काठमाडौं– नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण भेटिएको छ। शुक्रबार र शनिबार लगातार २ जना संक्रमित फेला परेपछि नेपालमा संक्रमितको संख्या बढ्न सक्ने अनुमान गर्न थालिएको छ।
हालसम्म बाहिरी देशबाट आएका व्यक्तिमा मात्र संक्रमण देखिएको छ। पहिलो केस माघ ८ गते चीनबाट आएका विद्यार्थीमा देखिएको थियो। त्यसपछिका सबै संक्रमित पछिल्लो एक हप्तामा देखिएको हो।
संक्रमण देखिएका पहिलो व्यक्ति उपचारपछि निको भइसकेका छन्। त्यसपछि देखिएका संक्रमित २ जना युरोप, १ जना युएई र १ जना दुबईबाट नेपाल आएका हुन्।
स्वास्थ्य मन्त्रालयले संक्रमित व्यक्तिले भेटेका र सम्पर्कमा आएका व्यक्ति खोज्न प्राविधिक टिम बनाएको छ। तर, हालसम्म उक्त टिमले कति मानिसलाई ट्रेसिङ गर्ने काम गरेको छ? तीमध्ये कति जनाको परीक्षण भयो? कति जना क्वारेन्टाइनमा बसिरहेका छन्? भन्ने विवरण दिन सकेको छैन।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई ट्रेसिङको जिम्मा दिइएको छ। तर महाशाखाले यो विषयमा प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै मन्त्रालयमा आलोचना हुन थालेको छ।
मन्त्रालयले ट्रेसिङमा आएकाको विस्तृत विवरण माग गरे पनि महाशाखाले बुझाउन सकेको छैन। महाशाखाले विवरण नदिएपछि मन्त्रालयले कोरोना बिफ्रिङका क्रममा झारा टार्ने जवाफ दिँदै आइरहेको छ।
मन्त्रालयले संक्रमितको सम्पर्कमा आएकाहरु मन्त्रालयको सम्पर्कमा आइरहेको भन्ने गोलमोटल जानकारी मात्र दिएको छ। मन्त्रालयका कर्मचारीलाई कहाँकहाँ कति जना सम्पर्कमा आए, उनीहरुको स्वास्थ्य अवस्था बारे जिज्ञासा राख्दा जवाफ दिन सकिरहेका छैनन्।
महाशाखाकै एक कर्मचारीका अनुसार हालसम्म कति जनाको कन्ट्याक्ट ट्रेसिङ भयो भन्न मुश्किल छ। ट्रेसिङका लागि टोली बनाएर खटाइएको भए पनि आपसमा समन्वय नहुँदा तथ्याँक एकिकृत हुन सकेको छैन। महाशाखाले उक्त विवरणका विषयमा सही ढंगले रिपोर्टिङ समेत गर्न सकेको छैन।
‘कति व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङको काममा खटाइएको छ। उनीहरुले काम गरिरहेका छन् कि छैनन्, कसले हेरेको छ? आज केके काम भयो भनेर कसैले सोधेको छ? मन्त्रालयका एक कर्मचारीले भने, यो गम्भिर र महत्वपूर्ण विषय हो। तर यसतर्फ त्यति चासो दिएको देखिँदैन। यसरी त झन् संकट निम्तिने खतरा हुन्छ।’
उनले कति व्यक्ति कन्ट्याक्ट ट्रेसिङमा आए र कतिको जाँच भयो भन्नेबारे पनि मन्त्रालयका कसैले चासो नलिएको बताए।
टोलीले विश्व स्वास्थ्य संगठनले बनाएको कन्ट्याक्ट ट्रेसिङ फारामका आधारमा भेटिएका व्यक्तिको विवरण संकलन गर्नुपर्ने हो। तर मन्त्रालयले आजको दिनसम्म कतिजनाको विवरण संकलन भयो भनेर भन्न सकेको छैन।
कन्ट्याक्ट ट्रेसिङका क्रममा सम्पर्कमा आएका व्यक्तिले दिएको विवरणका आधारमा आइसोलन वा क्वारेन्टाइनमा राखि संक्रमण जाँच गर्ने निर्क्यौल गरिन्छ।
स्रोतका अनुसार हालसम्म दुबईबाट आएका धादिङका ३२ वर्षिय युवाको प्रत्यक्ष सम्पर्कमा आएका ४ जना र अन्य ४० जना व्यक्ति सम्पर्कमा आएका छन्।
फ्रान्सबाट आएकी युवतीको सम्पर्कमा आएका परिवारका सदस्य महाशाखाको सम्पर्कमा आएको बताइएको छ।
धनगढीमा संक्रमण देखिएपछि एक चिकित्सक र एक जना जनस्वास्थ्यकर्मीको प्राविधिक ट्रेसिङ टोली आइतबार धनगढी पठाउने तयारी मन्त्रालयले गरेको छ।
सबैभन्दा धेरै धनगढीका संक्रमितको व्यक्तिले मानिसहरु भेटेको अनुमान गरिएको छ। त्यसपछि धादिङका युवाले भेटेका छन्।
महाशाखाका एक कर्मचारीले भने, ‘धनगढीका युवाले कम्तिमा २ सय व्यक्ति भेटेको अनुमान छ। उनले भेटेका र सम्पर्कमा आएका व्यक्ति खोज्न जटिल छ। हाम्रो टोलीले सकेसम्म प्रयास गरिरहेको छ।’
धनगढीमा आज १६ जना व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिएको बताइएको छ।
संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्ने र जाँच गर्ने काममा जति ढलाई गर्यो उति संक्रमण फैलने खतरा बढी हुने विज्ञहरु बताउँछन्।
कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा भएको सुस्तताले हेर्दा मन्त्रालय कोरोना भाइरसप्रति अझै पनि गम्भिर नभएको देखिन्छ एक जनस्वास्थ्यकर्मीले भने।
बेल्जियमबाट आएकी १९ वर्षिया युवतीले यो बीचमा कोको भेटिन भन्ने कुरा अझै बाहिर आउन बाँकि छ। उनी काठमाडौंबाट प्लेनमा पोखरा र त्यहाँबाट सार्वजनिक यातायातमा बागलुङ पुगेको बताइन्छ। तर मन्त्रालयले यो विवरण पनि दिन सकेको छैन।
कोरोना संक्रमण देखिएकी बाग्लुङकी युवती र दोस्रो संक्रमित युवती एउटै प्लेनबाट नेपाल आएका थिए। उक्त प्लेनमा आएका कति जनाको परीक्षण भयो, ती व्यक्तीको सम्पर्कमा आएका अरु कति जना निगरानीमा छन्? उनीहरु क्वारेन्टाइनमा बसेका छन् वा छैनन् यो विषयमा पनि हालसम्म कुनै जानकारी आउन सकेको छैन।
यस्तै युएईको सारजहाँबाट आएका धादिङका युवा आएको विमानमा आएका १७० जना यात्रु कति जना सम्पर्कमा छन्? भन्ने विषयमा पनि मन्त्रालयले अहिलेसम्म भन्न सकिरहेको छैन।
यसबाट के देखिन्छ भने सरकारले अझै संक्रमितहरु आएका विमानका सबै व्यक्तिलाई सम्पर्क गर्न सकेको छैन।
उनीहरु बाहेकका अन्य व्यक्तिहरु क्वारेन्टाइनमा बसेका छन् कि छैनन भन्नेबारे पनि सरकारले निगरानी नगरेको गुनासो बढेको छ।
दोस्रो व्यक्तिमा कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउन गर्ने घोषणा गरेपछि संक्रमित व्यक्तिको यातायात विवरण संकलन गरी सो समयमा सम्पर्कमा आएका व्यक्तिको जाँचपडताल गर्ने काममा गति दिने आश गरिएको थियो। तर त्यस अनुसारको काम हुन नसकेको मन्त्रालयकै केही कर्मचारी बताउँछन्।
विदेशबाट आएका व्यक्तिहरु देशका विभिन्न स्थानमा पुगेकाले मन्त्रालयले ठूलो सख्यामा परीक्षण गर्नुपर्ने आवाज पनि उठेको छ। तर हालसम्म जम्मा ८ सय ७५ जनाको मात्र नमुना परीक्षण गरिएको छ।
परीक्षण गर्ने अस्पताल बढाउदै सरकार
गुनासो बढ्दै गएपछि मन्त्रालयले परीक्षण गर्ने अस्पतालको संख्या बढाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणको ल्याव परीक्षण सुरु गर्न लागिएको जानकारी दिए।
उनले हेटौडा, पोखरा र नेपालगंजमा पनि परीक्षणको व्यवस्था मिलाउन त्यसतर्फ प्राविधिक टोलीलाई पठाइएको बताए।
हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोराना भाइरस संक्रमण परीक्षण गरिन्छ। सरकारले लकडाउन गरेपछि बाहिरी अस्पतालबाट नमुना काठमाडौं आउन नसक्दा समस्या भएको अस्पतालहरुले बताएका छन्।
सरकारले विराटनगर र नेपालगंजबाट संकलन भएका नमुना हवाईजहाजबाट ल्याउने व्यवस्था मिलाएको छ।