डडेल्धुरा- चीनको वुहानबाट फैलिएको काेराेना भाइरस (कोभिड– १९)बाट विश्वभर ५ हजार बढी मानिसकाे मत्यु भइसकेको छ। अहिलेसम्म एक लाख ३४ बढी मानिस भाइरसबाट संक्रमित भएकोमा ७० हजार तीन सय ९६ संक्रमितलाई निको भइसकेको वल्डोमिटरको तथ्याकं रहेको छ।
नेपालमा भने हालसम्म एक जनामा मात्र कोराना देखिएको थियो। उनी पनि ठीक भएर घर फर्किसकेका छन्। नेपालले भाइरसबाट जोगिन विभिन्न सर्तकता अपनाइरहेको छ। सीमा नाकाहरुमा हेल्थ डेस्क स्थापना गर्नेदेखि विभिन्न अस्पतालहरुमा आइसोलेसन वार्ड स्थापना गरिएको सुदूपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए।
सुदूरपश्चिम प्रदेश सरकार र यस प्रदेशका विभिन्न स्थानीय तहले पनि कोरोना भाइरसबाट जोगिन र फैलिहाले नियन्त्रण गर्न विभिन्न निर्णयहरू गरेक छन्। हालसम्म सुदूरपश्चिममा कोरोना भाइरसका बिरामी नदेखिए पनि पूर्व तयारीलाई मजबुत बनाउने निर्णय प्रदेश सरकारले गरेकाे जनाएको छ। संम्भावित जोखिमबाट बच्न सबै जिल्लामा आइसोलेसन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने निर्णय प्रदेश सरकारले गरेको छ। यस्तै जिल्लाका सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने निर्णय पनि भएकाे छ।
११ हेल्थ डेस्क, ४७ वटा आइसोलेन बेड स्थापना
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा ११ वटै नाकामा हेल्थ डेस्क स्थापना भएका छन्। जसमध्ये कैलाली र दार्चुलामा तीन/तीन, कञ्चनपुर र डडेल्धुरामा दुई/दुई, बैतडीमा एउटा हेल्थ डेस्क स्थापना गरिएकाे छ। ती सबै हेल्थ डेस्कमध्ये ठूला नाकामा चारजना कर्मचारी र साना नाकामा दुईजना कर्मचारी खटाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
यस्तै प्रदेशभरका १८ वटा अस्पतालमा ४७ वटा आइसोलेसन बेड स्थापना गरिएको छ। जहाँ कोरोनाको आशंका लागेका बिरामीलाई राखेर निगरानी गरिनेछ। स्वास्थ्य निर्देशनालयले कारोनाको जोखिमबारे जनस्तरमा चेतनाका लागि सञ्चारमाध्यमबाट विभिन्न सचेतनामुलक सन्देश प्रसारण तथा प्रकाशित गरेको र सन्देशमुलक पम्पेलटहरु बाडेको बताएको छ।
साना नाकामा छैन तयारी
सुदूरपश्चिमसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा एक महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। धनगढीबाट ६ घण्टाको दुरीमा रहेको उक्त स्थानमा कोरोना भेटिए पनि प्रदेशका साना नाका तथा घाटमा भने हेल्थ डेस्क स्थापना भएका छैनन् र पूर्वसतर्कता पनि अपनाइएको छैन।
ती नाकाहरुबाट दिनहुँ आवतजावत हुने भएकोले कोरोना भाइरसका संक्रमित भित्रिने सम्भावना बढी छ। भारतसँग सीमा जोडिएका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा अवैध नाकासमेत छन्। ती स्थानबाट नेपालीहरु भारत ओहारदोहोर गर्ने गर्दछन्। वैध नाकामा विभिन्न सावधानी अपनाइए पनि अवैध नाकामा भने आवातजावत बन्द गराउन वेवास्ता गरिएको छ। यद्यपि बैतडी जिल्लाका साना नाका भने बन्द गरिएको छ।
क्वारेन्टाइन स्थापना लागि भवनकाे खोजी
सामान्यतया क्वारेन्टाइन शब्द सरुवारोग नियन्त्रणसँग सम्बन्धित छ। सरुवा रोग संक्रमण र त्यो फैलने जोखिमबाट मुक्त नभएसम्म बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ।
कोरोना भाइरसकाे आशंका लागेका बिरामीलाई सुरुमा आइसोलेन वार्ड अथवा बेडमा राखेर निगरानी गरिन्छ जहाँ तिनीहरुको चेकजाँच हुन्छ। ती व्यक्तिलाई कोरोना लागेको पुष्टि भएमा अलग्गै क्वारेन्टाइनमा राखेर उपचार गर्नुपर्ने हुन्छ। तर, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित भेटिएको खण्डमा अलग्गै राखेर उपचार गर्ने क्वारेन्टाइन स्थापना भएको छैन। प्रदेश सरकारले जग्गाको खोजी भइरहेको बताएकाे छ।
यता, केही स्थानीय तहहरुले सार्वजनिक भवनहरु क्वारेन्टाइनका लागि खाली गरिसकेको जनाएका छन्। डडेल्धुराको भित्र मधेसमा पर्ने र भारतसँग दुई स्थानमा सीमा जोडिएको परशुराम नगरपालिकाले क्वारेन्टाइनकाे व्यवस्था गरिसकेको जनाएकाे छ।