काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले दक्ष र योग्य उपकुलपति नियुक्तीको माग गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाएका छन्।
समाजले उपकुलपति छनोट प्रक्रियामा आर्थिक लेनदेन नगरी इमान्दार र प्रशासनिक क्षमता एवं अनुभव भएका व्यक्ति ल्याउनु पर्ने माग राखेको छ। प्रतिष्ठानका सहकुलपति समेत रहेका मन्त्री ढकाल उपकुलपति छनोट समितिका अध्यक्ष समेत हुन्।
समितिले ८ पृष्ठ लामो ज्ञापन पत्र मन्त्री ढकाललाई बुझाएको छ। उक्त ज्ञापनपत्रमा प्रतिष्ठानको परिचय देखि प्रतिष्ठानमा हाल देखिएका समस्या तथा चुनौतीलाई बुँदागत रुपमा उल्लेख गरिएको छ। ज्ञापन पत्रमा समाजले समस्याका समाधान गर्न सकिने सुझाव तथा आगामी दिनमा गर्न सकिने विषय समेत समावेश छ।
समाजका अध्यक्ष डा विष्णु पोखरेल र महासचिव डा एसपी रिमालको हस्ताक्षर रहेको उक्त ज्ञापन पत्रको बोधार्थ प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपकुलपति छनोट समितिका दुई सदस्य उषा झा र राजन खनाललाई दिइएको छ।
प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका छन्।
तर, आवेदन दिएकामध्ये तीनजना भने प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बनाउन लागेका उम्मेदवार छन्।
प्रधानमन्त्री ओली सरकारलाई धोका दिएर बिएन्डसी अस्पतालमा कार्यरत डा गेहनाथ बराललाई उपकुलपति बनाउन चाहिरहेका छन्। छनोट समितिका अध्यक्ष स्वास्थ्य मन्त्री ढकाल विराट मेडिकल कलेजमा रहेका डा ज्ञानेन्द्र गिरीलाई बनाउन चाहिरहेका छन् भने प्रचण्ड प्रतिष्ठानकै कार्यबहाक उपकुलति गुरु खनाललाई बनाउन चाहिरहेका छन्।
यस्तै नेपाली कांग्रेसले समेत डा नारायण विक्रम थापालाई उपकुलपति नियुक्त गर्न चाहेको छ।
प्राज्ञिक संस्थामा योग्यता, दक्षता र अनुभवका आधारमा नभई राजनीतिक रुपमा र विभिन्न आर्थिक चलखेलका आधारमा उपकुलपति नियुक्ती गर्न लागिएको भन्दै समाजले ज्ञापन पत्र मार्फत निम्न ७ बुँदामा सावधानी अपानाउन ध्यानाकर्षण गरेको छ।
१. छनौट प्रक्रिया आर्थिक लेनदेनमा नहोस्।
२. प्रतिष्ठानले गर्न लागेका हरेक राम्रा कामहरुलाई सरकारको पूर्ण समर्थन होस्।
३. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति इमान्दार र प्रशासनिक क्षमता एवं अनुभन भएको व्यक्ति होस्।
४. ज्ञापन पत्रमा उल्लेखित समस्याहरुको जानकार होस् र तिनीहरुको समाधान तयार गरेको होस्।
५. उपकुलपतिको कार्यालयको प्रत्येक ३ महिनादेखि ६ महिनामा नियमन र मुल्यांकन होस्।
६. संचालक परिषद सदवै प्रोएक्टिभ होस्।
७. कुनै पनि शैक्षिक संस्थामा अध्यापन गरेको कम्तिमा प्राध्यापक होस्।
यस्तो छ ८ पेजको ज्ञापन पत्र







