फिचर

नसर्ने रोगको भार बढ्दै, ६६ प्रतिशत नेपालीको मृत्युको कारक (कुन रोगबाट कति?)

औसत आयु र स्वस्थ औसत आयुमा फरक

– हृदयाघातका कारण सहिद गंगालाल हृदय केन्द्रमा उपचाररत ४६ वर्षीय एक व्यक्तिको साउन २३ गते मृत्यु।
– त्रिवि शिक्षण अस्पतालमा गत साउन २७ गते मिर्गौला रोगको उपचारका क्रममा ५१ वर्षीयको मृत्यु।
– चितवन, भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत ४३ वर्षीया महिलाको मृत्यु।
– नेपालगञ्जस्थित भेरी अस्पतालमा श्वासप्रश्वासको दीर्घरोग क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी)का कारण ५७ वर्षीया महिलाको मृत्यु।

नेपालका प्रमुख चार अस्पतालमा उपचारका लागि आएका यी चारै जनाको मृत्यु नसर्ने रोगका कारण भएको हो। यी चार जना जस्तै नेपालमा हुने कुल मृत्युमध्ये ६६ प्रतिशतको मृत्यु मुटु, श्वासप्रश्वास, मिर्गौला, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगका कारण भएको पछिल्लो तथ्यांकले देखाएको छ।

विश्वव्यापी रुपमा भएको रोगव्याधीको भार (बर्डेन अफ डिजिज)को २०१७ को प्रतिवेदनअनुसार नेपालमा उक्त वर्ष कुल १ लाख ८२ हजार ७ सय ५१ जनाको मृत्यु भएको थियो। तीमध्ये ६६ प्रतिशतको मृत्यु नसर्ने रोगहरुबाट र ९ प्रतिशतको मृत्यु चोटपटकबाट भएको छ। बाँकी २५ प्रतिशतको मृत्यु भने सरुवा रोग, मातृ तथा नवजात शिशु तथा पोषणसम्बन्धी रोगबाट भएको छ।

विगतमा नेपालमा अधिकांश मृत्यु झाडापखला, हैजा, टाइफाइड, हेपाटाइटिस ए र ई, डेंगु, औलो लगायतका रोगका कारण हुने गरेको थियो। तर पछिल्लो केही वर्षयता खानपान र जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा नसर्ने रोगको भार बढ्दै गइरहेको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएका छन्। 

अस्पतालमा उपचारका लागि आएका बिरामीको तथ्यांकले पनि नेपालमा मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, मस्तिष्कघात, क्यान्सर जस्ता रोगको भार बढ्दै गइरहेको देखाएको छ। रोगका कारण एकातर्फ मृत्युदर बढिरहेको छ भने अर्कोतर्फ अशक्त भएर बाँच्नेको संख्या पनि थपिइरहेको छ। 

इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन (आएचएमई), वासिंगटन विश्वविद्यालयले नोभेम्बर २०१८ मा सार्वजनिक गरेको विश्वयापी रुपमा रोगव्याधीको भारको अध्ययन प्रतिवेदन २०१७ मा नेपालमा हुने समष्टिगत मृत्यु, अल्पायुमा हुने मृत्यु र तिनका कारणहरु उल्लेख छ। यसका साथै प्रतिवेदनमा विभिन्न स्वास्थ्य समस्याको कारण हुने अशक्तता र मृत्यु तथा अशक्तताका जोखिम तत्वहरुको अवस्था र प्रवृत्तिहरुको विश्लेषण गरिएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले उक्त प्रतिवेदनको विश्लेषण गरी नेपाल बर्डेन अफ डिजिजको प्रतिवेदन यही वैशाखमा सार्वजनिक गरेको हो। उक्त प्रतिवेदनमा सन् १९९० र सन् १०१७ को रोगको भारको तुलना गरिएको छ। प्रतिवेदनअनुसार नेपालमा नसर्ने रोगहरुमध्ये विशेषगरी मुटुरोग र दम अशक्तता र मृत्युका प्रमुख दुई कारणका रुपमा देखापरेका छन्।

कुन रोगबाट कतिको मृत्यु?

सन् २०१७ मा नेपालमा मृत्युको प्रमुख कारणहरु क्रमशः मुटुरोग १६ दशमलव ४५ प्रतिशत, श्वासप्रश्वासको दीर्घरोग (दम) ९ दशमलव ८५ प्रतिशत, झाडापखाला ५ दशमलव ९५ र श्वासप्रश्वाससम्बन्धी संक्रमण ५ दशमलव १५ प्रतिशत रहेका छन्। त्यसपछि मृत्युको अन्य कारणमा मस्तिष्कघात, मिर्गौला रोग, क्यान्सर, मधुमेह, कलेजो फेल, अल्जाइमर्स लगायतका नसर्ने रोग पनि रहेका छन्।

प्रतिवेदनअनुसार रोग र मृत्युलाई प्रभाव पार्ने प्रमुख जोखिमका तत्वमा क्रमशः समय अगावै हुने जन्म, उच्च रक्तचाप, धूमपान र रगतमा उच्च चिनीको मात्रा रहेका छन्। उच्च रक्तचाप र रगतमा चिनीको मात्रा बढ्दै जानुमा शारीरिक व्यायामको कमी, अस्वस्थ खानपान र जीवनशैली, वायु प्रदूषण लगायतका कारण हुन्।

प्रतिवेदनअनुसार पछिल्लो १० वर्षको अवधिमा नेपालमा मधुमेहसँग सम्बन्धित जटिलताका कारण हुने मृत्युमा झन्डै ५९ प्रतिशतले वृद्धि भएको उल्लेख छ। यस्तै मिर्गौलाको दीर्घरोगबाट हुने मृत्यु यो अवधिमा ३७ प्रतिशतले बढेको उल्लेख छ।

सन् १९९० को तुलनामा सन् २०१७ मा मुटुरोगका कारण हुने मृत्यु प्रति एक लाखमा ६० प्रतिशतले बढेको छ। सन् १९९० मा प्रति एक लाखमा मुटुरोगका कारण ६७ जनाको मृत्यु हुने गथ्र्यो। तर सन् २०१७ मा यो संख्या बढेर एक सयमा पुगेको छ। यस्तै स्ट्रोकको कारण हुने मृत्यु पनि यो अवधिमा २१ प्रतिशतले बढेको छ। सिओपिडीका कारण हुने मृत्यु १४ प्रतिशतले बढेको छ।

चार वटा नसर्ने रोगमा कुन रोगको भार कति ?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै मात्र नयाँ अनुसन्धन प्रतिवेदन सार्वजनिक गरेको छ। परिषद्ले जनसंख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भारका विषयमा देशव्यापी अनुसन्धान नगरेको थियो। परिषद्ले जनसंख्या र भौगोलिक अवस्था समेट्ने गरी ४ वटा नसर्ने रोगका विषयमा गरेको अनुसन्धान प्रतिवेदन गत महिनामात्र सार्वजनिक गरेको हो। सिओपिडी, मधुमेह, मिर्गौला र मुटुरोगका विषयको अध्ययनका लागि परिषद्ले ७२ जिल्लाका १३ हजार २ सय जनामा अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा चार वटा रोगमध्ये सबैभन्दा बढी सिओपिडीको समस्या ११ दशमलव ७ प्रतिशतमा त्यसपछि मधुमेहको ८ दशमलव ५, मिर्गौलासम्बन्धी रोग ६ प्रतिशतमा र मुटुरोग २ दशमलव ९ प्रतिशतमा रहेको देखाएको छ। मुटुरोगको भार कम भए पनि मृत्युदर भने यसको नै सबैभन्दा बढी रहेको छ।

सिओपिडीका बिरामी कुन प्रदेशमा कति प्रतिशत

सिओपिडी अर्थात क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज भनेको जीर्ण प्रकारको श्वासनली साँघुरिने रोग हो। सीओपीडी रोग लाग्नुको प्रमुख कारण धूमपान भए पनि वायु प्रदुषण, घरको धुवा, रसायानिक पदार्थ मिसिएको धुँवाको मुस्लोले यो रोग गराउँछ।

त्यसैले लामो समयसम्म धूमपान गर्ने व्यक्ति, धुँवा तथा वायु प्रदुषणमा रहने व्यक्ति (ट्राफिक, इँटाभट्टा, सिमेन्ट कारखानामा काम गर्ने आदि) जोखिममा हुन्छन्।

यो रोगबाट जोगिन धूमपानदेखि टाढै रहनुपर्छ भने प्रदूषणबाट जोगिन आवश्यक छ। प्रदूषणबाट जोगिन बाहिरी वातावरणमा निस्कँदा मास्क लगाएर मात्र निस्कन चिकित्सकले सुझाव दिने गरेका छन्। यसका साथै ग्रामीण क्षेत्रमा दाउरा तथा अन्य धुवाँ निस्कने वस्तुवाट खाना पकाउने कारणले पनि यो रोगको जोखिम बढाइरहेको छ।

मधुमेहका बिरामी कुन प्रदेशमा कति प्रतिशत ?

विश्वको तथ्यांक हेर्ने हो भने संसारभर अहिले ४२ करोडभन्दा बढी मानिस मधुमेहबाट ग्रसित छन्। अहिलेको अवस्था रहिरह्यो भने २५ वर्षमा यो तथ्यांक ६५ करोडभन्दा माथि पुग्ने आकलन गरिएको छ। 

चिकित्सकका अनुसार परिवारमा एक जनालाई मधुमेह छ भने परिवारका सबै सदस्यलाई त्यस विषयमा शिक्षा दिनुपर्छ। मधुमेह लागिसकेका व्यक्तिको उपचारमा परिवारको ठूलो साथ–सहयोग चाहिन्छ। उपचारका क्रममा साथ र सहयोगको ठूलो भूमिका रहन्छ। खानपानको व्यवस्थापन र बिरामीको उपचारमा हौसला दिने कुरामा परिवारको महत्वपूर्ण भूमिका हुन्छ। 

रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ।

मधुमेहमा थकाइ लाग्ने, आलस्य हुने, जाँगर नचल्ने, पिसाब लाग्ने, मुख सुक्खा हुने, खानामा बढी रुचि हुने, खुट्टा पोल्ने, खुट्टा झमझमाउने, आँखा धमिलो हुने, कुनै पनि घाउ निको हुन गाह्रो हुने, पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि लक्षण देखिन्छ।

मधुमेहकै कारण अन्धोपन, मिर्गौला फेल, हृदयाघात, स्ट्रोक जस्ता समस्या देखिने गर्छन्। चिकित्सकका अनुसार स्वास्थ्यवर्द्धक खाना, नियमित शारीरिक अभ्यास, तौलको व्यवस्थापन, सूर्तिजन्य पर्दाथको सेवन नगर्ने हो भने पनि मधुमेहबाट जोगिन सकिन्छ।

मिर्गौलाका बिरामी कुन प्रदेशमा कति प्रतिशत ?

चिकित्सकहरुका अनुसार स्वस्थ व्यक्तिका दुबै मिर्गौलाले संयुक्त रुपमा प्रति मिनेट १०० देखि १३० मिलिलिटरसम्म रगत छान्ने काम गर्दछ। साथै पिसाब मार्फत अनावश्यक तथा दूषित पदार्थ शरीरबाट बाहिर निष्कासन गर्दछ। तर कुनैपनि कारणले गर्दा यसरी छान्ने क्षमतामा ह्रास आएमा मिर्गौला रोग लागेको भन्नुपर्ने हुन्छ।

मिर्गौला रोगलाई दुई भागमा विभाजन गरिएको छ। १ मिर्गौलाघात, २ दीर्घकालीन मिर्गौला रोग।

१ मिर्गौलाघात : मिर्गौलाको कार्य क्षमतामा अकास्मत वा तिव्र रुपले ह्रास आउँछ। जसमा पिसाबको निष्काशन कम हुन्छ। मिर्गौलाघात सामान्यतया उपचार गर्न सकिन्छ। मिर्गौलाघात विभिन्न कारणले हुनेगर्छ। केही कारण यस्ता छन् : तीब्र रुपमा झाडापखला लागेर अत्यधिक जल विनियोजन भएमा, अत्याधिक रक्तश्राव भएमा, शरीरमा जीवाणुको संक्रमण भई धेरै नै शिथिल भएमा, कुनै पनि औषधिको धेरै सेवन वा विष सेवन भएमा, मुत्रनली अवरोध वा संक्रमण, मुत्राशयको क्यान्सर भएमा, तीब्र रुपमा मिर्गौला सुन्निने रोग भएमा, असुरक्षित गर्भपतन भए÷गराएमा। आदी।

२ दीर्घकालीन मिर्गौला रोग : यो भनेको मिर्गौलामा तीन महिना वा सो भन्दा बढी समयदेखि क्षतिको अवस्था हुनु हो। अथवा मिर्गौलाको कार्यक्षमतामा ह्रास हुनु हो। मिर्गौलाको कार्यक्ष्मता १५ प्रतिशत भन्दा कम हुँदा दीर्घकालीन मिर्गौला रोगले मिर्गौला फेल वा मिर्गौलाको अन्तिम अवस्था सिर्जना गर्नसक्छ। मिर्गौला फेल भएपछि डायलाइसिस वा प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ।

औसत आयु र स्वस्थ औसत आयुमा फरक
 
स्वास्थ्य क्षेत्रमा बढ्दै गएको चेतनाका कारण नेपालमा पछिल्लो समयमा औसत आयु भने बढ्दो क्रममा छ। तर औसत आयुको तुलनामा स्वस्थ औसत आयु भने कम रहेको छ। प्रतिवेदनअनुसार नेपालमा पुरुषको तुलनामा महिला बढी बाँच्ने गरेका छन्। नेपालमा महिलाको औसत आयु ७३ दशमलव ३ र पुरुषको ६८ दशमलव ७ वर्ष रहेको छ। सन् १९९० मा महिलाको औसत आयु ५९ थियो भने पुरुषको ५८ वर्ष थियो। 

तर, नेपालमा स्वस्थ उमेर भने बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार नेपालमा स्वस्थ औसत आयु भने ६१ दशमलव १ प्रतिशत रहेको छ। जसमा महिलाको औसत स्वस्थ उमेर ६२ दशमलव ३ र पुरुषको ६० दशमलव १ रहेको छ।

नेपालमा मृत्यु र अशक्तता गराउने नसर्ने रोगको भार बढेसँगै यसको नियन्त्रण तथा जोगिने उपायका कार्यक्रमलाई विस्तार गर्न आवश्यक रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ बताउँछन्। उनले रोग र मृत्युको भारलाई मध्यनजर गर्दै सरकारले विभिन्न कार्यक्रम बनाउँदै अगाडि बढाइरहेको जानकारी दिए। 

‘नसर्ने रोगको भार र तिनको अवस्थामा देखिएको परिवर्तनको आधारमा स्वास्थ्य नीति तथा कार्यक्रमहरु तर्जुमा गरी र स्वास्थ्य क्षेत्रको स्रोत परिचालन गर्नतर्फ मन्त्रालयले आवश्यक कदम अगाडि बढाइसकेको छ,’ उनले भने, ‘यसका लागि मन्त्रालय एक्लैको प्रयासले मात्र नहुने भएकाले सबैको साथ र सहयोग आवश्यक छ।’

स्वास्थ्य मन्त्रालयले नसर्ने रोगको भार कम गर्न र मानिसलाई रोग लाग्नै नदिन नगरिक आरोग्य कार्यक्रम, विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार मुटु, मधुमेह, क्यान्सर जस्ता रोगको सुरुमा नै पहिचान गर्न पेन प्याकेज, आयुर्वेद विभागमार्फत योग तथा अन्य निरोगी कार्यक्रम, विद्यालय नर्स जस्ता कार्यक्रमलाई विस्तार गर्दै लगिरहेको छ। तर यी कार्यक्रमहरु पर्याप्त नभएको विज्ञहरुले बताएका छन्। 

‘रोगको भार एक सयको गतिमा अगाडि बढिरहेको छ। तर हाम्रा कार्यक्रम बल्ल ५÷६ को गतिमा मात्र हिँडेको छ,’ स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा पदमबहादुर चन्दले भने, ‘त्यसकारण अब नसर्ने रोगका क्षेत्रमा कार्यक्रम विस्तारसँगै जीवनशैली परिर्वतन, खानपानमा सुधार, बानी–व्यहोरा परिवर्तन लगायतका क्षेत्रमा पर्याप्त कार्यक्रम विस्तार गर्नुपर्छ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेल नसर्ने रोगको भारलाई कम गर्न स्वास्थ्य मन्त्रालयले यी काम कामसँगै वायु प्रदुषण कम गर्ने, तरकारी तथा खानेकुरामा विषादी प्रयोग हटाउने, शिक्षा मन्त्रालयबाट पाठ्यक्रममा यी रोगका कारण र जोगिने तथा लाग्न नदिने उपायका पाठ्यक्रम बनाउने लगायतका काम पनि तत्कालै अगाडि बढाउन आवश्यक रहेको बताउँछन्।

हरेक वडामा रक्तचाप, मिर्गौला र सुगर जाँचको व्यवस्था

डा दिवाकर शर्मा उपचारात्मक सेवासँगै निदानात्मक सेवालाई पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिन्छन्। 

‘रोग लागिसकेपछि उपचार गर्ने कुरा एउटा पाटो हो,’ उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा त रोग लाग्नै नदिने वा सम्भावित जोखिमबाट पहिले नै जोगिनु राम्रो हो ।’ उनले नेपालमा अझै पनि रोगले च्यापेर अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने चलन रहेकाले गाउँगाउँमा मुटुरोग पहिचान गर्ने व्यवस्था मिलाउनुपर्ने बताए। 

डा शर्माका अनुसार स्थानीय तहका हरेक वडामा रक्तचाप नाप्ने, रगतमा सुगरको जाँच गर्ने व्यवस्था गर्न सकिन्छ। उनी भन्छन्, ‘वडामा निःशुल्क रक्तचाप र सुगर जाँचको व्यवस्था भयो भने मानिसले समय–समयमा स्वास्थ्य जाँच गर्न पाउनेछन्। यसबाट रोगबारे पहिला नै वास्तिविक अवस्था जानकारी पाउने हुँदा अकास्मत हुने हृदयाघात जस्ता घातक समस्याबाट जोगिन सकिन्छ।’

यसका साथै मिर्गौला रोग पहिचान गर्न पिसाब तथा मिर्गौलाको अन्य जाँचका लागि रगत परीक्षण सेवा पनि स्थानीय तहमा पुर्‍याउन आवश्यक रहेको मिर्गौला रोग विशेषज्ञ डा अनिल बराल बताउँछन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने