मुख्य समाचार

औषधि उत्पादक भन्छन्-  सरकारले पहल गरे तत्कालै गुणस्तरीय ह्याण्ड स्यानिटाइजर बनाउन सक्छौं 

काठमाडौं - सरकारले इथानोलको व्यवस्था गरे स्वदेशमै ह्याण्ड स्यानिटाइजर उत्पादन गर्न सकिने औषधि उत्पादकले बताएका छन्। 

सरकारले चिनी उद्योगसँग सहकार्य गरी इथानोलको व्यवस्था गरे स्वदेशमै ह्याण्ड स्यानिटाइजर उत्पादन गर्न सकिने नेपाल औषधि उत्पादक संघले जनाएको छ। 

संघका महासचिव विपलव अधिकारीले भने, ‘विभिन्न रक्सी कम्पनीलाई चिनी मिलले बेच्ने इथानोल  औषधि उत्पादक कम्पनीलाई बिक्रि गर्ने व्यवस्था सरकारले मिलाउनुपर्छ। हामीले इथानोल पायौँ भने नेपालमै ह्याण्ड स्यानिटाइजर उत्पादन गर्न सक्छौ।’ 

औषधि व्यवस्था विभागले पनि ह्याण्ड स्यानिटाइजरलाई औषधीय वस्तुमा सूचीकृत गर्दै दर्ता भएर उत्पादन गर्न औषधि उद्योगलाई आव्हान गरेको छ। यसअघि दर्ता प्रक्रिया नभएकाले ह्याण्ड स्यानिटाइजर उत्पादन गर्न नसकिएको उनले बताए। 

ह्याण्ड स्यानिटाइजर बनाउन इथानोल बाहेक अन्य सबै उपकरण र कच्चा पदार्थ आफुहरुसँग उपलब्ध रहेको उनले बताए। स्यानिटाइजर इथानोलबाट बनाइन्छ। यो अल्कोहल बेसको हुन्छ। इथानोल अल्कोल बनाउन प्रयोग गरिन्छ। 

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गुणस्तरीय ह्याण्ड स्यानिटाइजर स्वदेशमै बनाउन सक्षम रहेको संघको दाबी छ। सरकार यस विषयमा सकारात्मक रहेपनि तत्काल निर्णय गर्नुपर्ने उनको भनाई छ। 

‘हामीले यस विषयमा स्वास्थ्य मन्त्रालय, उद्योग मन्त्रालयसँग छलफल गर्दैछौं। सरकार सकारात्मक छ, तर तत्काल निर्णय गर्नुपर्छ’ उनले भने। 

हाल विभिन्न अस्पतालले पनि ह्याण्ड स्यानिटाइजर उत्पादन गर्न थालेका छन्। तर उत्पादन भएका ह्याण्ड स्यानिटाइजरको गुणस्तरीयतामा पनि ध्यान दिन आवश्यक रहेको उनको भनाई छ। 

महासचिव अधिकारी भन्छन, ‘केहीले नेपालमै बनाउन थालेका छन्। तर त्यसको गुणस्तरीयतामा पनि ध्यान दिनुपर्छ। हामीले बनाउने स्यानिटाइजरको गुणस्तरीयतामा ग्यारेन्टी दिन सक्छौं।’

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतले ह्याण्ड स्यानिटाइजरको निकासीमा पूर्ण रुपमा रोक लगाएको छ। हात सफा गर्ने सहज र सुरक्षित वस्तुका रुपमा ह्याण्ड स्यानिटाइजरलाइ लिईन्छ। 

कोरोना भाइरसको संक्रमणबाट बच्न ह्याण्ड स्यानिटाइजर प्रभावकारी हुने विज्ञहरुले बताएपछि यसको अत्यधिक माग नेपालमा बढेको हो। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने