डक्टर्स आर्टिकल

किन आउँछ डकार र पाद? के हो उपचार?

कस्ता व्यक्तिलाई ग्यास बन्ने जोखिम हुन्छ?

डा मुकेश शर्मा पौडेल

भुँडीमा ग्यास भरिने र अफ्ठ्यारो नै पर्ने गरी ग्यास बाहिर निस्किने (पाद जाने) समस्याले धेरैलाई पिरोलेको हुन्छ। यस्तो समस्याबाट ग्रसित हुँदा पनि लाज वा असहजताका कारण बिरामीले खुलेर कुरा गरेको भने पाईंदैन।

मानिसको भुँडी र आन्द्रामा थोरै-धेरै मात्रामा ग्यास हुन्छ। त्यस ग्यासले बिरामीलाई पेट फुल्लिएको जस्तो अनुभव हुन्छ। धेरै डकार आउँछ। पेट दुख्न सक्छ वा पाद जान सक्छ। पेटमा ग्यास भरिएर असजिलो हुँदा डकार वा पाद आइसकेपछि केही आराम भएको अनुभव हुन्छ। केही व्यक्तिको भुँडी वा आन्द्रा अति संवेदनशील हुन्छ र त्यसैले थोरै ग्यास भरिँदा पनि धेरै अफ्ठेरो अनुभव हुन्छ।

लक्षण
डकार आउनु सामान्य प्रक्रिया हो। निलेको हावाको मात्रा भुँडीमा अत्यधिक हुँदा डकार आउने गर्छ। निलेको हावा या त डकारेर बाहिर फालिन्छ या फेरि सानो आन्द्रा अनि ठूलो आन्द्राको बाटो हुँदै पाद बनेर बाहिर निस्किन्छ। पेटमा ग्यास भरिँदा बिरामीलाई अफ्ठेरो अनुभव हुन्छ। केही बिरामीहरु भुँडीमा थोरै ग्यास भरिँदा पनि धेरै अफ्ठेरो भएको  अनुभव सुनाउँछन्। दिसा गर्ने बाटोबाट निस्किँने ग्यासको कारण या त निलेको ग्यास हुन्छ या खाएको खाना पच्दा त्यसबाट उत्पन्न ग्यास हुन्छ।

कारण
खाना निल्ने बेलामा केही मात्रामा हावा पनि सँगसँगै निलिन्छ। कसैकसैले चुइगम वा चुसेर खाने क्यान्डी मिठाइहरु खाने गर्छन्। उनीहरु बढी मात्रामा हावा पनि निल्ने गर्छन्। कार्बोनेटेड चिसो पेय पदार्थ सोडा र बियरले पनि बढी मात्रामा ग्यास बनाउछन्। मानसिक रोग इन्जाइटीले ग्रसित बिरामीहरु पनि बढी मात्रा मा हावा निल्ने गर्छन्।

केही खाने कुराहरु सानो आन्द्राले पचाउन असमर्थ हुन्छ। यी खानेकुरा नपचिकन सानो आन्द्रा हुँदै ठूलो आन्द्रासम्म पुग्छन् र त्यहाँ भएका किटाणुहरुले खानेकुरा पचाउन कोसिस गर्दा हाइड्रोजन र कार्बोनडाइअक्साइड ग्यास उत्पन्न हुन्छ। यस्ता खानेकुराहरु बन्दागोबी, फूलगोबी, ब्रोकौली, गेडागुडी, चोकर आदि हुन्। केही बिरामीलाई दूध, आइसक्रिम र चिज खाँदा ग्यास बन्ने, पेट दुख्ने हुन्छ। यस्ता बिरामीको आन्द्रामा दूध पचाउने इञ्जाइम ल्याक्टोजको कमी हुन्छ। ग्यास बन्नुको आर्को कारण सानो आन्द्रामा किटाणुहरुको संक्रमणले गर्दा हुन्छ, जसलाई ब्याक्टिरअल ओभरग्रोथ भनिन्छ। दिसा सारो हुने र टाइममा दिसा नहुनेलाई पनि पेट फुल्लिएको अनुभव हुन सक्छ।

कस्ता व्यक्तिलाई ग्यास बन्ने जोखिम हुन्छ?
-    माथि उल्लेखित खानेकुरा र पेय पदार्थ सेवन गर्ने व्यक्ति
-    इरिटेबल बावेल सिन्ड्रोम भएका बिरामी
-    पेटको अप्रेसन गरेका बिरामी

निदान 
- ग्यास्ट्रिकको शंका लागेका व्यक्तिलाई इन्डोस्कोपी गर्ने गरिन्छ 
- ल्याक्टोज इन्तोलारंसको शंका लागेमा दूधले बनेका पदार्थ बन्द गरेर हेरिन्छ 
- सानो आन्द्रामा किटाणुको संक्रमण पत्ता लगाउन हाइड्रोजन ब्रेथ टेस्ट गरिन्छ
- धेरै मात्रामा पाद जाने बिरामीले  दिनभरिमा कति पटक ग्यास जान्छ र कस्ता खानेकुरा खाँदा धेरै ग्यास जान्छ भनेर ख्याल राख्नु पर्छ 
- दिनभरिमा बीस पटकसम्म ग्यास जानुलाई नर्मल मानिन्छ

उपचार 
-    चिसो पेय पदार्थ, सोडा र बियरको सेवन बन्द गर्नुपर्छ 
-    फूलगोबी, पत्तागोबी, चोकर, गेडागुडी, ब्रोकाउलीको सेवन बन्द गर्नुपर्छ 
-    दूध र दूधबाट बनेका परिकार खानु हुँदैन
-    चुइगम गम र क्यान्डी मिठाई खानु हुँदैन 

सिमेथिकोन नाम गरेको औषधि सेवनले ग्यास कम गर्ने भनेर बजारमा भित्रिए पनि त्यति प्रभावकारी चाहिँ देखिएको छैन।  प्रयोगमा आएका अरु औषधिहरु जस्तै: चारकोलको ट्याब्लेट, बिस्मुथ सब्सालिसैलेट, अल्फा डी ग्यलेक्तोसिदेस जस्ता औषधिले केही बिरामीलाई फाइदा भएको देखिएको छ।

इरिटेबल बावेल सिन्ड्रोम भएका बिरामीलाई ग्यासले गर्दा पेट दुखाइबाट दाइसैक्लोमिन वा हायोसमिनको उपचारले ठिक हुन्छ। ब्याक्टेरिअल ओवरग्रोथ भएर ग्यासको समस्या भएकालाई एन्टिबायोटिकको उपचारले ग्यास कम गर्न सकिन्छ। यी सबै खानेकुरा बार्दा पनि ग्यासको समस्या रहेमा चिकित्सकको परामर्श लिनु जरूरी हुन्छ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने