काठमाडौं- सरकारले वीर अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाको उपचार गर्न आइसियु विस्तार गर्ने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती अस्पतालमा सम्भावित कोरोना संक्रमण उपचारको व्यवस्थापनका लागि आइसियु विस्तार, जनशक्ति व्यवस्थापन, आवश्यक उपकरण लगायतका लागि अनुमानित बजेटबारे सोधेको थियो।
सोही अनुसार चार अस्पतालले आइसियु विस्तार, उपकरण, जनशक्ति व्यवस्थापन लगायतको अनुमानित खर्च मन्त्रालयमा पेस गरेका थिए।
मन्त्रालयले बजेटको सुनिश्चितता राज्य गर्ने भन्दै तयारी प्रक्रिया अघि बढाउन अस्पताललाई निर्देशन दिएको हो।
विश्वभर महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड १९) नेपालमा देखिएको छैन। छिमेकी देश भारतमा संक्रमितको संख्या बढ्न थालेपछि नेपालमा पनि सतर्कता बढाइएको छ। भारतमा एक सयभन्दा बढीमा संक्रमण देखिइसकेको छ।
कोरोनाको संक्रमण विश्वका १४९ देशमा फैलिएको छ। कोरोनाको कारण शनिबारसम्म ५ हजार ७ सय ९८ जनाको मृत्यु भइसकेको छ।
विश्वमा कोरोना भाइरसबाट १ लाख ५४ हजार हजार २७९ मानिस संक्रमित भएका छन्। गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाको संक्रमण अहिले युरोपमा केन्द्रित भएको छ।
नेपालमा कोरोना संक्रमण फैलिइहाले उपचार व्यवस्थापन गर्न उपत्यकाभित्र एक सय २० थप गर्न लागिएको हो। सातै प्रदेशमा १२० आइसियु तयारी अवस्थामा राख्न प्रक्रिया सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तयारीसँगै मन्त्रालयले ती अस्पतालका चिकित्सक र स्टाफ नर्सलाई कोरोना उपचारको ३ दिने तालिम सोमबारबाट सुरु गर्ने बताइएको छ।
नर्सको हकमा स्नातक तहमा अध्ययन गराइरहेका सरकारी अस्पतालका नर्सलाई कोरोना संक्रमण उपचारका लागि तालिम दिने अनौपचारिक छलफल भइरहेको मन्त्रालयले जनाएको छ।
चार अस्पतालबाहेक नेपाली सेनाले समेत २० थप गरी आइसियु तयारी अवस्था राख्ने जानकारी स्वास्थ्य मन्त्रालयलाई गराएको छ।
जसका लागि सरकारले करिब ३५ करोड बराबरको खर्च गर्नेछ। सशस्त्र प्रहरी अस्पतालले आइसियु ब्लक बनाउन सात करोड ६४ लाख ७४ हजार सात सय रुपैयाँको अनुमानित बजेट माग गरेको छ। सो रकमबाट २० बेडको आइसियु ब्लक तयार गर्नेछ।
वीर अस्पतालले २० बेडको थप आइसियु विस्तार, फर्निचर, उपकरण र मर्मतका लागि ११ करोड ९० लाख रुपैयाँ माग गरेको छ भने पाटन अस्पतालले २० बेडको आइसियु बनाउन सात करोड ६४ लाख ७४ हजार सात सय रुपैयाँ आवश्यक पर्ने बताएको छ।
त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले १० बेडको आइसियुका लागि ७ करोड ५० लाख माग गरेको छ। टेकु अस्पतालले सोही रकमबाट जनशक्ति व्यवस्थापन गर्ने बताइएको छ।
मन्त्रालय स्रोतले ती अस्पताललाई एक हप्ताभित्र प्रक्रिया पुर्याएर टेण्डर प्रक्रियामा जान आइतबार नै पत्राचार गर्ने जानकारी दिएको छ।
मन्त्रालयले स्रोतले भन्यो, अहिले थप हुने बाहेक उपत्यकाभित्र सरकारी अस्पतालका १५० आइसियु बेड सञ्चालनमा छन्।