मुख्य समाचार

स्वास्थ्य मन्त्रालय भन्छ- नेपाल कोरोना भाइरसमुक्त क्षेत्र भन्न मिल्दैन

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फागुन ६ गते प्रेस विज्ञप्ति जारी गर्दै भन्यो, ‘नेपाल कोरोना भाइरसमुक्त क्षेत्र हो।’ 

कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो। नेपाल कोरोना भाइरसमुक्त क्षेत्र भएको सन्देशमूलक श्रव्यदृश्य प्रचार सामग्रीहरु अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा तयार गरी व्यापक रुपमा सम्प्रेषित गर्न पनि पर्यटन मन्त्रालयले निर्देशन दिएको थियो। 

पर्यटन मन्त्रालयले नेपाललाई कोरोना भाइरसमुक्त क्षेत्र भनिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोना मुक्त क्षेत्र भन्न नमिल्ने बताएको छ। बुधबार कोरोना भाइरसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोनामुक्त क्षेत्र भन्न नमिल्ने बताए। 

उनले भने, ‘कोरोना मुक्त भन्न मिल्दैन। यो रोग एकबाट अर्कोमा सरिरहेको छ। अमेरिकामा छ, जापानमा छ। अमेरिका, जापानबाट पनि यो रोग आउन सक्छ। त्यसैले मुक्त चाहिँ भन्न मिल्दैन। तर यो भित्रन नदिन हामीले काम गरिरहेका छौं।’ 

कोरोनामुक्त क्षेत्र भन्न नमिले पनि अहिलेको अवस्थामा ढुक्क हुन भने सकिने उनले बताए। क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना सबैमा कोरोना भाइरसको संक्रमण नभएकाले पनि ढुक्क हुन सकिने उनले बताए। कोरोना भाइरसको पहिचान गर्ने राष्ट्रको सूचीमा नेपाल आठौं नम्बरमा पर्ने उनले जानकारी दिए। 

स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले कोरोना भाइरसका कारण त्रसित हुने अवस्था नरहेको बताए। उनले भने, ‘नेपालमा कोरोनाको समस्या भयावह या डराइहाल्नुपर्ने स्थिति छैन। त्यसैले नेपाल भ्रमणको लागि सुरक्षित गन्तव्य हो भन्नको लागि हो।’

नेपालमा कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले पूर्वतयारी गरेको उनले बताए। पर्यटन मन्त्रालयले पनि नेपाल भ्रमणका लागि सुरक्षित गन्तव्य हो भन्नका लागि मात्र विज्ञप्ति जारी गरेको उनको भनाइ छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने