काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले देशभरका कहाँ कति आइसियु र भेन्टिलेटर छन् भनेर खोजी गरिरहेको छ।
मन्त्रालय अन्तर्गतकै देशभरका प्रदेशमा कहाँ कति स्वास्थ्य उपचार सुविधा, कुन कुन उपकरण छन् भन्ने तथ्यांक नभएकाले मन्त्रालय अहिले त्यसकै खोजीमा जुटेको छ।
मन्त्रालयका एक कर्मचारीले भने, ‘दिनहँु सञ्चारकर्मीले देशभर कति आइसियु र कति भेन्टिलेटर छ भनेर सोध्छन् तर थाहै छैन। हाम्रो तथ्यांक व्यवस्थापन प्रणाली निकै कमजोर छ। दिने उत्तर नै छैन।’
संक्रमतिको संख्या बढेसँगै जोखिम बढ्न सक्ने सम्भावना मध्यनजर गर्दै मन्त्रालयले देशभरका कुन अस्पतालमा कति आइसियु र भेन्टिलेटर छन् भन्ने सुचना संकलन गरिरहेको छ।
पहिलो चरणमा मन्त्रालयले हरेक प्रदेशका सरकारी अस्पतालमा रहेको कुल आइसियु बेड र भेन्टिलेटरको सुचना संकलन गरेको छ।
मन्त्रालयका अनुसार सात प्रदेशका सरकारी अस्पतालमा जम्मा ९ सय ९ वटा आइसियु बेड सञ्चालनमा छन्। प्रदेश अन्तगर्तका अस्पतालहरुमा ५ सय ३९ भेन्टिलेटर सञ्चालनमा रहेका छन्।
जसअनुसार, प्रदेश नम्बर १ मा जम्मा ४३ आइसियु बेड र २४ भेन्टिलेटर रहेका छन् भने प्रदेश २ मा १४ आइसियु बेड र ७ वटा भेन्टिलेटर रहेका छन्।
सबैभन्दा धेरै आइसियु बागमती प्रदेशमा छ। जहाँ ५ सय ६४ आइसियु बेड र ४२८ भेन्टिलेटर सञ्चालनमा छन्।
गण्डकी प्रदेशमा १५९ आइसियु बेड र ५४ भेन्टिलेटर छन् भने प्रदेश नम्बर ५ मा १०२ आइसियु वेड र १६ वटा भेन्टिलेटर रहेको छ।
कर्णाली प्रदेशमा १७ आइसियु वेड र ८ भेन्टिलेटर छ भने सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा १० आइसियु वेड र २ भेन्टिलेटर सञ्चालनमा रहेको छ। तर, सुदूरपश्चिम प्रदेशमा नै ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ जना, धौलागिरी अस्पतालमा २ र नारायण प्रादेशिक अस्पतालमा ३ जना संक्रमितको उपचार भइरहेको छ।
नेपालमा कोरोना भाइरस(कोभिड१९)बाट संक्रमित हुनेको संख्या १२ पुगेको छ। जसमध्ये ३ जना भारतीय नागरिक हुन्। एक जना नेपाली उपचारपछि निको भइसकेका छन्।
नेपालमा पहिलो पटक माघ १० गते कोभिड१९ देखिएका व्यक्ति निको भएपनि अन्य ११ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो समय कैलाली र कञ्चनपुरमा तीन जना संक्रमित देखिएपछि सरकारले परीक्षणको दायरा बढाएको छ। कैलालीमा पहिलो पटक स्थानीय महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
संक्रमित देशबाट आएका व्यक्तिमा देखिएको संक्रमण स्थानीयमा देखिएपछि संक्रमणको दोस्रो चरण भन्दै सरकारले परीक्षण दायरा बढाउदै देशका ११ स्थानमा परीक्षण ल्याव समेत बिस्तार गरेको छ।
आइतबार वीरगञ्जमा तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमणको जोखिम यथावत् रहेको देखिन्छ।
छिमेकी देश भारतमा दिनहु संक्रमितको संख्या बढेसँगै नेपालमा पनि उच्च जोखिम रहने स्वास्थ्य मन्त्रालयको भनाई छ।
कोरोना संक्रमतिको संख्या बढेसँगै गम्भीर प्रकृतिका बिरामी पनि देखिन सक्छन्। उनीहरुको उपचारका लागि आइसियु र भेन्टिलेटरको समेत आवश्यकता पर्नेछ। किनभने, कोरोना भाइरसले फोक्सोमा असर गरी श्वाशप्रश्वासमा कठिनाइ पैदागर्ने गरेको देखिएको छ।
नेप्लिज सोसाइटी अफ त्रिटिकल केयर मेडिसिनका महासचिव डा हेमराज पनेरुका अनुसार जसलाइ एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस) भनिन्छ।
उनी भन्छन,‘करीब दुई तिहाई बिरामीहरुमा भेन्टिलेटर चाहिने प्रमुख कारण एआरडिएस नै हो। कोभिड(१९ प्रमाणित बिरामीमध्ये करीब ५५ बिरामीहरुलाई आइसियु चाहिने आँकलन गरिएको छ।’
उनका अनुसार चीनको वुहानको अनुभवका आधारमा कुरागर्दा आइसियु चाहिएका धेरैजसो बिरामी ६० बर्ष माथिको उमेर समूहका थिए, जसमध्ये ४० प्रतिशत प्रतिशत बिरामीहरु अन्य रोगहरुले समेत पीडित (मधुमेह एवं मुटुका रोगी) व्यक्तिहरु थिए।
अहिलेसम्म देखिएका संक्रमितको अवस्था सामान्य भएकाले पनि उनीहरुलाई आइसोलेसनमा मात्र राखेर उपचार भइरहेको छ। तर, भोली देखिनसक्ने संक्रमित गम्भीर खालका भए भने उनीहरुलाई आइसियु तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ।
स्वास्थ्य मन्त्रालयले यही कुरालाई मध्यनजर गरेर होला ढिलै भए पनि देशभर २ सय ३५ वटा आइसियु थप गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा मात्र १ सय २० आइसियु थप गर्नेसहित एक हजार बेडको आइसोलेसन तयारी अवस्थामा राखेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशभर सानाठूला गरी १ सय २२ सरकारी अस्पताल छन्। त्यसमध्ये १५ वेड देखि जिल्ला तहसम्मका गरी ८५ अस्पताल छन्।
केही वर्षअघिको तथ्यांक हेर्ने हो भने, भरतपुर, भेरी धौलागिरी, हेटौडा, हुम्ला, जनकपुर, कर्णाली, कटारी ,कोशी, लुम्बिनी, महाकाली, मध्यपश्चिमाञ्चल, नारायणी, राप्ती प्रादेशिक, सगरमाथा, सेती, डडेलधुरा, राप्ती स्वास्थ्य विज्ञान र मध्यमाञ्चल अस्पतालमा गरी ९६ आइसियु भेन्टिलेटर छन्।
नेप्लिज सोसाइटी अफ त्रिटिकल केयर मेडिसिनले केही समय काठमाडौंका ५० वेडभन्दा माथि अस्पतालमा रहेको आइसियु र भेन्टिलेटरको संख्याबारे सर्वे गरेको थियो।
नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा हेमराज पनेरुले काठमाडौंका ४६ अस्पतालमा फोन सर्वे गरेको बताए। उनले भने,‘हामी देशभरको तंथ्याक संकलन गर्ने क्रममा नै र्छौँ, काठमाडौं ५० वेडभन्दा माथिका ४६ अस्पतालमा ४४० आइसियु वेड र २५० भेन्टिलेट रहेको पाइएको छ।’
उनले सर्वेमा सबैभन्दा धेरै सरकारी अस्पताल रहेको उल्लेख गर्दै सरकारीमा भन्दा निजी अस्पतालमा आइसियु र भेन्टिलेटरको संख्या धेरै देखिएको बताए।