जाडो महिनामा झाडापखाला गराउने एक प्रमुख किटाणु नोरोभाइरस हो। यसलाई 'विन्टर भोमिटिङ बग' को उपनामले पनि चिनिन्छ।
विश्व स्वस्थ संगठनको तथ्यांकअनुसार बर्सेनी विश्वमा अनुमानित ६८५ मिलियन मानिसहरु झाडापखालाको कारणले बिरामी हुने गर्छन्। त्यसमध्ये ८५ प्रतिशत संक्रमण र ९० प्रतिशत मृत्युदर कम विकशित देशहरुमा हुने गर्छ। दक्षिण-पूर्वी एसिया र अफ्रिकामा मात्र ८५ प्रतिशत जतिको नोरो भाइरसको कारणले मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ।
यीमध्ये उमेर समूह हेर्दा ३० प्रतिशत वृद्ध र २५ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको देखिन्छ। विकशित देशहरुमा नोरोभाइरसको कारणले वृद्धहरुको मृत्युदर बढी देखिने गर्छ भने कम विकशित देशहरुमा पाँच वर्ष मुनिका बालबालिकामा हुने गरेको देखिन्छ।
नेपालमा जाडो महिना लागेसँगै बालबालिकामा पखाला लाग्ने र बान्ता हुने समस्या देखिने गर्छ। यसलाई 'कोल्ड डाइरिया' को नामले पनि चिनिन्छ। बालबालिकामा प्रमुख रुपमा 'रोटाभाइरस' को कारणले समस्या हुने गरे पनि दोस्रो मुख्य कारण नोरोभाइरसलाई लिन सकिन्छ। पाँच वर्षको अनुसन्धानले नेपालमा पाँच वर्ष मुनिका बालबालिकामा डाइरिया हुनुको कारणमा ८ देखि १२.५ प्रतिशतसम्ममा नोरोभाइरस भएको पाइएको थियो। जसमा केही अनुसन्धानहरुमा यो पंक्तिकारको पनि प्रत्यक्ष संगलग्नता थियो। यो नतिजाले नेपालमा 'नोरोभाइरस' बारे चर्चा-परिचर्चा नहुने भए तापनि परिणामले कति भयावह रहेछ भन्ने संकेत गर्छ।
के हुन् लक्षण?
- पानी जस्तो पातलो दिसा लाग्नु
- बान्ता हुनु
- पेट दुख्नु
- ज्वरो आउनु
- टाउको दुख्नु
- पिसाब कम लाग्नु
- मुख सुक्नु
- कमजोरी हुनु
- बच्चा रुँदा आँसु नदेखिनु र आलश्य देखिनु
यी लक्षणहरु १२ देखि ४८ घन्टाभित्र देखिने गर्छ भने यो क्रम तीन दिनसम्म रहन सक्छ। बिरामीले दुई हप्ताभन्दा बढी समयसम्म यो भाइरस फ्याँकिरहने भएकोले अरुलाई त्यतिन्जेल सर्न सक्ने जोखिम भने रहिरहन्छ।
कसरी सर्छ?
नोरोभाइरस छिटो र सजिलै सर्ने संक्रमण हो। संक्रमित व्यक्तिको दिसा वा बान्ता कुनै मध्यमबाट मुखमा पुगे यो रोग सर्न सक्छ। संक्रमित खाना र पानीको प्रयोगबाट पनि सर्ने गर्छ। संक्रमित भएको काचै खाने खानेकुरा जस्तै: गाँजर, मुला, सलाद आदिको उपभोग गर्दा पनि सर्ने गर्छ।
यस्तो प्रकृतिको प्रकोप धेरैजसो विकशित देशहरुमा हुने गरेको सुन्न पाइन्छ। संक्रमित व्यक्तिले खोक्दा मुखको छिटा नजिकैको व्यक्तिको मुखमा परे पनि यो रोग सर्न सक्छ। संक्रमितले राम्रोसँग हात नधोई अर्को व्यक्तिसँग हात मिलाउँदा पनि यो भाइरस सजिलै सर्न सक्छ। संक्रमित व्यक्तिले हात राम्ररी सफा नगरी बालबालिकाको स्याहार-सुसार गरे पनि यो भाइरस उनीहरुमा सर्ने गर्छ।
उपचार के हो?
यो भाइरसको करणले हुने भएकोले एन्टिबायोटिक भने दिनु पर्दैन तर शरीरमा कडा जलवियोजन हुन सक्ने भएकोले झोलिलो खानेकुरा, जीवनजल प्रशस्त मात्रामा दिनुपर्छ। यो भाइरस विरुद्धको खोप पूर्ण विकास भई प्रयोगमा ल्याइसकिएको छैन। तसर्थ व्यक्तिगत सरसफाइ नै यसबाट बच्ने मुख्य उपाय हो।
यो भाइरसको उपस्थिति विशेषगरी जाडो याममा देखिने भएको र यसको प्रभाव कम विशित देशहरुमा बढी देखिने गरेकोले यसबारेमा सर्वसाधारणले पनि चासो लिनुपर्छ। तर योभन्दा पहिले नेपालमा यसबारे व्यापक अनुसन्धान हुनु जरुरी हुन्छ, जसको नतिजाले यसको जोखिमको स्तर नेपालमा के-कति छ भनेर निर्धारण गर्ने छ।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)