काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथाम र व्यवस्थापनका लागि दुईदिन अघि गठन गरेका आठ समिति भंग गरि पाँच सदस्यीय नयाँ समिति गठन गरेको छ।
मन्त्रालयले देशमा ३ जनामा कोरोना संक्रमण देखिएपछि व्यवस्थित रुपमा काम गर्ने भन्दै ती समिति गठन गरेको थियो। तर, गठन गरेको २ दिनमै भंग गरी नयाँ समिति गठन गर्नुलाई धेरैले आंशका व्यक्त गरेका छन्।
बिहीबार मन्त्रालयले कोरोना संक्रमणबारे सबै जानकारी दिने र अन्यत्रबाट आएका जानकारी आधारिक नहुने भन्दै ती समिति भंग गरेको जनाएको छ।
नयाँ समिति स्वास्थ्य सचिवको संयोजकत्वमा प्रमुख विशेषज्ञ डा रोशन पोखरेल, डा दिपेन्द्ररमण सिंह, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनी रहेका छन्।
मन्त्रालयका उच्चतहका कर्मचारी भन्छन्,‘सबै समिति भंग गर्नुको अर्थ अझै पनि कोरोनामा हामी संवेदनशील छैनौं भन्ने हो, नत्र सबै मिलेर काम गर्नुपर्ने समयमा एक्लै काम गर्छु, आफैँ अगाडि आउँछु भन्ने मुर्खता गर्न हुँदैन्थ्यो।’
मन्त्रीका सचिवालयका व्यक्ति र नजिकका कर्मचारीको दवावमा ती समिति रद्द गरिएको बताइएको छ।
मन्त्री नजिक सिनियर व्यक्तिले मन्त्रीलाई प्रभावमा पारि नयाँ समिति बनाउने सल्लाह दिएको मन्त्रालयका कर्मचारी बताउँछन्।
नेपालमा तेस्रो व्यक्तिमा कोरोना संक्रमण भएको खबर सञ्चारमाध्यममा आउँदा विभिन्न स्रोतबाट आएकाले मन्त्रालयको संवेदनशीलता प्रश्न उठेको थियो।
मन्त्रीले समेत नियमित कोरोना भाइरसबारेको बिफ्रिङमा गलत सुचना दिएका थिए। उनले सोही समयमा मन्त्रालयमा सर्वत्र प्रवत्ता हुने प्रवृत्ति भएको भन्दै कर्मचारीमाथि रोष व्यक्त गरेका थिए।
त्यसको भोलीपल्टै आफैंले बनाएका समिति भंग गर्नुलाई कर्मचारीले ‘एउटै समिति बनाएर गर्न खोजेको के हो’ भन्ने अन्योलता व्यक्त गरेका छन्।
मन्त्रालयले यसअघि नै स्वास्थ्य सचिवको संयोजकत्वमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, नेपाल चिकित्सक संघका अध्यक्ष, नेपाल नर्सिङका अध्यक्ष, नीजि अस्पताल संचालकहरुको एसोसियसन (अफिन) लगायत रहेको उच्चस्तरीय समिति गठन गरेको छ।
यो समिति भने खारेज भएको छैन।
तर, यसअघि बनाइएका वैदेशिक समन्वय एवम् अस्पतालको तयारी गर्ने, अन्तरमन्त्रालय/निकाय प्रदेश समन्वय र प्राविधिक समिति, औषधि व्यवस्थापन, कर्मचारी व्यवस्थापन र कर्मचारी प्रोत्साहन तथा बिमा समिति, अस्पतालसम्बन्धी व्यवस्थापन, क्रिटिकल केयर समन्वय र प्याथोलोजी एडभाइजरी समिति, आपूर्ति व्यवस्थापन समिति, प्रयोगशाला व्यवस्थापन समिति र सुचना व्यवस्थापन समिति भंग गरिएको हो।
यस्तै, क्षमता अभिवृद्धि व्यवस्थापन र परिचालन व्यवस्थापन समिति पनि खारेज गरिएको छ।
नयाँ बनाइएको समितिमा मन्त्रालयका मात्र पदाधिकारी छन्।
‘यो निकै संवेदनशील समय हो,यो बेला सबै मिलेर अगाडि बढ्नुपर्ने सबै सम्मिलित समितिलाई समेत ओझेलमा पार्ने मनसायले नयाँ समिति बनेको देखिन्छ,’ मन्त्रालय स्रोत भन्छ।
एउटा मात्र समिति भएपछि मन्त्रालय अन्तरगतका महाशाखा, विभाग, प्रदेश र अन्य सरोकारवालबिचको समन्वय कसरी हुन्छ भन्ने विषयमा पनि अन्योलता देखिएको छ।
‘यसैपनि हाम्रो समयन्वय कमजोर छ, यो कदमले थप जटिलता निम्त्याउने पक्का छ, मन्त्रीले भन्दा पनि वरपरका मानिसले उनलाई फेल गराउन खोजेको प्रष्ट हुन्छ, यसबारे मन्त्री सचेत भई काम गर्न आवश्यक छ,’ मन्त्रालयले स्रोत भन्छ।
मन्त्रालयले गर्ने नियमित बिफ्रिङमा देखिएको कमजोरीले मन्त्रालयले तयारी गरेको देखिदैँन।
‘कोरोना भाइरसलगायतका विषयमा जानकारी चाहिए कसलाई सोध्ने, कहाँबाट सुचना पाउने भन्ने द्धिविधा उत्पन्न भएको छ,' उच्चस्तरीय समितिका एक सदस्य भन्छन्, ‘अहिले हरेक कुरामा तयारी नगरी मन्त्री र सचिव अघि सर्ने, सचिवयालका व्यक्तिले मन्त्रीलाई सही सुचना र सल्लाह नदिने र कामको बाँडफाड नगर्ने हो भने निकै समस्या हुने देखिन्छ।’