प्रेमलाई न जातले रोक्छ न धर्मले। माया त केवल माया हो। यसको गतिलो उदाहरण हो, डा ऋषि विष्ट र डा लैला तामाङ ताङबेतानीको जोडी।
दुवै फरक जात अनि संस्कृतिका हुन्। तर प्रेम गर्न उनीहरुलाई न जातले छेक्यो न धर्मले। दुवै फरक पृष्ठभूमिका भए पनि उनीहरु आज एक हुन सफल भएका छन्।
दुवै जना जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्थे। उनीहरुको पहिलो भेट सन् १९९९ मा त्यही कलेजमै भएको थियो। चिनजान नभए पनि पहिलो भेटमै उनीहरुले एकअर्कालाई याद गरेका थिए।
डा लैलाले मुस्कुराउँदै भनिन्, ‘हाम्रो पहिलो भेट कलेजमै भएको हो। तर पहिलो भेटमै हामीले एक अर्कालाई याद गरेका थियौं।’
दुवै जना पढाइमा अब्बल थिए, अनि एक अर्काको प्रतिस्पर्धी पनि। परीक्षामा कसले बढी अंक ल्याउने भनेर प्रतिस्पर्धा हुन्थ्यो। डा ऋषि भन्छन्, ‘हामी दुवै जना एक अर्काको प्रतिस्पर्धी हौं जस्तो लाग्थ्यो। दुवै जनाबीच टक्कर हुन्थ्यो, कसले बढी नम्बर ल्याउने भनेर।’
उनीहरु बीचको यो प्रतिस्पर्धा र टक्कर कतिखेर मायामा परिणत भयो, थाहै भएन। ‘टक्कर हुँदाहुँदै हामी एक अर्कालाई माया गर्न थाल्यौं। एकअर्काको लागि सही छौं भन्ने महसुस हुन लाग्यो,’ डा लैलाले भनिन्।
डा लैलाको सिधा र स्पष्ट कुरा गर्ने तरिका, परिपक्वताले प्रभाव पारेको डा ऋषि बताउँछन्। डा लैलाले ठट्याउलो पारामा भनिन्, ‘मलाई उसको केही पनि मन पर्दैन। (लामो हाँसोपछि) जिस्केको मात्र, उसको कुरा गर्ने शैली नै मलाई सबैभन्दा बढी मन परेको हो।’
एकअर्का प्रतिको यो महसुस प्रेम हो भन्ने ठम्याउन उनीहरुलाई एक वर्ष लाग्यो। त्यो समय ऋषि २० र लैला १९ वर्षका थिए।
उनीहरुको पहिलो डेट भ्यालेन्टाइड डेमा भएको थियो। भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस। प्रेमिल जोडीका लागि विशेष दिन।
पहिलो डेट अनि पहिलो भ्यालेन्टाइन डे भएर पनि होला, उनीहरु निकै उत्साहित थिए। भ्यालेन्टाइन डेको लागि उनीहरुले एक हप्तादेखि नै योजना बुनिरहेका थिए।
त्यो दिनलाई उनीहरु विशेष बनाउन चाहन्थे। तर कलेज बिदा थिएन। त्यसैले कलेज बंक गरेर भए पनि उनीहरुले अर्काको लागि समय निकाले।
डा लैला भन्छिन्, ‘त्यो दिनको महत्व, योङ हार्ट अनि भर्खर हुँदै गएको रिलेसनसिप। त्यो जोसमा हामी कलेज बंक गरेर घुम्न गएका थियौं।’ यति भन्दाभन्दै दुवै जना एक छिन बेस्सरी हाँसे।
डा लैलाले उनलाई बेलुन उपहार दिएकी थिइन् अनि डा ऋषिले रातो गुलाफको फूल। डा ऋषि मुस्कुराउँदै भन्छन्, ‘मलाई त्यो दिन आज पनि याद छ। उसले दिएका बेलुन मैले मेरो पूरै कोठामा सजाएको थिएँ।’
उनीहरु यसरी नै एक अर्काको मायामा डुब्दै गए। एक अर्कालाई दुःखसुखमा साथ दिने कसम पनि खाए। घरमा भने उनीहरुको विवाहको कुरा चल्न थालिसकेको थियो।
भन्छन्, ‘हामी प्रेममा भए पनि विवाह हुने कुरामा पक्का थिएनौं। किनभने हाम्रो जात र धर्म दुवै फरक थियो। परिवारले सम्बन्धलाई कसरी लिन्छन्? स्वीकार्छन् या स्वीकार्दैनन् भन्ने ठूलो डर र चिन्ता थियो।
परिवारलाई आफ्नो सम्बन्धको बारेमा बताउन उनीहरुलाई निकै अप्ठ्यारो भयो। तर जब घरमा दुवैले एकअर्काको बारेमा बताए तब उनीहरु अचम्ममा परे। किनभने उनीहरुको परिवारले दुवैलाई सहज रुपमा स्वीकारेका थिए।
डा लैला भन्छिन्, ‘हामी एकअर्का बिना बाँच्न नसक्ने अवस्थामा पुगिसकेका थियौं। तर दुवै फरक पृष्ठभूमिका भएकाले घरमा कसरी बताउने होला भनेर ठूलो चिन्तामा थियौं। तर दुवैको परिवारले हाम्रो सम्बन्धलाई सहज रुपमा स्वीकार्नु भयो।’
दुवै जनाको परिवार शिक्षित भएकाले विवाहमा कुनै समस्या नभएको उनीहरु बताउँछन्। परिवारले सहज रुपमा स्वीकार्नुलाई उनीहरुले आफूप्रतिको विश्वास भएको बताए। अन्ततः आठ वर्षको लामो सम्बन्धपछि सन् २००७ मा उनीहरु विवाहको बन्धनमा बाँधिए। उनीहरुको विवाह दुवैको संस्कृति अनुसार भएको थियो। अहिले उनीहरुको दुई छोरा छन्।
डा ऋषि राष्ट्रिय ट्रमा सेन्टरमा सिनियर कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत छन् भने डा लैला सिनियर कन्सल्ट्यान्ट डर्माटोलोजिस्टको रुपमा वीर अस्पतालमा कार्यरत छिन्। दुवै जना दिनभर व्यस्त हुन्छन् तर एकअर्काको लागि थोरै समय पनि उनीहरुको लागि धेरै महत्व राख्छ।
भन्छन्, ‘अहिले दुवैमाथि धेरै जिम्मेवारी छ। दिनभर काममा व्यस्त हुन्छौं। तर बिहान र बेलुकी अस्पताल जाँदा सँगै हुन्छौं। त्यो पनि धेरै महत्व राख्छ।’
यो वर्षको प्रेम दिवस पनि विशेष तरिकाले मनाउने उनीहरुको योजना छ। २० वर्षअघिको प्रेम र अहिलेको प्रेममा कुनै परिवर्तन नभएको उनीहरु बताउँछन्। भन्छन्, ‘प्रेम अभिव्यक्त गर्ने तरिका मात्र फरक भएको हो। माया त्यो बेला पनि थियो, अहिले पनि उत्तिकै छ।’
उनीहरुबीच झगडा नहुने होइन। स–साना कुरामा पनि झगडा परिरहन्छ। तर त्यो झगडामा उनीहरु एकअर्काको लागि माया पाउँछन्। सम्बन्धलाई बलियो बनाउन विश्वास र माया सबैभन्दा महत्वपूर्ण भएको उनीहरुले बताए।
प्रेमलाई उनीहरु दुई शब्दमा व्याख्या गर्छन्, ‘प्रेम आत्मसम्मान र आत्मसमर्पण हो।’