‘परिवारमा सुख होला, बालबच्चा, परिवारसँग हाँसीखुसी बसौंला, बच्चालाई राम्रो स्कुलमा पढाउँला भनेर जागिर गरेको हो। तर, यो समायोजनले जागिर निल्नु न ओकाल्नु बनाएको छ।’
आजकल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटभित्र पस्नासाथ यस्ता असन्तुष्टिका स्वर निकै सुन्निछन्।
देशका विभिन्न ठाउँबाट बालबच्चासहित, शारीरिक रुपमा कमजोर स्वास्थ्यकर्मी अझ बढी दुःखी देखिन्छन्।
शारीरिक अवस्थाले धेरै यात्रा गर्न नसक्नेहरु समायोजनका कारण पटक–पटक काठमाडौं आउनुभन्दा जागिर छाड्ने मनस्थितिमा पुगेका छन्।
सरकारले गरेको समायोजनको चित्त नबुझेर पटक–पटक निवेदन दिँदा पनि चाहेको ठाउँमा समायोजना नभएपछि स्वास्थ्यकर्मीहरु तनावमा छन्।
शारीरिक अपांगता भएकी एक महिला कर्मचारी एक सहयोगीका साथमा आफ्नो ६ महिने बच्चा बोकेर समायोजनको गुनासो गर्न मन्त्रालय पुगेकी थिइन्।
थोरै हिँड्न पनि समस्या हुने उनलाई पटकपटक मन्त्रालय धाउन निकै समस्या भएको थियो। ‘तपाईंको गुनासो सम्बोधन हुन्छ भन्छन् तर पटकपटक धाउँदा पनि केही भएको छैन,’ उनले दुखेसो पोखिन्।
समायोजनबारे गुनासो लिएर मन्त्रालय आएका स्वास्थ्यकर्मीहरु समस्याको समाधान नभएपछि भवन बाहिर चौरमा बसेर एकअर्कोसँग समस्या बाँडिरहेका भेटिन्छन्।
मन्त्रालयबाहिर यो भीड जम्मा हुन थालेको पनि ६ महिनाभन्दा धेरै भइसक्योे।
गत बिहीबार करिब १२ बजे स्वास्थ्य मन्त्रालय पुग्दा उनीहरु एकआपसमा गफिँदै एकअर्कोसँग दुःख पोख्दै थिए, ‘जागिर निल्नु न ओकाल्नु भएको छ। पैसा र पावर हुनेहरुको एक पटकमा काम हुन्छ। हामी जति पटक आउँदा पनि काम हँुदै तपाईंको हामीले सक्दो कोशिस गर्छौं भनेर फर्काउँछन्।’
हुन त मन्त्रालयमा सधैंभरि केही न केही समस्या लिएर विभिन्न ठाउँबाट मानिस आउँछन्।
तर एक वर्षदेखि मन्त्रालयमा कर्मचारीको भीड समायोजनसँग सम्बन्धित छ। समायोजन आफ्नो पायक पर्ने ठाउँमा मिलाउन आग्रह गर्दै स्वास्थ्यकर्मीहरु विभिन्न जिल्लाबाट मन्त्रालय धाइरहेका छन्।
बिहीबार पनि मन्त्रालयमा यस्तै समायोजनको समस्या लिएर थुप्रै कर्मचारी आएका थिए। गेटदेखि समायोजन सुनुवाइ समितिका संयोजनक तथा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठको कार्यकक्ष पुग्दा निकै भीड थियो।
श्रेष्ठलाई कार्यकक्षमा समायोजनबाहेक अन्य काम लिएर पुग्ने व्यक्तिसँग बोल्ने फुर्सद थिएन। एक प्रदेशको मानिस अर्को प्रदेशमा, दरबन्दी भन्दा अत्यधिक व्यक्तिको एकै ठाउँमा समायोजन, कतिपय पालिकाहरुले ठाउँ छैन भनेर फर्काइएकाहरु के गर्ने भनेर निवदेन सहित मन्त्रालय पुगेका थिए।
अलिकति राजनीतिक पहुँच हुनेहरु आफ्ना क्षेत्रका सांसद नै साथ लिएर आएका थिए भने कतिले फोनबाटै कुराकानी गराइरहेका थिए। कोही कर्मचारी संघ–संगठनका नेता थिए।
प्रवक्ताको कोठामा दुई घन्टा बस्दा कसैको श्रीमान् बिरामी भएका कारण उनलाई छोड्न नसक्ने हुँदा काठमाडौँमा समायोजन चाहियो भन्थे। कोही बच्चा भएकोले, कसैको भर्खर बिहे भएको, कोही गर्भवती भएकोले बच्चा जन्माउनको निम्ति काठमाडौंमा समायोजन गरिदिन अनुनय गर्दै थिए। कोही दीर्घरोगी भएकाले उपचार गर्न काठमाडौं मिलाउन भन्दै थिए। अधिकांश चिकित्सकदेखि अन्य समूहका कर्मचारीई काठमाडौं वा वरपरका सुविधायुक्त ठाउँमै समयोजन चाहिएको थियो।
उनीहरु प्रवक्तालाई सबैले पालो–पालो आफ्नो गुनासो सुनाउँदै पायक पर्ने ठाउँमा मिलाउन आग्रह गर्दै थिए।
प्रवक्ता श्रेष्ठ उनीहरुको गुनासो सुन्थे, कागज हेर्थे कागज नपुगेकाको कागज पुगेन भन्थे भने, अन्यलाई ‘मिलाउँदै छौँ, तपाईंको हुन्छ भनेर पठाउँथे भने कोटा पूरा भएको ठाउँको माग्नेहरुलाई कोटा पूरा भइसक्यो तपार्इंको मिलाउन मिल्दैन भनेर फर्कारहेका थिए।
यति नै बेला शारीरिक अपांगता भएकी तीन महिनाको सुत्केरी नर्स बच्चा अगाडि बोकेर बोकेर प्रवक्ता श्रेष्ठ सामु आइन्। आफूले पहिले काम गरेको अस्पतालले समायोजन भएको कर्मचारी भन्दै हाजिर गर्न नदिएको गुनासो गरिन्।
उनको गुनासो सुनेपछि प्रवक्ताले भने– तपाईं पहिला जुन अस्पतालमा काम गर्नुहुन्थ्यो, त्यही अस्पतालमा भोलिदेखि काम गर्न जानुस्। अहिले पत्र बनेको छैन। पत्र बनेपछि दिन्छौँ। यदि हाजिर गर्न दिएनन् भने निर्देशकको कोठामा गएर मलाई फोन गर्नु मैले मौखिक रुपमा उहाँसँग कुरा गर्छु।
प्रवक्ताबाट यति आड पाएपछि राहत महसुुुस पर्दै कोठाबाट बाहिर निस्किइन्। बाहिर निस्किएर उनले भनिन्, ‘तीन महिनाको सुत्केरी बिदा बसेकी थिएँ, त्यही समयमा समायोजन भयो। मेरो समायोजन बर्दिवास नगरपालिका भएको थियो। मरा स–सना छोरी छन्। श्रीमान् माइती पनि यतै भएकाले यतै मिलाइदिन भनेर गुनासो दर्ता गरेकी थिएँ।’
मन्त्रालयले समायोजन काम गरिरहेको भक्तपुर अस्पताल गरिदिएको रहेछ। तर, उनले पत्र पाएकी छैनन्। ‘सुत्केरी बिदा सकिएर काम गर्न जाँदा तपाईंको समायोजन भयो भन्दै हाजिर गर्न दिएन। त्यसैले आज प्रवक्तालाई गुनासो गर्न आएकी हुँ,’ उनले भनिन्।
प्रवक्ता श्रेष्ठ भन्छन्, ‘सबैलाई सुविधा सम्पन्न ठाउँमा चाहिएको छ। दुर्गममा कोही जान चाहँदैनन्। दुर्गमका स्वास्थ्यसंस्था खाली भइसके। केही न केही समस्या त सबैलाई हुन्छ नि।’
उनले प्रदेश १ का पहाडी जिल्लामा दरबन्दी खाली भएको बताए। उनले भने, ‘त्यहाँ कोही जान मान्दैनन् । सबै काठमाडौं बस्ने भन्छन्। काठमाडौँमा कहाँ ठाउँ छ? सरकारलाई पूर्वका जिल्लामा कसरी मिलाउने भन्ने चिन्ता छ।’
यो दृश्य हेर्दा लाग्थ्यो यहाँ कर्मचारीलाई मात्र होइन, मन्त्रालयलाई पनि उत्तिकै सास्ती छ। कर्मचारीको सुखसुविधा हेर्दा कतिपय अस्पताल दरबन्दीविहीन हुन पुग्नु सरकारको निम्ति चुनौतीको विषय हो।
गुनासो लिएरका आएका धेरै जना आफूलाई दुर्गम र पायक नपर्ने ठाउँमा पारिएको बताउँदै थिए। प्रश्न त उनीहरुकै मनमा खेल्नुपर्ने हो, सबैलाई सुगम र पायक पर्ने ठाउँ नै खटाउने हो भने दुर्गममा को जाला?
यो दृष्य देखेर फर्किदै गर्दा लाग्यो– सेवा गर्ने होइन, जागिर पकाउनेहरुको भीड छ।
मनमा एउटा भावनाको उफान उठ्यो– जागिर नपाउँदा परिवार छोडेर वर्षाैं विदेश बस्न तयार हुन्छौँ हामी नेपाली। तर, जागिर समायोजनले नेपालकै कुनै एक भागमा जानु पर्दा परिवारसँगको बिछोड भएको अनुभूति हुन्छ। कठै, हाम्रो मनोवृत्ति! कस्तो हाम्रो प्रवृत्ति?