डडेल्धुरा- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालको निरीक्षण गरेका छन्। मंगलबार बैतडीमा ट्रमा सेन्टरको सभाव्यता अध्ययन गर्न जाने क्रममा डडेल्धुरा पुगेका मन्त्री ढकालले विशिष्ट विशेषज्ञ अस्पतालको निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री ढकालले डक्टरहरु दुर्गम आउन नमान्ने प्रवृत्तिले अभाव भएको बताएका छन्। लामो समयसम्म डाक्टर अभाव रहेका अस्पतालमा अब क्रमिक रुपमा डाक्टरको पदपूर्ति हुँदै जाने उनको दाबी छ। उनले भने, ‘डडेल्धुरा अस्पतालको जिम्मा संघले लिएको छ, यद्यपि केही अभावहरु कायम छन्, अब व्यवस्थापन गर्दै जान्छौं, हिजोका अभाव अब हट्दै जाने छन्।’
डाक्टरहरु केन्द्रले पठाउने अध्ययन बिदामा बस्ने समस्या देशभरको रहेको उनले बताएका छन्। अध्ययन बिदामा पनि अब कडाइ गरिने उनको भनाइ छ । मन्त्री ढकालले भने, ‘हाम्रा डाक्टर साबहरुको अधिकांश समय पढाइमा जान्छ। ६ महिना काम गर्ने, फेरि पढ्न जाने, अर्को चरण सेवा ग¥यो फेरि पढ्न जाने रहेछ। अब स्वास्थ्य मन्त्रालयले अध्ययन बिदालाई पनि कडाइ गर्छ।’
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका ढकालले विशिष्ट विशेषज्ञ अस्पतालको विकास समितिहरुले छिट्टै पूर्णता पाउने बताए।
विगत लामो सयमसम्म डाक्टर अभाव झेल्दै आएको सुदूरपश्चिम प्रदेशको एक मात्र विशिष्ट विशेषज्ञ अस्पताल डडेल्धुरामा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि एक जना पनि पदपूर्ति नभएको अस्पतालले जनाएको छ।
अस्पतालले लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक पाएको छैन। अस्पतालले ११औँ तहको मेडिकल सुपरिटेन्डेन्टसमेत पाएको छैन। तत्कालीन जिल्ला अस्पताल व्यवस्थापन समिति भंग भएपछि हालसम्म उपक्षेत्रीय अस्पताल तथा हालको विशेषज्ञ अस्पतालको विकास समितिसमेत गठन हुन सकेको छैन।
२० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले छात्रवृत्ति करारबाट एक जना र अस्पताल विकास समितिबाट दुई जना गरी करारमा ३ जना विशेषज्ञ चिकित्सक छन्। त्यस्तै १९ जना मेडिकल अफिसरको दरबन्दी रहेको अस्पतालमा ९ जना चिकित्सक रहे पनि ५ जना अध्ययन बिदामा रहेका छन्। ४ जनामात्र अस्पतालमा कार्यरत छन्।
स्वास्थ्य मन्त्रालयले पठाएका ११ जना स्थायी र ३ जना करार गरी १४ जना चिकित्सकमध्ये ३ जना मात्र डडेल्धुरा अस्पतालमा पुगेका छन्। बाँकी ११ जना भने अहिलेसम्म अस्पतालमा पुगेका छैनन्। मन्त्रालयले पठाएका ७ जना चिकित्सक यस अघिदेखि नै अध्ययन बिदामा छन् भने एक जना संघीय सरकारबाट प्रदेश मातहतको बाजुरा जिल्ला अस्पतालमा काज सरुवा भएका छन्। यस्तै अर्का एक जना अहिले सुत्केरी स्याहार बिदामा रहेका छन्। यसैगरी करारमा पठाएका २ जना अझै सम्पर्कमा नआएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र बिष्टले जानकारी दिए।
नागरिक समाजको ज्ञापनपत्र
नागरिक समाज डडेल्धुराले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अस्पतालमा तत्काल दरबन्दी अनुसारका डाक्टरहरु पठाउन अनुरोधसहित ज्ञापनपत्र बुझाएका छन्। नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेश जोशीले समान्य उपचारका लागि यस क्षेत्रका नागरिकले तराईका जिल्ला कैलाली, कञ्चपुर तथा भारत धाउन बाध्य भएकाले विशेषज्ञ डाक्टरको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।