डा संजय प्रसाद गुप्ता
कोभिड १९ अर्थात् कोभिड भनेको कोरोना भाइरस डिजिज र २०१९ मा पत्ता लागेकोले भनिएको हो।
कोरोना भाइरस डिजिज चिनको हुवाई प्रान्तको वुहान शहरमा करिव डिसेम्बरको अन्त्यमा पहिलो पटक देखिएको हो जहाँ एकाएक नौलो किसिमको निमोनियाका बिरामीहरु बढ्न थाले र पछि गएर अरु देशहरुमा पनि देखिन सुरु भयो। जसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पहिले इपिडेमिक र पछि प्यान्डामिक अर्थात् विश्वव्यापी महामारी भनेर घोषणा गरेको अवस्था छ।
कारण
यो सार्स कोभिड २ (सेभर एक्युट रेस्पिरेटरी सिन्ड्रम कोरोना भाइरस २)ले सर्छ जसलाई २०१९ नोवल कोरोना भाइरस पनि भनिन्छ। यो चमेरो वा सालकबाट विकास भएर मानिसमा आएको हो कि भन्ने आशंका गरिएको छ।
लक्षणहरु
यसका प्रमुख लक्षणहरु मध्ये ज्वरो आउने, सुख्खा खोकी लाग्ने, टाउको दुख्ने, सास फेर्न गारो हुने, जोर्नी दुख्ने, थाकेको महसुस हुने र पखाला लाग्ने आदिलाई भनिएको छ।
कसरी सर्छ ?
प्रत्यक्ष रुपमा संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका छिटाको माध्यमबाट खोक्दा वा हाछ्यु गर्दा वा अप्रत्यक्ष्य रुपमा संक्रमित बस्तुबाट जो संक्रमित व्यक्तिको सम्पर्कमा आएको हुन्छ। अनुसंन्धानहरुले यो भाइरस हावामा ८ घण्टा, कागजमा २४ घण्टा, स्टील र प्लाष्टिकमा ३ दिनसम्म जिवित रहन सक्छ भनेर देखाएको छ।
बच्ने उपायहरु
नियमित रुपमा साबुन पानिले २० सेकोन्डसम्म राम्रोसग हात धुने, स्यानीटाईजरको प्रयोग गर्ने, अनावश्यक रुपमा हातले मुख, नाक र आँखा नचलाउने, खोक्दा वा हाछ्यु गर्दा अन्य मानिसबाट करिब एक मिटर टाढा गएर टिस्यु पेपर वा कुहिनाको प्रयोग गरेर नाक र मुख ढाक्ने, खान बाहेक अरु काम जस्तै ढोका खोल्न आदि गर्दा बढी प्रयोगमा नआउने हात (बायाँ)को प्रयोग गर्ने, भीडभाड नगर्ने, र हुलमुल वा जमघटमा नजाने, कुनै मानिससँग बस्दा वा कुरा गर्दा १ मिटरको दुरी कायम गर्ने, हात मिलाउने वा अंकमाल गर्नुको साटो नमस्ते गर्ने, अति आवश्यक परे मात्र घरबाट बाहिर निस्कने र निस्किदा उपयुक्त मास्कको प्रयोग गर्ने, संक्रमित बिरामीहरु पनि हस्पिटलमै हुने भएकोले अति आवश्यक परे मात्र हस्पिटलम जाने, सकेसम्म फोनबाटै चिकित्सकसँग परामर्श लिने।
अहिलेको स्थिति
आजको दिनसम्म कोरोना भाईरस १९९ भन्दा बढि देशहरुमा फैलिसकेको छ। करिव ७ लाख भन्दा बढी यसबाट संक्रमित छन् भने ३४ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्। यो महामारीलाई युरोपका विकसित देशहरु र अमेरिका जस्ता शक्तिशाली देशको स्वास्थ्य संस्थाले पनि धान्न नसकेको अवस्था आएको छ।
यसको साथै हाम्रो छिमेकि देश चिन र भारतमा पनि यसले निकै असर पुर्याएको र नेपाल पनि उच्च जोखिममा रहेको छ। हाम्रो जस्तो अविकसित देशमा यसबाट बच्न र सबैलाई बचाउन सबै भन्दा राम्रो उपाय भनेको यसको प्रतिरोधात्मक उपायहरु अपनाउने र घरमा सुरक्षित तरीकाले बस्ने, अति आवश्यक नभइकन घरबाट बाहिर ननिस्कने, जसबाट संक्रमण फैलिनबाट रोक्न सकिन्छ। यसको साथसाथै कोरोनाका लक्षणहरु देखिएको आशंका भएमा घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने अर्थात् आफुलाई अरुसँग आइसोलेट गर्ने र नआत्तिकन स्वास्थ्य संस्थामा फोन गरेर सल्लाह लिने गर्नुपर्दछ।
दाँत तथा मुखको समस्या भएमा के गर्ने ?
हाल अनुसन्धानले दाँत, आँखा र नाक, कान, घाँटीको उपचारको क्रममा संक्रमण बढी देखिएको तथ्यांङ्कले देखाएको छ। दाँत तथा मुखको उपचार गर्दा मुखबाट निस्कने र्यालबाट कोरोना भाइरस सर्ने सम्भावना उच्च रहन्छ। त्यसैले यसको संक्रमणबाट बच्न र न्युनिकरण गर्न उचित सावधानी अपनाउन जरुरी देखिन्छ।
दाँत तथा मुखको उपचारमा इमर्जेन्सी वा अत्यावश्यक समस्याहरु यी हुन्
१. दाँत तथा मुख धेरै दुख्नु।
२. मुख सुन्नीनु र सास फेर्न गारो हुनु।
३. मुख तथा गिजाबाट रक्तश्राव नरोकिनु।
४. दुर्घटना वा अन्य कुनै कारणले दांत तथा मुखको हड्डि भांचिनु।
यस्तो संक्रमण्को अवस्थामा सो अत्यावश्यक समस्या भए मात्र डेन्टल हस्पिटल जाऔं र सो हस्पीटल जांदा त्यहां संलग्न स्वास्थ्यकर्मीले आवश्यक पीपीई प्रयोग गरेको वा नगरेको निश्चय गरी मात्र उपचार गराउनुहोस्। यसबाहेक अरु समस्याको लागि फोन वा सामाजिक सञ्जालको माध्यमबाट डक्टरसँग सल्लाह लिनु उपयुक्त हुन्छ।
नआत्तिऔं, सावधानी अपनाऔं, र यस महामारीबाट आफुपनि बचौं र अरुलाई पनि बचाऔं।
(गुप्ता त्रिवि दन्त चिकित्सा शिक्षण अस्पतालका उप–प्राध्यापक तथा अर्थोडोन्टिक विशेषज्ञ हुन्)