका नर्सहरुले सहयोग पुर्‍याइरहेका छन्। प्रसूति गृहकी नर्सिङ प्रमुख आशालक्ष्मी प्रजापति नर्सिङ जनशक्तिमा कमी भए पनि गुणस्तरमा कहिल्यै नचुकेको बताउँछिन्।

पूर्व नर्सिङ प्रशासक मैयाँ मानन्धर पनि पुरानो दरबन्दी भएका कारण समस्या रहेको बताउँछिन्। उनी भन्छिन्, ‘भूकम्पका बेला व्यवस्थापन गर्न निकै गाह्रो भएको थियो तर पनि हरेस नखाई काम गर्‍यौँ। सरकारले तोकेअनुसार यति बिरामीलाई यति नर्स भनेर छैन। 

टेस्टट्युब बेबी सेवा नयाँ भवनमा सारिँदै 
टेस्टट्युबसम्बन्धी सेवा दिने प्रसूति गृह एकमात्र सरकारी अस्पताल हो। विसं २०७० सालमा प्रसूतिमा आइभिएफ प्रविधि आएको हो। अहिलेसम्म १५४ जनाले उपचार लिएका छन्। डा उषा खाँडका अनुसार २०७२ सम्म १७ औँ ब्याच गरिएकोमा भूकम्पपश्चात २ ब्याच गरिएको थियो। तर त्यति सन्तोषजनक परिणाम आउन सकेन। 

भूकम्पपश्चात टेस्टट्युबको सेवा दिने भवन भत्किँदा सेवा प्रभावित भएको थियो। त्यो भवन भत्किएपछि ओपिडी भवनमा सेवा सञ्चालन गरिएको थियो। तर ठाउँ अभावले सफल हुन सकेन। 

कुपन्डोलमा ३० करोडको लागतमा बनेको भवनबाट सेवा दिने तयारी गरिँदै छ। यसका लागि एक जना चिकित्सक भारतको चेन्नइबाट फेलोसिपका लागि आउँदै छन्। दुई÷तीन महिनाभित्रै सेवा सुरु गरिने डा उषा श्रेष्ठ खाँडले जानकारी गराइन्। २४सै घन्टा ३६५ दिन नै सेवा दिने अस्पतालले जनाएको छ। १ लाख ६० हजारमा टेस्टट्युब बेबीको सेवा उपलब्ध छ। 

आइयुआई सेवा भने २०६३ सालदेखि सुरु भएको हो। अहिले यस सेन्टरमा १० जना कर्मचारी कार्यरत छन्। डा खाँडका अनुसार भवन विस्तार भएपछि थप जनशक्तिको आवश्यकता हुनसक्छ। उनका अनुसार सेवा विस्तार भएपछि थप सेवाग्राही लिने लक्ष्य छ। उनले आइभिएफका लागि १०० जना जति पेन्डिङमा रहेको जानकारी गराइन्। 

अस्पतालको आफ्नै जमिनमा टेस्टट्युब बेबी र प्रमाणपत्र तहको मिडवाइफ्री नर्सिङ कलेजका लागि रु.३० करोड लागतमा भवन निर्माण गरिएको छ। कुपन्डोलमा रहेको सो भवनमा नर्सिङ क्याम्पस तथा आइभिएफ सेन्टर सञ्चालनको लागि तयारी पूरा हुन लागेको छ। 

फोहोरमैलाबाट दैनिक ५० हजार आम्दानी 
फोहोरमैला व्यवस्थापनको पाटोमा प्रसूति गृहले राम्रो काम गरेको छ। बेस्ट अटोक्लेभ मेसिन प्रयोग गरेर फोहोर व्यवस्थापन गरिन्छ। यो मेसिनले फोहोरमा रहेको इन्फेक्सन हटाउँछ। अस्पतालले सिरिन्ज, सेनेटरी प्याड, कपासलगायत फोहोर संकलन गर्छ। अस्पतालले फोहोरको राम्रो उपयोग गरेको छ। निर्देशक डा गौतमका अनुसार यसले दैनिक २ सय किलो फोहोर व्यवस्थापन गरेर ५० हजारको फोहोर बेच्नुका साथै बायोग्यास पनि उत्पादन गर्दैआएको छ। पहिला फोहोर व्यवस्थापनका लागि महानगरपालिकलाई पटकपटक गुहार्नुपथ्र्यो। 

उपकरणको सवालमा पनि अस्पतालले राम्रो सेवा दिइरहेको डा गौतम दाबी गर्छन्। पहिला दिनको १०० जना जतिको अल्ट्रासाउन्ड गरिन्थ्यो भने अहिले दुई÷तीन सय जनाले यो सेवा पाइरहेका छन्। ल्याब अपग्रेड गर्नुका साथै एमआरआई थप्ने लक्ष्य रहेको डा गौतमले जानकारी दिए। पहिला परिवार नियोजन र गर्भपतन सेवा छुट्टाछुट्टै स्थानमा  सञ्चालन गरिएकोमा हाल दुवैलाई संयुक्त रुपमा सुरु गरेको उनले बताए। 

अस्पतालले महिलामा हुने क्यान्सरको सबै सेवा उपलब्ध गराएको छ। त्यसैगरी अस्पतालले किशोरकिशोरीका लागि विशेष सेवा दिनुका साथै किशोरकिशोरीमैत्री सेवा दिने स्वास्थ्यकर्मीलाई तालिम पनि दिंदै आएको छ। अस्पतालले अहिलेसम्म देशभरका ५० ब्याजलाई यस्तो सेवा दिन स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको छ। हाल प्रदेशमा किशोरकिशोरमैत्री स्वास्थ्य सेवा दिन तालिम भइरहेको छ। त्यसका लागि प्रशिक्षक पनि पठाइरहेको छ। 

अस्पतालको बलियो पक्ष ल्याप्रोस्कोपी सर्जरी पनि हो। महिनामा करिब १० जनाको यसको सर्जरी हुने गरेको छ। अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा छ। सुरुवाती दिनमा दैनिक ४० हजारको आम्दानी हुने गरेकोमा अहिले २ लाख आम्दानी हुने गरेको छ। 

अस्पतालले (प्राइभेट क्लिनिक) इएचएस सेवा पनि नियमित चलाइरहेको छ। पैसा खर्चिन सक्नेले यो सेवा लिन सक्छन्। अस्पतालले शैक्षिक कार्यक्रम पनि सञ्चालन गराइरहेको छ। डा गौतमले वार्षिक १७ देखि १८ चिकित्सक उत्पादन हुँदै आएको बताए। दक्ष प्रसूतिकर्मी उत्पादनका लागि अहिले अस्पतालले स्नातक तहको पढाइ पनि सुरु गरिसकेको छ। पहिलो ब्याचका विद्यार्थीहरु प्राक्टिकल गर्दैछन्। 

डा गौतम जनशक्ति र बजेटको कमीले चुनौती थपेको बताउँछन्। उनले प्रसूति गृहलाई उदाहरणीय बनाउन सरकारले दायित्व बढाउनुपर्ने बताए। 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने